बिहीबार, वैशाख १३, २०८१

दसैँको मंगलमय कामना !

नेपालखोज २०७८ असोज २७ गते ९:१५

असत्यमाथि सत्यको जितको प्रतीकका रुपमा मनाइँदै आएको नेपालीहरुको महान् पर्व दसैँ नारी शक्तिको उपासना गर्ने पर्व पनि हो । यद्यपि दसैँका यी प्रमुख दुई सत्य अझैं पनि ओझेलमा परेका वा अभिसप्त छन् । हाम्रो राष्ट्रिय परिवेशमा सत्य बारम्बार डगमगाएको र असत्य अनि अन्याय हाबी हुन खोजेको यथार्थता हामीले बारम्बार भोग्दै आएका छौं । त्यसैको परिणाममा जनतामा अहिले हामी समग्र राजनीतिप्रति चरम निराशा र असन्तुष्टि पाउँछौं । जनतामा देखिएको नकारात्मकतालाई सकारात्मकतातर्फ मोड्ने काममा जति ढिलाइ हुन्छ मुलुकले त्यति नै क्षति बेहोर्दै जानुपर्ने हुन्छ । राष्ट्रिय परिवेशमा न्याय र समानताको स्थापना गर्नु भनेको सुशासन र कानुनी राज्यको प्रत्याभूति दिनु पनि हो । जसको अभावमा प्रजातान्त्रिक प्रणालीसमेत अहिले चौतर्फी हमलाको सिकार भएर आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ । यस्तो स्थितिको अन्त्य नै यो विजयादशमीको सन्देश हुनुपर्छ ।

यसैगरी नारी शक्तिको उपासना गरेर मनाइए पनि व्यवहारमा हामीले नारीविरुद्धका पुरातन मान्यता र संस्कारहरुलाई पूर्णत: त्याग्न सकेका छैनौं जसले गर्दा आधा जनसंख्या ओगटेको महिला समुदाय एक्काइसौं शताब्दीमा पनि अभिशप्त जीवन जिउन बाध्य छ । कानुनी र अन्य केही पक्षमा केही उल्लेखनीय काम र सुधार देखिए पनि महिलाका हकमा हाम्रो मानसिकता नै सबैभन्दा ठूलो बाधकका रुपमा खडा भएको छ । आज नारी शक्तिको उपासनाको अर्थ यही मानसिकताको अन्त्य हुनुपर्ने हो र यो पर्वले हामीलाई त्यही सन्देश दिइरहेको छ ।

विजयादशमीलाई हामी राष्ट्रिय एकताको सूत्र बलियो बनाउने पर्व पनि मान्दै आएका छौं तर विगतमा हाम्रो एकतामाथि घर भित्रैबाट प्रहार हुने काम पनि हामीले देख्दै अनि भोग्दै आएका छौं । नेपाली समाजको उदाहरणीय सहिष्णुता र एकतालाई यो पर्वले अझ मजबुत बनाओस् र यसका विरुद्ध हुने षड्यन्त्रहरुलाई परास्त गर्न सकोस् भन्ने कामना गर्दै तमाम नेपालीजनमा उन्नत र समृद्ध नेपाल निर्माणको शुभकामना व्यक्त गर्दछौं ।

विजयादशमीको अवसरमा हाम्रा सहयोगी, शुभचिन्तक, पाठक, विज्ञापनदातालगायत तमाम नेपालीहरुमा सुस्वास्थ, दीर्घायु, उन्नति-प्रगति एवं शान्ति र भाइचाराको शुभकामना व्यक्त गर्दै माता दुर्गा भवानीले सबैलाई अन्यायविरुद्ध लड्ने उत्प्रेरणा प्रदान गरून् भन्ने कामना गर्दछौं ।

प्रतिक्रिया