संघर्ष र सफलताले भरिएको हिमाल सागरको सांगीतिक यात्रा
धेरै मानिसहरु सपना देख्छन्, तर केहीले मात्र देखेको सपना पुरा गर्न सक्छन् । देखेका सपनाहरुलाई साकार बनाउन व्यक्ति स्वयं कडा मेहेनती, लगनशील र इमान्दार भएर लाग्ने हो भने यथार्थमा परिणत गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् गायक हिमाल सागर । गायक बन्ने सपना बोकेर झापाबाट काठमाडौं आएपछिको उनको संघर्ष र हासिल गरेका सफलताको यात्रा निकै पे्ररणादायी छ । सांगीतिक क्षेत्रमा लोकप्रिय मानिने गायक हिमाल सागरको सांगीतिक यात्रालाई सङ्क्षिप्तमा यस घटना–अध्ययनमार्फत् प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
झापा जिल्लाको बनियानी गाउँमा एक मध्यमवर्गीय परिवारमा पिता डिल्लीराम गौतम र माता पुष्पाकुमारी गौतमको कोखबाट पाँचौ सन्तानका रुपमा हिमाल गौतमको जन्म भएको थियो । उक्त परिवारमा हिमालपछि पनि दुइभाईहरु रहेकोले सातजना छोराछोरी र मातापिता गरी जम्मा नौजनाको परिवार थियो । भारतमा केही वर्ष शिक्षक पेशामा कार्यरत पिता गाउँमै फर्केर खेतीकिसानीमा सङ्लग्न थिए र माता गृहिणी थिइन् । खेतीकिसानीबाट गौतम परिवारको गुजारा चलिरहेको थियो । आकारको हिसाबले ठूलो परिवारका हिमाल वाल्यकालदेखि नै शान्त स्वभावका थिए र प्राय एक्लै बस्न मन पराउँथे । घरमा शिक्षामैत्री वातावरण भएकाले विद्यालय जानु अगावै हिमालले कखरा बुझ्न थालिसकेका थिए ।
चार वर्षको उमेरबाट विद्यालय जान थालेका हिमाल पढाईमा असाध्यै लगनशील थिए भने फुटबल खेल्न र नयाँ कुरा सिक्न भनेपछि हुरुक्कै हुन्थे । उनी सानो उमेरबाट नै एक्लै बसेर रेडियोमा सुनेका गीतहरु गुनगुनाउने गर्थे । सँधै गुनगुनाइरहने हिमाललाई देखेर एकदिन विद्यालयमा कक्षाशिक्षकले उनलाई गीत गाउन लगाउनु भयो । शिक्षकको आग्रहअनुसार रेडियोमा बज्ने गरेको गीतगाएर उनले कक्षाको वातावरणलाई नै गुन्जायमान बनाइदिए ।
सानो केटोले रेडियोमा बज्ने गरेको गीतलाई कोमल आवाजमा हुबहु गाइदिएको देखेर शिक्षक पनि चकित पर्नुभयो । विस्तारै उनको आवाजको प्रशंसा विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीबीच हुन थाल्यो । विद्यालयमा उनी सबैमाझ ‘गीत गाउने केटो’ भनेर चिनिन थाले । कुनै पनि चाडपर्वमा, टोलछिमेकमा जमघट हुँदा र वरपर हुने सांस्कृतिक कार्यक्रममा हिमाल गीत अनिवार्य हुनथाल्यो । तिहारमा साथीभाइहरु जम्मा भएर देउसीभैलो खेल्दा गीतगाउने जिम्मा उनैको हुन्थ्यो । साथीभाइ र छरछिमेकले उनले गाएका गीतहरुको प्रशंसा गरिदिँदा उनी फुरुङ्ग पर्थे र मनोबल अझै उच्च भएको महसुस गर्थे ।
