राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा
म्याग्दी । दिनहुँजसो परिरहेको बर्सातसँगै पाखोबाट पहिरो खस्न थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती खतरामा परेको छ ।
राहुघाट सल्लेरी वनको पाखोबाट पहिरो खस्न थालेपछि जोखिममा परेको हो । सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीयवासी लक्ष्मण चालिसेले बताए ।
उनकाअनुसार पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन तीन घरले सामान सारिसकेका र अरु पनि सर्ने तयारीमा छन् । हुघाटमा करिब ३० घरपरिवारका १०० जनाको बसोबास छ । स्थानीयवासीका अनुसार करिब ६० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको पाखोले ठाउँ छाडेर पाँच मिटर तल खसेको छ ।
सडक विस्तारका क्रममा डोजरले खनेको ठाउँमा टेवा पर्खाल नलगाएका कारण पाखो खसेर पहिरो जान लागेको राहुघाटका तमबहादुर छन्त्यालले बताए ।
पहिरो खसेको ठाउँभन्दा माथि दुई मूल फुटेर पानी बगिरहेको छ । कमजोर भू–धरातल भएको पाखोमा डोजर चालकले आफ्नै ढङ्गले खनेको सडक भूगोल नबुझिकन अहिले विस्तार गर्दा पहिरोको जोखिम बढेको छन्त्यालले बताए । पूर्वाधार विकास कार्यालय म्याग्दीले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत गत वर्षदेखि राहुघाटबाट पिप्ले–भगवती–बेगखोला जोड्ने सडक स्तरोन्नति शुरु गरेको थियो ।
सोही सडक भत्किएर गएको पहिरोले राहुघाटस्थित भरत मल्ल र बमबहादुर पुनलगायतको खेतबारी पुरिएको छ । मल्लको करिब १०० बाख्रा र ८०० कुखुरा भएको कृषिफार्म पहिरोको जोखिममा परेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिसस प्रमुख देवेन्द्र केसीसहित सुरक्षा अधिकारीको टोलीले पहिरोको स्थलगत निरीक्षण गरेका थिए । स्थानीयवासीलाई घरका महत्वपूर्ण सामान सुरक्षित ठाउँमा सार्न र रातको समयमा त्यहाँ नबस्न आग्रह गरिएको छ ।

प्रतिक्रिया