शुक्रबार, चैत १६, २०८०

मीमांसा दर्शन : परिचय र व्यवहारिक पक्ष

नेपालखोज २०७७ असार १३ गते २१:०५

‘दृश्’ धातुबाट निर्मित दर्शनको शाब्दिक अर्थ देख्नु हो । हामीले देखेको वस्तु वा दृश्यले भावनात्मक, ज्ञानात्मक र कर्मयोग, यी तीनैवटा ज्ञानको समायोजन प्रदान गर्दछ भने मात्र देखिएको वस्तु वा दृश्यको दर्शन भएको बुझ्न सकिन्छ । समाज विकासक्रममा विश्वमा धेरै दर्शनहरुको जन्म भयो । यस्तै विभिन्न कालखण्डमा समयको मागबमोजिम पूर्वीय दर्शनको क्षितिज फराकिलो हुँदै गयो । यसै दौरान वैदिक काल मानिने ३०००–२००० ई.पू. समयमा वेदको रचना भयो र त्यसपश्चात् वेदमा आधारित भएर विभिन्न आस्तिक एंव नास्तिक दर्शनको जन्म भयो । यसैगरी १८०० ई.पू. मा ईरानी दर्शन, ६०० ई.पू. मा पूर्वीएसियाली दर्शन, ईश्वी सम्बत् ६३२–११०० मा मुस्लिम दर्शनको जन्म भएसँगै पूर्वीय दर्शन झनै समृद्ध हुँदै आयो । जसले गर्दा पूर्वीय दर्शन समयसँगै बहुआयामिक हुँदै आयो र अहिले पनि यो उत्तिकै सान्दर्भिक रहेको छ ।

युरोपमा प्रारम्भ भएको औद्योगिक क्रान्तिले उत्पादनमा भारी वृद्धि भएपछि युरोपियनहरु औद्योगिकीकरणको लागि आवश्यक कच्चापदार्थ खोजी र उत्पादित वस्तुको बजार विस्तारका लागि पूर्वतर्पm आकर्षित भए । बेलायत र पश्चिमा केही मुलुकहरुले पूर्वीय देशहरुमा अतिक्रमण गरी उपनिवेश बनाएपछि पूर्वीय दर्शनभन्दा पश्चिमा दर्शन आधुनिक र वैज्ञानिक छ भन्ने मान्यता स्थापित गर्न सफल भए । यहाँको शिक्षानीति, स्वास्थ्यनीति र अन्य सामाजिक मूल्यमान्यता पनि विस्तारै पश्चिमा संस्कृति, मूल्यमान्यता र दर्शनबाट अतिक्रमित हुँदै गयो । अन्तत्वगत्वा, पूर्वीय समाजमा पनि पश्चिमा दर्शन नै हाबी हुन थाल्यो र यसैअनुरुप विकासको व्याख्या हुन थाल्यो । ‘गोरो छाला’ र अङ्ग्रेजी भाषालाई अधिक महत्व दिइयो, तर आफ्नै पुर्खाको संस्कृत भाषालाई पूजापाठ गर्ने पूजारीको भाषामा सिमित गरियो । वेद, श्रुति, स्मृतिहरु थन्किए भने कयौँ महत्वपूर्ण महाग्रन्थहरु उपनिवेशको पञ्जामा बिलिन भए । फलस्वरुप, न हाम्रो संस्कृत भाषा नै बाँच्यो न उक्त भाषाले बोकेको ज्ञान, दर्शन र सभ्यता नै । हाम्रो दर्शन पश्चिमाकरणको चपेटामा प¥यो र हामीले हिरालाई सिसा मानेर बेवास्ता गरिरह्यौँ । त्यस अल्पज्ञानलाई चिरेर पूर्वीय दर्शनमा आधारित पूर्व मीमांसा दर्शनको परिचय एंव व्यवहारिक पक्ष उल्लिखित महायज्ञको एक अंशबाट हामी कति सम्पन्न छौँ भन्ने तथ्य उजागर गर्ने उद्देश्यका साथ यो लेख लेखिएको हो ।