विद्यालयमा असल छात्रको रुपमा चिनिने उसले विद्यालयस्तरको पढाइलाई सफलताकासाथ पुरा गरेपछि उसको उच्च शिक्षा झापाको ‘मेची क्याम्पसबाट’ प्रारम्भ भयो । विवाहपश्चात् उनका दिदीहरुको वसोवास काठमाडौंमा हुन थालेपछि आमा पनि काम मिलाएर काठमाडौं नै सर्नुभयो । वि.सं. २०५९ साल कात्तिक महिनामा दिदीहरुको हातबाट भाइटिका लगाउन हिमाल पहिलोपटक काठमाडौं पुगे । विद्यालयमा उसँगै पढेका केही साथीहरु काठमाडौंमै बस्थे । उसको साथीहरुसँग भेट भयो । हिमालले पनि पढाईका साथसाथै काम गर्न रहर भएको कुरा साथीहरुसँग व्यक्त गर्दा साथीहरुले ‘स्वर मिठो छ बरु यतै बसेर गीत रेकर्ड गर’ भन्ने सल्लाह दिए । सामान्य कार्यक्रममा गीत गाउने उसलाई गीत रेकर्डसम्बन्धी कुनै ज्ञान थिएन । त्यतिबेला गीत–संगीतमा नै लागेर जिन्दगी बिताउँछु भन्ने स्थिति पनि थिएन ।
मनमा अनगिन्ती सपनाहरु थिए । आफ्नो आवाज सबैलाई सुनाउने ठूलो चाहना थियो । तर, पैसाको अभावले ‘के गर्ने, कसो गर्ने’ भन्ने अवस्थामा थिए हिमाल । त्यहिबेला उसको विद्यालय पढ्दाको साथी चूडामणी र नातामा मामाको छोरा पर्ने भरत पाठकसँग भेट भयो । उनीहरुले मिलेर काठमाडांैमा आफ्नै व्यवसाय सुरु गरेका थिए । हिमालले उनीहरुसँग आपूmलाई गीत रेकर्ड गर्न आवश्यक सहयोग चाहिएको कुरा सुनाए । हिमालको आवाज सुनेका र संगीतको क्षेत्रमा उसले केही गर्न सक्छ भनेर विश्वस्त उनीहरुले आवश्यक सहयोग गर्ने बताए । यसैक्रममा हिमालको भेट आफ्नै भाईको साथी मानस के.सी.सँग भयो । खोटाङ जिल्ला घर भएका मानस पेशाले रचनाकार थिए । मानसले हिमालको आवाज सुनेपछि गीत रचना गर्न तयार भए । हिमालले साथीहरुसँग पैसा सापट लिएर गीत रेकर्ड गर्ने अवसर पाए ।
‘चन्द्रमा झै मुहार तिम्रो’ बोलको गीत रेकर्ड भयो । जीवनमा पहिलो पटक स्टुडियोमा गीत गाएकोले होला उनी स्टुडियोबाट निस्कँदा पसिनाले निथ्रुकै भएका थिए । मन खुसीले नाचिरहेको थियो । रेकर्डीङपश्चात् स्वर राम्रो भएता पनि संगीतबारे प्रशिक्षण नलिएको कारण ‘सुरमा निख्खारता ल्याउन अझ मिहेनत गर्नुपर्ने’ सल्लाह पाएका हिमालको जमलमा रहेको ‘एसियन हिमालएन पाठसाला’बाट सांगीतिक सिकाइ औपचारिक रुपमा सुरुवात भयो । हिमाल बिहानै उठेर जमल पुग्थे संगीत सिक्न, स्टुडियोमा दिन बिताउँथे र घर फर्कदा रात परिसकेको हुन्थ्यो । कयौँपटक त पैसा नभएको हुँदा तीनघन्टा हिँडेर घर फर्कनु परेको थियो । तर, उसले कहिले पनि हार मानेन । मनमा केही गरेरै छाड्ने दृढ अठोट थियो । यसरी दिनहरु बित्दै जाँदा उनले संगीतको निरन्तर सिकाईका साथै गीतहरु पनि रेकर्ड गर्दै गए । अन्ततः अथक प्रयासपश्चात् आठवटा गीतहरु रेकर्ड भई हिमालको पहिलो एल्बम ‘रिलेशन’ तयार भयो ।
