मंगलबार, वैशाख ४, २०८१

पहिरामा घर पुरिँदा एकको मृत्यु, तीनको उद्धार

नेपालखोज २०७७ असार २६ गते १६:०९

कास्की । पोखरामा पहिरामा घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । पोखरा महानगरपालिका–२६ पैतेडाँडा भन्ने ठाउँमा दुर्गाबहादुर सुनारको ब्लकले बनेको टिनले छाएको दुई कोठाको घर गएराति माथिबाट आएको पहिराले पुरिदा घरधनी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरामा परी बेपत्ता भएका वर्ष ३०-३५ का सुनारको प्रहरी तथा स्थानीय बासिन्दाले खोजतलास गर्दा बिहान मृतावस्थामा उद्धार गरिएको कार्र्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनास्थलबाट स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा सुनारको श्रीमती, एक छोरा र छोरीलाई भने सकुशल उद्धार गरिएको छ । घटनाका बारेमा जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थलमा परिचालित गरिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।

पोखरामा अविरल वर्षासँगै आएको पहिरामा परी गएराति विभिन्न तीन स्थानमा गरी सात जनाको ज्यान गएको छ भने ११ जना घाइते भई पोखरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सराङकोटमा पाँच तथा हेम्जामा एक जनाले पहिराका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया