शुक्रबार, चैत १६, २०८०

मुलुकमा खाद्य संकटको संकेत

नेपालखोज २०७७ असार ३ गते ९:२२

सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते सार्वजनिक गरेको बजेटबाट कृषि उत्पादन लागिरहेको किसानहरु उत्साहित हुन सकेनन् । चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रको विकासका लागि ३४ करोड ८ लाख छुट्याएको सरकारले आगामी आर्थिक वर्षका लागि ५ अर्व ४४ करोड ९५ लाख थप गरी करीव ४१ अर्व बजेट कृषि क्षेत्रको विकासका लागि भन्दै ल्याएको छ । तर थपिएको भनिएको बजेट स्थानीय तहमा पठाइएको सशर्त बजेट सहित सिँचाई मन्त्रालयमा वितगमा भएको बजेट समेत हो । यसले किसानको हितका लागि कुनै सम्वोधन गर्न सकेको पनि छैन ।

माटोमा खेल्ने र कृषि उत्पादकत्व बृद्धि गर्ने किसान भन्दा कृषि क्षेत्रका विचौलियार र कृषिका नाममा नक्कली व्यापार गर्नेहरुको हितका लागि बजेट तथा योजनाहरु ल्याएको स्पष्ट देखिन्छन् । सरकारले ल्याएको कृषि ऋण होस् वा अनुदानका कार्यक्रम साना किसान लक्षित छैनन्। बजेट नयाँ प्याकेटमा पुरानो सामान राखेर ल्याएको भन्दा फरक केही छैन ।

यतिसम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लामो समय छलफल र स्थानीय स्तरबाट आवश्यकताका आधारमा आएका विषयहरु पनि सम्वोधन हुन सकेको छैन । सिंहदबारभित्र बसेर अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले अनुमानका भरमा कोरेका खाका मात्र आएको देखिन्छ ।कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुले आफ्नो अस्तित्वका विषयमा केही बोल्न नसक्ने भएका कारणले नै विगतदेखि नै कृषि क्षेत्रको विकास लागि ल्याईने बजेट कृषिमय नै हुन सकेको देखिँदैन ।

यतिखेर कोरोना संक्रमणका कारण नेपालका किसानहरुले विगतमा जस्तो आफ्नो खेतीपाती गर्नका लागि सहज भएन । यही संक्रमणको त्रासमा मानिसहरु गाउँ फर्के तर कृषि उत्पादनका सक्रिय भएनन् । गाउँमा भएका खाद्यान्न सकिए । विगतमा जसरी गाउँसम्म खाद्यान्न पुग्थ्यो त्यो पनि सहज भएन । सरकारले पनि उत्पादन क्षेत्रलाई विशेष क्षेत्रका रुपमा लिन सकेन । यो वर्ष उत्पादन निकै नै घट्ने पूर्व अनुमान गरिएको छ । जसका कारण छिट्टै नै ग्रामिण भेगमा खाद्य संकट पर्ने संकेत देखिएको छ ।

भारतबाट विगतमा खाद्यान्न आयात हुने गरेको भएपनि भारत पनि कोरोना कै मारमा परेको छ । उसले पनि सवैभन्दा पहिले आफ्नो नागरिकको खाद्य सुरक्षा नगरी निर्यात पक्कै गर्दैन । त्यसकारण कोरोनाको संक्रमणले एकाध दर्जन व्यक्तिको मृत्यु भयो होला अव खाद्य अभावका कारण रोग र शोकले मानिसहरु मर्ने हुन् कि भन्ने बेला आएको छ ।

सरकारले लकडाउन केही खुकुलो गरेको भएपनि उत्पादन क्षेत्र तहस नहस नै छ भन्नछन् विज्ञहरु । अव क्रमश नेपालीहरुको चाड पर्व पनि आउने छ । त्यसबेला नेपाली जनताले खाद्यान्न अभाव झेल्नु पर्ने मात्र होइन अत्यधिक महंगीको सामना गर्नु पर्ने हुन सक्छ । तसर्थ सरकारले अहिलेदेखि नै पूर्व तयारी गर्नु पर्ने देखिन्छ । अन्यथा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुको विकल्प छैन ।

प्रतिक्रिया