एल्बम बजारसम्म पुर्याउन सांगीतिककम्पनीको आवश्यकता पथ्र्यो । उनी जानपहिचान भएको सबै संगीत कम्पनीमा पुगे, तर नयाँ कलाकारको एल्बम चल्दैन भनेर होला उनको एल्बम कसैले निकाल्न मानेनन् । तर, लामो प्रयासपछि ‘धौलागीरी क्यासेट सेन्टर’ उसको एल्बम बजारमा निकाल्न तयार भयो । पहिलो चरणमा हजारप्रति क्यासेट बजारमा निकालियो । त्यो दिन हिमालको खुसीको सिमा नै रहेन । तर हजारप्रति निकालिएको एल्बम, दुई महिनासम्म एकप्रति पनि बिक्री भएन । त्यसपछि त खुसीले नाचेको उसको मनमा निरासाको बादल मर्डान थाल्यो । ऋण काढेर निकालेको एल्बमले डुबाउने होकि भन्ने सोँचले सताउन थाल्यो ।
त्यसैक्रममा एकदिन उनको संगीत बजारका एक हस्ती इन्द्रकुमार श्रेष्ठसँग भेट भयो, जसले ‘बजारमा बिक्नको लागि स्रोताले चिन्नु जरुरी छ र यसको लागि बिज्ञापन गर्नुपर्छ’ भन्ने सल्लाह दिए । विज्ञापन गर्न रकमको आवश्यकता पथ्र्यो । तर हिमालसँग रकम थिएन । एल्बमको केही गीत सुन्न पाएका उनै श्रेष्ठले हिमाललाई हातमा पच्चीस हजार रुपैया रखिदिए । हिमाल अच्चममा परे साथीको त्यस्तो सहयोग र हौसलाले उनमा छुट्टै उर्जा थपिदियो । यति मिहेनत र संघर्ष गरेर निकालेको सिर्जनालाई उनी आफै पनि खेर जान दिन चाहँदैन थिए ।
त्यसपछि उनी विभिन्न एफ.एम.रेडियो धाएर एल्बमको प्रचार गर्न थाले । क्लासिक एफ.एम.ले ‘चन्द्रमा झै मुहार तिम्रो’ भन्ने बोलको गीत आफ्नो कार्यक्रमबाट बजाईदियो । र, स्रोताहरुको ‘सकारात्मक रेसपोन्स’ आएकोले एफ.एम. रेडियोले उक्त गीत पटकपटक बजाइदियो । गीत खुबै मन पराइयो । त्यसपछि त उनको अन्य गीतहरु पनि रोडियोबाट बज्न थाले । उसको ‘न मैले लेखे न उनले लेखिन्’ भन्ने बोलको गीतले भने हिमाललाई ठूलो सफलता दिलाइदीयो । त्यो गीत सुपरहिट भयो ।
अब भने उनका एल्बमहरु बिक्री हुन थाले । पहिलो एल्बममा राखिएको ‘न मैले लेखे न उनले लेखिन्’ बोलको गीतलाई स्रोताहरुले अत्यन्तै मनपराएको कारण उक्त गीतबाट हिमालले २०६१ सालको ‘सङ अफ द इयर’ ९क्यलन या तजभ थभबच० शिर्षकको अवार्ड पनि पाए । युवावर्गलाई लक्षित गरेर गाएका गीतहरुबाट उनी धेरैको मनमा बस्न सफल भए । हवाइजहाजलाई टाढाबाट मात्र देखेका उनले वि.सं. २०६१ सालमा सुरुङ्गा जाँदा पहिलो पटक हवाइजहाज चढ्ने अवसर पाए ।
