शुक्रबार, जेठ ३, २०८२

म्याग्दीमा पहिरोमा वेपत्ता ९ जनाको शव फेला

नेपालखोज २०७७ असार २७ गते १३:२४

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ ।

वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना वेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैछ । रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुक्रवार नै शव भेटिएको थियो ।

मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा वेपत्ता आठको खोजीमा आज बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम शुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत वेपत्ताको खोजी र उद्धारका लागि आज बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रवार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् ।

मराङको राम्चेमा पहिरोमा परी घाइते भएका चार जना घाइतेको हेलिकप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ । दुखुखोलाले बगाएर वेपत्ता भएकी मालिका–६ की गीता रोका अझै फेला परेकी छैनन् ।

यसैबीच म्याग्दीको मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ ।

प्रतिक्रिया