पूर्वीय दर्शनअन्तर्गतको वैदिक दर्शनलाई आस्तिक र नास्तिक गरी दुई भागमा विभक्त गरिएको छ । हामीले आस्तिकलाई भगवान्मा विश्वास गर्ने र नास्तिकलाई भगवान्मा विश्वास नगर्ने भनेर बुझ्दै आएको भए तापनि वास्तवमा आस्तिकले वेदलाई निःसन्देह ज्ञानको सर्वोच्च स्रोत एंव विवेकको संग्रह मान्नेलाई बुझाउँछ भने नास्तिकले वेदलाई सर्वोच्च र सर्वोपरी स्रोत मान्दैन । आस्तिक दर्शनले अपौरुषेय रचना वेद स्वयंमा समृद्ध छ भन्ने तर्कको पक्षपोषण गर्दछ भने नास्तिक दर्शनले वेद ज्ञानको महत्त्वपूर्ण स्रोत भए पनि पर्याप्त स्रोत हो भन्ने तर्कलाई खण्डन गर्दछ ।
मीमांसा दर्शन आस्तिक दर्शनअन्तर्गत रहेका षड्दर्शनमध्येको एक प्राचीन दर्शन हो । मीमांसा शब्द संस्कृत मूलको ‘मन’ शब्दबाट उत्पत्ति भएको हो जसको अर्थ सोच्नु, विचार गर्नु, सूक्ष्म निरीक्षण गर्नु वा अनुसन्धान गर्नु हो । त्यसैले मीमांसाको शाब्दिक अर्थ प्रणालीबद्ध जाँच वा अनुसन्धान गर्नु भन्ने हो । आस्तिक दर्शनअन्तर्गतको मीमांसा दर्शनले आफ्नो नामले जनाएअनुसार वेदको व्याख्या एंव विवेचना गर्दछ । वेदभित्र मन्त्रभाग, ब्राह्मणभाग, आख्यकभाग र उपनिषद्भागहरु रहेका हुन्छन् । मन्त्रभाग र ब्राह्मणभाग मिलेर कर्मखण्ड बन्दछ भने उपनिषद् ज्ञानको नजिकमा पु¥याउने सिद्धान्त भएकोले यसलाई ज्ञानखण्ड भनिन्छ । वेदव्यासका चेला मानिने जैमिनी ऋषिद्वारा (करिब ४०० ई.पू.) प्रतिपादित मीमांसा सूत्र र जैमिनीका गुरु रहेका वदरायानको वेदान्त सूत्र, दुवैले वेदको समीक्षा गर्ने हुँदा यी दुवै प्रणालीलाई संयुक्त रुपमा मीमांसाको संज्ञा दिएको पाइन्छ । तर, फरक के मात्र छ भने जैमिनीको सूत्र कर्मखण्डसँग सम्बन्ध राख्ने हुँदा यसलाई कर्म मीमांसा वा पूर्व मीमांसा अथवा मीमांसा मात्र भन्ने गरिन्छ भने वदरायानको वेदान्त सूत्रले वेदको पछिल्लो भागलाई जोड दिने भएकाले यस प्रणालीलाई उत्तर मीमांसा वा वेदान्त दर्शनको नामबाट चिनिन्छ ।
वैदिक कालमा (१५००–६०० ई.पू.) यज्ञलाई विशेष महत्त्वका साथ लिइन्थ्यो । वेदभित्रको मन्त्रभाग सूत्र रुपमा भएकाले यज्ञ र अनुष्ठानका निम्ति मन्त्रहरुको विस्तारपूर्वक वर्णन गर्न आवश्यक भएको भन्दै ब्राह्मणभागको महत्व बढ्यो । समय र परिस्थिति बद्लिएसँगै समाज पनि त्यही अनुरुप परिवर्तित हुँदै गयो । परिवर्तनको क्रममा वैदिक ग्रन्थहरुको स्पष्ट एंव विस्तृत व्याख्या हुनुपर्ने धारणासहित स्मृतिहरुको रचना हुन थाले । यही विन्दुमा वेदमा धर्मबारे गरिएको व्याख्या र बुझाइलाई स्पष्ट पार्न मीमांसा दर्शनको आगमन भयो । नास्तिक दर्शनहरुको दबदबा रहेको अवस्थामा मीमांसा दर्शनले वेदको ज्ञानको महत्वलाई पुनः जागृत गरायो ।
मीमांसा दर्शनको मुख्य उद्देश्य वेदमा स्थित धर्मको व्यवहारिक पक्षको जाँच गर्नु हो । कुल १२ परिच्छेदमा समेटिएको ३००० मीमांसा सूत्रहरुमा (जैमिनी सूत्र) धर्मलाई मुख्य विषय बनाएर चर्चा गरिएको छ । मीमांसा दर्शनले कर्ममा विश्वास गर्दछ किनकि कर्मबिना ज्ञान व्यर्थ छ, कर्मबिना खुसीको अस्तित्व छैन र कर्म छैन त मानव जीवनको औचित्य छैन । त्यसकारण सही कर्मले सार्थक जीवनतर्पm डो¥याउँछ र त्यो सही कर्म वेदमा सविस्तार उल्लेखत गरिएको छ । साथै वेदमा के कार्य गर्नु र के कार्य नगर्नु भनी लेखिएको छ त्यसलाई मीमांसा दर्शनले सूत्ररुपमा सूचीकृत गरेको छ ।

