बुधबार, वैशाख १२, २०८१

पिसिआर कीट खरिदमा नीतिगत भ्रष्टाचार, १५ करोड घोटाला

नेपालखोज २०७७ असार ३ गते १९:१५

काठमाडौं। विश्वभर कोरोना महामारीका कारण त्रासमा रहेका बेला नेपालमा भने कोरोना कै नाममा करोडौं भ्रष्टाचार मौलाईरहेको छ । विशेष गरी स्वास्थ्य सामाग्री खरिदका क्रममा करोडौं भ्रष्टाचार भईरहेको विभिन्न तथ्यांकहरुले देखाएका छन् । कोरोना संक्रमण देखिए पश्चात नै विवादमा तानिएका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल फेरि विवादमा मुछिएका छन् ।

कोरोनाको महामारीका बेला स्वास्थ्य मन्त्रालयलाई लुटको अखडा बनाउन थालेपछि उनी विवादमा मुछिएका हुन् । अहिले कोरोना परीक्षणका लागि प्रयोग गरिने पिसिआर कीट खरिद प्रक्रियामा नीतिगत भ्रष्टाचार गरी करीव १५ करोड राज्य कोष रित्याउने प्रपञ्चमा मन्त्री ढकाल लागेको देखिएको छ ।

हरेक दिन १० हजार व्यक्तिको पिसिआर परीक्षण गर्ने भन्दै कीट खरिद प्रक्रिया अगाडि बढाईएको थियो । सो प्रक्रिया शुरु गर्नु अघि नै मन्त्रीदेखि स्वास्थ्य सेवा विभागसम्मको सेटिङ्गमा नीतिगत रुपमा नै भ्रष्टाचार गरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेको स्वास्थ्य सेवा विभागले खरिद गर्न लागेको एक लाख ५० हजार थान पिसिआर कीटको स्पेशिफिकेसन निर्माण गर्दादेखि नै सप्लायर्ससँगको सेटिङ्गमा तयार गरिएको देखिएको छ । कीट खरिद गर्नका लागि माग गरिएका सप्लायर्सहरु मध्ये ११ औं नम्वरमा रहेको ओम सर्जिकललाई ११ करोडमा प्राप्त गर्न सकिने कीट २४ करोड ८१ लाखमा खरिद गर्ने गरी ठेक्का दिएको स्वास्थ्य मन्त्रालय श्रोतले जनाएको छ ।

स्वास्थ्य सामग्री व्यवसायी रामशरण भण्डारीको ओम सर्जिकलको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सामग्री आपूर्तीमा एकलौटी झै रहेको छ। ह्याम्स अस्पतालमा पनि उनको लगानी रहेको छ। यो खरीद प्रक्रियामा उनै भण्डारीले मन्त्री र मन्त्रालयका अधिकारीहरुसँग आफ्नो कम्पनीलाई पर्ने गरि स्फेसिफिकेशन बनाउन लगाई अरुलाई प्रतिष्पर्धाबाट बाहिर्‍याएको विभाग स्रोतले जनाएको छ।

सप्यालयर्स मध्ये हाम्रो मेडी कन्सर्नको बोलकवोलमा सवैभन्दा कम दररेट पेश गरेको भएपनि उसको म्यानुअल सिस्टम नभभएको भन्दै अस्वीकार गरिएको देखिन्छ । त्यस्तै १६ करोड ९९ लाखमा फेयर ट्रेडले कीट सप्लाई गर्न सक्ने भने पनि उसलाई पनि प्राविधिक कारण भन्दै हटाएर ११ औ नम्वरमा रहेको सवैभन्दा २४ करोड ८१ लाखमा खरिद गर्ने गरी ओम सप्लायर्सलाई ठेक्का दिनुको अर्थ के हो ?

कीट प्रकरणमा मन्त्री भानुभक्त ढकाल, उनका सल्लाहकार डा खेम काकी र प्रस्ताव मूल्यांकनकर्तामा रुपमा रहेकी जनस्वास्थ्य प्रयोगशालाकी रुना झा समेतको मिलेमतो रहेको देखिन्छ । रुना झा कोरोना भाईरस रोकथान र नियन्त्रणमा अग्रपंक्तिमा रहेकी महिला भनेर चर्चामा आएसँगै झालाई मूल्यांकन समितिमा राख्दा भ्रष्टाचार भएको नपत्याउने भन्दै मन्त्री कै डिजाईनमा नीतिगत भ्रष्टाचार भएको श्रोतको दावी छ ।

प्रतिक्रिया