स्रोताहरुको माया पाउन थालेपछि हिमालको मन सगरमाथाभन्दा पनि उँचो भएको थियो । अब त उनको चर्चा जताततै हुन थाल्यो । त्यसको लगत्तै २०६२ सालमा उनले ‘फर यु’ नामक एल्बम निकाले । त्यस एल्बममा रहेको ‘मेरो माया मारेपछि तिमी त धेरै दामी भइछौ’ भन्ने बोलको गीतले उनलाई जिन्दगीको उपल्लो उँचाईमा पु¥याइदियो । आफूले गाएको गीतहरुको म्युजिक भिडियोमासमेत देखिएपछि भने अब उसलाई सबैले चिन्न थाले । बाटोमा हिँड्दा पनि मानिसहरुले फर्कीफर्की हेर्दा भने उनलाई गर्ववोध हुन्थ्यो । सुरुसुरुमा निकै संघर्ष भोग्नु परेका हिमाल सुरिलो आवाज र कडा मिहेनत अनि साथीभाइको साथले निक्कै चर्चित गायकको रुपमा स्थापित हुन सफल भए ।
झापा र छिमेकी जिल्ला मात्र देखेका उनले गायक बनेपछि भने थुप्रै देश विदेश घुम्ने अवसर पाए । २०६६ सालमा उनले ‘बेस्ट भोकल पर्फर्मेन्स मेल’९द्यभकत खयअब िउभचायचmबलअभ mबभि० शिर्षकको अवार्ड हात पार्न सफल भए, जुन उनको जिन्दगीको ठूलो उपलब्धि थियो । सपनाले मूर्तरुप पाएपश्चात् उनको आर्थिक आम्दानीसमेत बढ्न थाल्यो । कुनै बेला जिन्दगीमा थुप्रै हन्डर खाएका हिमाल गौतम आज सांगीतिक संसारमा हिमाल सागरको नामबाट चर्चित छन् । उनले आजसम्म पप र आधुनिक गरी ४०० भन्दा बढी गीतहरु गाइसकेका छन र ७ वटाभन्दा बढी एकल एल्बम निकालीसकेका छन् । पछिल्लो समयमा उनले गाएका ‘कल्लाइ थाछैन हो कल्लाइ थाछैन’, ‘बरी लै लै’, ‘काफलका दाना’ जस्ता गीतहरु अत्यन्तै चर्चामा छन् ।
नेपाली समाजमा आजसम्म पनि संगीत क्षेत्रमा लागेर केही गर्छु भन्नेहरुको लागि ठूलो चुनौती छ । गीत संगीतमा लागेर जीवन चलाउन सकिन्छ र भन्ने प्रश्न अझै विद्यमान छ । सानो गाँउबाट ठूलो सपना बोकेर आएका हिमालले चुनौतीहरुबाट भागेको भए साएद आज आम नेपालीले चिन्ने थिएनन् । सपना त यहाँ हरेकले देख्ने गर्छन, तर साकार त्यसको मात्र हुन्छ जसले चुनौतीलाई पनि अवसरको रुपमा बदल्न संघर्ष गर्न सक्छ । हिमालले अनगिन्ती समस्याहरु भोग्नु प¥यो र यसले पटकपटक निराशपनि बनायो । तर, उसको दृढ अठोटका कारण कुनै पनि समस्या लक्ष प्राप्तीका लागि अवरोध बनिरहन सकेनन् । बाधाअड्चनहरुले पनि हिमालको अगाडि हार मान्नु प¥यो ।
केही महिना अगाडि सांगीतिक कार्यक्रमको लागि अमेरिकाको भर्जिनिया पुगेका हिमाल सागर लक डाउनका कारण उतै रोकिएका छन् । समयको उचित सदुपयोग गर्न उनी अमेरिकामा पनि अहिले सांगीतिक विधामै व्यस्त छन् र छिट्टै नेपाल आएर एल्बम निकाल्न आतुर छन् । हिमाल भन्छन् ‘कोरोनाले अशान्त बनेको नेपालीको मनलाई अब सांगीतिक उपहारले शान्त बनाउन चाहन्छु’ । हाम्रो पनि अपार शुभकामना छ हिमाललाई ! (लेखक नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज) जोरपाटीमा अध्ययनरत विद्यार्थी हुन्)
प्रतिक्रिया