शुक्रबार, वैशाख १४, २०८१

पोखराका यातायात व्यवसायीले गाडीको चाबी
बैंकमा बुझाउन थाले

नेपालखोज २०७७ असार २४ गते ७:१५

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) अनि त्यसको रोकथाम तथा नियन्त्रणका निम्ति गरिएको लकडाउनका कारण कुनै एक वा दुई क्षेत्र मात्रै होइन समग्र क्षेत्र नै प्रभावित छ । लकडाउनले सम्पूर्ण क्षेत्र ठप्प रहँदा आर्थिक गतिविधि चलायमान हुन सकेन जसले गर्दा सिंगो देशको अर्थतन्त्र नै धरापमा परेको छ ।
गत चैत्र ११ गतेदेखि जारी लकडाउन असार १ गतेदेखि केही खुकुलो पारिएसँगै मानिसको चहलपहल बढेता पनि व्यापार व्यवसाय ठप्प जस्तै रहेको व्यवसायीहरुको गुनासो छ । अझ सार्वजनिक यातायात सञ्चालनमा आउँन सकेका छैनन् । जसले गर्दा व्यवसायीहरु मारमा परेका छन् ।
लकडाउनले सार्वजनिक सवारी साधनहरु ठप्प रहेर दैनिक गुजारा गर्नसम्म धौ–धौ परिरहेका बेला बैंक तथा वित्तिय संस्थाहरुले बैंकको किस्ता बुझाउन दबाव दिइरहेको यातायात व्यवसायीहरुको गुनासो छ ।
व्यवसायीहरुले बैंकको किस्ता बुझाउने समय ६ महिना थप गर्नुपर्ने माग गरेका थिए । जुन माग पुरा नभएपछि पोखराका यातायात व्यवसायीले बसको साँचो नै बैंकलाई बुझाएका छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध व्यवसायीले हिजो मात्रै ९० वटा बसको साँचो विभिन्न बैंकलाई बुझाएका छन् । भने अझै २ सय साँचो बुझाउने तयारीमा छन् । आफुहरुले बैंकको किस्ता तिर्ने समय थप्न पटक–पटक माग गरे पनि बैंक तथा वित्तिय संस्थाहरुले मानसिक पीडा दिन थालेपछि सवारीको साँचो नै बैंकलाई बुझाउनु परेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।
अझै पनि सरकारले आफ्ना मागको सुनावाइ नगरे सम्पूर्ण सवारी साधन बैंकमा ल्याएर बुझाउने र आफुहरु यो पेसाबाट पलायन हुने यातायात व्यवसायी बताउँछन् । आफ्ना मागबारे सुनुवाई भएन भने जुनसुकै मुल्य चुकाउन तयार रहेकाले आफुहरुका मागलाई हलुका रुपमा नलिन अध्यक्ष केसीले आग्रह गरेका छन् ।
राज्यको नागरिकको हैसियतले सरकारसमक्ष न्यूनतम ६ महिना बैंक तथा वित्तिय संस्थाको ब्याज तिर्ने समय सार्न मात्रै आग्रह गरेको तर अझै पनि बैंक तथा वित्तिय संस्थाहरुले अनावश्यक मानसिक पीडा दिन खोजे अब आफूहरुले इट्टाको जवाफ पत्थरले दिने अध्यक्ष केसीले चेतावनी दिएका छन् ।
पोखराको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गतका १४ सय सवारी साधन अहिले चल्न पाएका छैनन् । ७० प्रतिशत वित्तीय संस्थाको लगानी रहेको यातायात व्यवसायमा ३० प्रतिशत यातायात व्यवसायीहरुको लगानी छ ।
हाल देशभर करिब ३ लाख सवारी साधन छन् । त्यसमा कार्यरत करीब १२ लाख मजदुर र तिनमा आश्रित करिब ४० लाख व्यक्ति व्यवसाय ठप्प हुँदा प्रभावित छन् । सरकारले उचित सम्वोधन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित मात्र भएका छैनन, आफ्नो व्यवसायबाट नै पलायन हुने चेतावनी दिन थालेका छन् । यो अवस्थामा मृत्यु शैयाको नजिक पुग्न लागेको सार्वजनिक यातायात क्षेत्रलाई पुनर्जीवन दिन सरकार तथा बैंक वित्तिय संस्थाले समन्वय गरेर उनीहरुको मागलाई सम्बोधन गर्न जरुरी छ ।

प्रतिक्रिया