आइतबार, चैत ९, २०८१

क्वारेन्टाइनमा राज्य चाहियो !

नेपालखोज २०७७ असार १० गते ६:४७

कैलाली । महिना दिनअघि मुलुकमा एक हजार हाराहारीमा सीमित कोरोना भाइरस संक्रमितको संख्या अहिले १० हजार नाघिसकेको छ। यो अवधिमा २४ जनाले ज्यान गुमाएका छन्। ८५ हजारभन्दा बढी क्वारेन्टाइनमा छन्। आइसोलेसनमा राखिएकाको संख्या पनि बढिरहेको छ। संक्रमण न्यूनीकरणका लागि विशेष गरी दुई उपाय अपनाइएको पाइन्छ। स्वदेशभित्र एक ठाउँबाट अर्को ठाउँमा गएका तथा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखेर यसको संक्रमण रोक्न खोज्नु। क्वारेन्टाइनमा राखिएकालाई संक्रमणको शंका देखिएमा पीसीआर परीक्षण गर्नुका साथै त्यसको नतिजा पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्नु। सरकारी तथ्यांकअनुसार अहिले सात हजार आइसोलेसनमा छन्। उनीहरू कोरोना संक्रमित हुन्।

Advertisement

कोरोना भाइरस रोकथामका लागि राज्यले हर प्रयास गरेको बताइरहेको छ तर क्वारेन्टाइनको व्यवस्थापनदेखि संक्रमितको स्वाब संकलन र उपचारमा समेत हेलचेक्य्राइँ बढ्दो छ। यो नै कोरोना संक्रमण विस्तारका थुप्रैमध्ये एउटा महत्तवपूर्ण कारण बनेको छ। संक्रमण फैलन नदिन सबैभन्दा राम्रो व्यवस्थापन क्वारेन्टाइनभित्र गर्नुपर्ने हुन्छ। विडम्बना, क्वारेन्टाइनभित्रको भद्रगोल अवस्था हेर्ने हो भने लाग्छ– यसले कोरोना रोकथाम होइन फैलाउन मद्दत गरिरहेको छ। केही समयअघि समाचारहरूमै आएको थियो, क्वारेन्टाइनमा बसेकाले सेवासुविधा माग्दै आन्दोलन गरे। फेरि समाचार बनेको छ, संक्रमितसहितका क्वारेन्टाइनमा बसेकाहरू सुरक्षाकर्मीको आँखा छलेर बाहिर निस्कन्छन्। भीडमा खेल हेर्छन्। समुदायसँग खुलमखुला घुलमिल भइरहेका छन्।

सरकारले आफैंले बनाएको सामान्य मापदण्ड पनि क्वारेन्टाइनभित्र लागू गर्न सकेको छैन। मापदण्डअनुसार क्वारेन्टाइन घना वस्तीवरपर राख्न मिल्दैन। वरपरका वस्तीमा संक्रमण नफैलियोस् भन्ने उद्देश्य भए पनि यो कार्यान्वयन भएको छैन। यो डरलाग्दो विषय भए पनि राज्यसंयन्त्र गम्भीर देखिँदैन। एउटा कोठामा बढीमा दुईजनालाई मात्र राख्नुपर्छ। हरेक क्वारेन्टाइनमा एक चिकित्सक वा जनस्वास्थ्य विज्ञले २४ घण्टै निगरानी गर्नुपर्छ। एउटा क्वारेन्टाइनस्थलमा सम्भव भएसम्म एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्छ। शौचालय, खानेपानी एव खाद्य सामग्रीको राम्रो प्रबन्ध हुनुपर्छ। अहिले मुलुकभर एक लाखभन्दा बढी क्वारेन्टाइन छन्। खोज्दै जाने हो भने तीमध्ये कुनै पनि क्वारेन्टाइनमा यी सुविधा छैनन्। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

प्रतिक्रिया