बिहीबार, वैशाख १३, २०८१

वन्दावन्दीपछि यातायात व्यवसायीका समस्या

नेपालखोज २०७७ असोज ५ गते १५:३१

कोरोना कहर सुरु भएपछि देशमा लकडाउन(बन्दाबन्दी) लगाइयो । बीचमा केही खुकुलो पनि भयो । अनि पालो आयो निशेधाज्ञाको । त्यो पनि खुकुलो बनाइयो । सवारी साधनलाई जोरविजोर प्रणाली लगाइयो । असोज ५ गतेबाट हवाई मार्ग पनि खुला गर्ने निर्णय भएको छ । एअरलाइन्सले टिकट बुकिङ पनि खुला गरिसके ।

सरकारले ५० प्रतिशत मात्रै यात्रु बोक्नु भन्ने निर्देशन दिएपछि यसको विरोध पनि भइरहेको छ । ५० प्रतिशत यात्रुबाट उठ्ने भाडाले इन्धन खर्च पनि नपुग्ने भन्दैछन् व्यवसायीहरु । अनि उनीहरुका सञ्चालन खर्च कहाँबाट जुटाउने ? आधा यात्रुबाट केही राहत त होला भन्ने अपेक्षा पनि व्यवसायीको हुनसक्छ । तर, अहिलेको अवस्थामा मानिसहरु सकभर यातायातका साधन नै प्रयोग गर्न डराइरहेका देखिन्छन् । सडकमा गुड्ने गाडीहरुमा २०–२५ प्रतिशत पनि भरिएका देखिँदैनन् । सर्वसाधारणहरु प्रायः आफ्नै साधनमा या हिँडेरै गन्तब्यमा गएको देख्न सकिन्छ ।

हवाईमार्ग प्रयोग गर्ने पर्यटक छैनन् भन्दा पनि हुन्छ । यस्तो समयमा कसलाई हिँडडुल गर्न मन लाग्ला र ? एअरलाइन्सले टिकट खुला त गरे । सरकारले ५० प्रतिशत भाडा बढाएर लिनु भनेको छ । तर, यात्रु अभावका कारण सामान्य अवस्थाको भन्दा सस्तै दाममा टिकट बेच्न राखेका छन् । उदाहरणका लागि काठमाडौंबाट विराटनगरको टिकट दर सामान्य अवस्थामा ४ हजार देखि ५ हजार हुन्थ्यो । अहिले एअरलाइन्सले ति टिकट ३ हजारमै उपलब्ध गराएका छन् । त्यही पनि बुकिङ न्यून छ । यहाँ ५० प्रतिशत बढाउनुको सट्टा ५० प्रतिशत घटाउँदा पनि यात्रु पाइदैनन् । अनि व्यवसायीले कसरी यातायात सुचारु बनाउन सक्लान् ?

यस्ता कयौं प्रश्नहरु यातायात व्यवसायीका छन् । कसरी यातायात व्यवसायलाई आधा मात्रै यात्रु राखेर चलाउन सक्ने वातावरण निर्माण गर्न सकिन्छ भन्ने कुरामा सरकारले प्रभावकारी योजना ल्याउन जरुरी देखिन्छ ।

प्रतिक्रिया