मीमांसा दर्शनको मुख्य धारणा यसको पहिलो सूत्रबाट प्रष्ट हुन्छ :
“अथातो धर्मजिज्ञासा”
अर्थात् अतः अब धर्मको खोजी गर्न आवश्यक छ र धर्मको सम्पूर्ण स्रोत वेदमा छ भन्ने धारणा मीमांसाले अघि सारेको छ । वेदको जगमा रहेर कुनै कार्य गरिन्छ भने त्यो कार्य नै धर्म हो । वेदका अनुसार सबै कार्यको पछाडि कुनै न कुनै कारक तत्त्व हुन्छ । कुनै विषयसँगको निकटताबाट वासना उत्पन्न हुन्छ र वासनाले तृप्ति बढाउँछ । अन्त्यमा उक्त तृप्ति नै क्रोधको कारण बन्दछ, जसले सकारात्मक संस्कारमा विकार पैदा गर्दछ । यसबारे भागवद् गीतामा पनि उल्लेख गरिएको छ । त्यसैले उक्त विकार पैदा हुन नदिई वासनामाथि विजय प्राप्त गर्ने र सही कार्य गर्न प्रेरित गर्ने उपाय यज्ञ हो । यज्ञ भनेको भक्तिपूर्ण आत्माले फलको कुनै आशा नगरी गरिने निःस्वार्थ कर्म हो । यज्ञबारे वेदमा विस्तृत रुपमा वर्णन गरिएको छ । वेदको व्याख्या गर्ने मीमांसा दर्शनमा उल्लेख भएका कुल २१ यज्ञमध्येका ५ महायज्ञ गृहस्थ जीवनसँग सरोकार राख्दछन् । यजुर्वेदमा उल्लिखित नित्य पालना गर्नुपर्ने कुल ५ महायज्ञहरु यस प्रकार रहेका छन् :

(१) ब्रह्म यज्ञ : शिक्षित हुनु र ज्ञानी हुनुमा निकै अन्तर छ । अक्षर चिन्नु र ज्ञानको बोध गरेर त्यसको पालना गर्नु दुई फरक कुरा हुन् । अज्ञानी व्यक्तिले समाजको अस्तित्वलाई संकटमा पार्दछ । त्यसैले आफू र आफ्नो सन्तानलाई अज्ञानताको अन्धकारबाट पर हटाउनु ब्रह्म यज्ञ हो । ब्रह्म यज्ञले आफ्नो र समाजको भविष्य उज्वल बनाउनमा ठूलो मद्दत गर्दछ ।

(२) देवयज्ञ वा अग्निहोत्र : हामी जन्मदेखि मृत्युसम्म प्रकृतिमै आश्रित हुन्छौँ । प्रकृतिप्रतिको कृतज्ञता नै देवयज्ञ हो । यस यज्ञमा हामीले विभिन्न सामग्रीहरु अग्निमा प्रकृतिको सम्मानमा अर्पण गर्दछौँ । यसले वातावरणको शुद्धीकरण गर्नेमा आधुनिक विज्ञानले समेत सहमति जनाइसकेको छ । सूर्य, अग्नि, पवन, जल, भूमि आदि प्रतिको सम्मान नै देवयज्ञ हो । देवयज्ञको सन्दर्भमा “इदम् न ममः” भनेर उल्लेख गरिएको पाइन्छ जसको अर्थ “यो मेरो होइन” भन्ने हो । त्यसैले देवयज्ञले मानिसलाई अहङ्कारी नहुन चेतना प्रदान गर्दछ । साथै अहङ्कार नै अशान्तिको कारण हो र अशान्ति दुःखको कारण हो भन्ने कुरा अग्निहोत्रबाट सिक्न सकिन्छ ।

(३) पितृयज्ञ : एउटा प्रसङ्गमा भगवान् रामले सीतालाई पितृको सेवा नै आफ्नो मूल धर्म हो भनेर भनेका थिए । आफूभन्दा ठूलाको सम्मान गर्नु नै पितृयज्ञ हो । पितृयज्ञले हामीलाई नम्र र मृदुभाषी बनाउन सहयोग गर्दछ । यसले मानिसलाई आफ्नो धरातलबारे सम्झाउँदै कसरी उ अहिलेको अवस्थासम्म आइपुगेको होे भन्ने वास्तविकतालाई बोध गराउँछ । बाबुआमालाई वृद्धआश्रममा पठाउने परिपाटी बसेको आजको समाजले पितृयज्ञको महत्व बुझ्नु जरुरी छ ।

(४) मनुष्य यज्ञ वा अतिथि यज्ञ : मानिस समाजको अभिन्न अङ्ग हो । उ एक्लै बाँच्न सक्दैन । प्रत्येक मानवको अर्को व्यक्तिप्रति कर्तव्य रहेको हुन्छ । यही सहअस्तित्व कै जगमा पूर्वीय सभ्यता अडिएको छ । अतिथि सत्कार पनि मानवीय धर्म हो । “अतिथि देवो भवः”को मूल मन्त्र हाम्रो सभ्यताले बोकेको छ । त्यसैले अतिथिको सेवा र सत्कार गर्न नै मनुष्य यज्ञ हो ।

(५) भूतयज्ञ : शास्त्रमा जसको घरमा गाई र अश्व (घोडा) छैन उसको घरमा गएर भोजन गरेर उसलाई बोझ पार्नु हुँदैन भनिएको छ । आपूmभन्दा गरिबलाई कुनै पनि किसिमको भार दिनु हुँदैन भन्ने कुरा आजको ‘मैँ खाऊँ मैँ लाँऊ’ भन्ने व्यक्तिवादी, आर्थिक असमानताको खाडल खन्ने उपभोक्तावादी समाजले बुझ्न जरुरी छ । आफ्नो लागि मात्र नभएर लोकको लागि केही कर्म गर्नु, सहकार्य एंव सहअस्तित्वलाई जोड दिनु नै भूतयज्ञको मूल उद्देश्य हो ।

आज हामी शिक्षित छौँ तर अज्ञानी छौँ, हाम्रो अस्तित्वलाई सम्भव तुल्याएको प्रकृति नै हाम्रो आर्थिक महत्वकांक्षाको अघि ओझेलमा परिरहेको छ । आफैँलाई जन्माइ, हुर्काइ, पढाइ वर्तमान अवस्थासम्म पु¥याउने आमाबाबुलाई वृद्धआश्रममा लगेर छाड्ने जस्ता नैतिक पतनको घटना आजको समाजमा देख्न सकिन्छ । त्यस्तै आफ्नै व्यक्तिगत स्वार्थमा लिप्त मानव समाजले सहयोग र सहअस्तित्वको भावलाई बेवास्ता गरेको छ । यी वाक्यहरु सुन्दा जति नमिठो लागेपनि यी नै हाम्रो समाजका तीता यर्थाथ हुन् । माथि उल्लेखित पञ्चयज्ञको मात्र पालना गरेपनि यहाँ वर्णित समस्याहरुको समाधान हुने र समाज विगठनको बाटो छाडेर एकताबद्ध हुनेमा शङ्का छैन ।

वेद र यससँग आधारित दर्शनहरुमा समेटिएको अथाह ज्ञान र यसको व्यवहारिक पक्षमा रहेको महत्व बारेमा बुझ्नु हाम्रो लागि किन आवश्यक छ भन्ने तर्कको अनुमान मीमांसा दर्शनको एक सानो अंशमा समेटिएको महायज्ञको व्यवहारिक पक्षले प्रष्ट्याउँछ । यसको अर्थ पूर्वीय दर्शन बाहेकका अन्य दर्शनहरु महत्वपूर्ण छैनन् भन्ने होइन । तर पूर्वीय दर्शनको मूल्यमान्यताको धरातलमा उभिएको हाम्रो समाजलाई अन्य दर्शनले व्याख्या गर्न नसक्ने हुँदा आफ्नो भूमिमा जन्मिएका दर्शनलाई विशेष महत्वका साथ अध्ययन एंव अनुसन्धान गर्नुपर्छ भन्ने हाम्रो तर्क हो । अतः हामीले अरुको कुरालाई अन्धभक्त भएर पछ्याउनु अघि आफू, आफ्नो भाषा, आफ्नो सभ्यता र दर्शनलाई चिन्नु आवश्यक छ । आआफूलाई चिनेर आफ्नो सभ्यता र दर्शनले दिएको ज्ञानको बोध गरी हामी ज्ञानी हुनु पनि उत्तिकै जरुरी छ ।

(आस्था ढुंगेल र राजेश प्रसाद ढुंगाना, बी.ए.एलएल.बी. दोस्रो वर्ष, काठमाडौं स्कुल अफ ल का विद्यार्थी हुन्)

प्रतिक्रिया