के हो सलह किरा ? समस्या तथा समाधान
कोरोना भाइरसले विश्व समुदाय त्रसित बनेको अवस्थामा कृषकहरुलाई अर्को एउटा विपत् आइपरेको छ । ‘मानो रोपेर मुरी फलाउने’ यस समयमा किसानहरुलाई भने भएकै बाली कसरी जोगाउने भन्ने कुरामा ठूलो चिन्ता परेको छ । खडेरी, बाढीपहिरो, डुबान, बीउको अभाव जस्ता अनेकाँै समस्याहरु खेप्दै आएका नेपालका किसानहरुको लागि यस पटकको प्राकृतिक विपत् भने केही फरक प्रकृतिको छ । यस पटकको विपत् सलह किराको हो । छिमेकी राष्ट्र भारतबाट नेपाल प्रवेश गरेको सलह किरा तराईको विभिन्न जिल्लाहरु हुँदै पहाडी जिल्ला र उपत्यकामा पनि देखा परिसकेको छ । सलहका बारे फरक फरक बिचारहरु छन् किसानहरुमा । सलहबारे स्पष्ट जानकारी पाउनको लागि केही सहयोग मिलोस् भन्ने हेतुले यस सङ्क्षिप्त लेख तयार पारिएको हो ।
के हो त सलह किरा ?
सलह फट्याङ्ग्रा प्रजातिकै किरा हो । झट्ट हेर्दा फट्याङ्ग्रा जस्तै दखिने यसलाई नियालेर हेर्ने हो भने आकारमा ठुलो र रङमा केही फरक देखिन्छ । सलहलाई अंग्रेजी भाषामा लोकस्ट (Locust) भनिन्छ । यसको वैज्ञानिक नाम ए्यकरिडिडी (Acredidae) हो । एउटा वयस्क सलहको वजन करिब दुई ग्राम हुन्छ भने शरीर ०.५ देखि ३ इन्च सम्म लामो हुन्छ । तुलनात्मक हिसाबमा सलह किराको आकार कागज च्याप्ने क्लिपको जत्रो हुन्छ । सलह किराको बारेमा चर्चा अहिले चलेको भएतापनि यसको अस्तित्व भने परापुर्वकालदेखि नै छ । सलह किराको कुरा कुरान (मुस्लिम धर्मको पबित्र ग्रन्थ) मा समावेश गरेको पाइन्छ । ग्रिकका फिलोसफर एरिसटोटलले यसको प्रजननको बारेमा अध्ययन गरेको प्रमाणहरु प्रशस्त भेट्न र पढ्न सकिन्छ । फट्याङ्ग्रा प्रजातिमै पनि भिन्न प्रकारहरु छन् त्यस मध्ये नेपालमा देखिएको सलहलाइ डेजर्ट लोकस्ट (Desert Locust) भनिन्छ । सामान्यतया सुख्खा ठाउँमा अण्डा पार्न रुचाउने यस प्रकारको सलह किरा मरुभुमी र सुख्खा ठाउँमा बढी पाइन्छ । समुहमा उड्ने सलह किरालाई कतिपय ठाँउमा कालो बादल भनेर पनि चिन्ने गरिन्छ । सलहको ठूलो समूह कुनैपनि ठाउँमा देखिँदा कालो बादल लागेको जस्तै देखिने हुनाले यसलाई कालो बादल भनिएको हो ।
सलहको जीवनचक्र
फट्यङ्ग्राकोभन्दा ठूला खुट्टाहरु भएको सलह किराले सजिलै लामो दूरीसम्म उफ्रन सक्छ । समूहमा हुने सलह किराहरु एकवर्ग कि.मी. को क्षेत्रफलमा लगभग ८ करोडको सङ्ख्यामा हुने गर्दछन् । एउटा सलहले एक दिनमा करिव आफ्नै आकार बराबरको खाना खान सक्छ । हावाको दिशामा उड्दा थोरै शक्तिको प्रयोगमा लामो दुरी तय गर्न सकिने हुनाले सलहको समूह हावा वहावअनुरुप उड्ने गर्छन् र आफ्नो बाटोमा आउने सम्पूर्ण बालीनाली, बोटबिरुवालगायत हरियो वनस्पतीलाई सजिलै नष्ट गर्ने गर्छन् । एक वर्ग कि.मि.मा भएका सलह किराको समूहले एक पटकमा ३५००० जना मानिसले खान सक्ने खाना खान्छन् । सलह एक्लो हुँदा सोलिटरी फेजमा (Solitary Phase) हुन्छ । यस अवस्थामा सलह कम सक्रिय हुन्छन् । तर, मौसम अनुकूल भएमा गिरग्यारियस फेजमा (Gregarious Phase) विकसित हुन्छन् । यस अवस्थामा सलहले आफ्नो बानी, रङ र भोकलाई समेत परिवर्तन गर्न सक्छ । सलह किराको जीवन चक्रलाई तलको चित्रमा देखाइएझैँ अण्डा अवस्था, होपर्स अवस्था र वयस्क अवस्था गरेर तीनवटा अवस्थामा विभाजन गर्न सकिन्छ ।
१. अण्डा अवस्था
एउटा वयस्क पोथी सलहले आफ्नो जीवन कालमा २०० दखि २५० वटासम्म अण्डाहरु पार्न सक्छ । दिनभरी खानाको लागि उड्ने पोथी सलह किराले रातिको समयमा मात्र अण्डा पार्छ । भाले सलहसँगको सहवासपश्चात् पोथी सलहले रातिको समयमा आफ्नो शरीरको पछिल्लो भाग जमिनको करीव १५ से.मि.को गहिराईमा गाडेर एक पटकमा लगभग ४० देखि १२० वटा अण्डाहरु दिने गर्दछ । सलह किराले अण्डा पार्न सुख्खा जमिन रोज्ने भए तापनि अण्डाको विकास हुनलाई ओसिलो स्थानको आवश्यक पर्छ । उपयुक्त तापक्रम र अनुकूल वातावरणमा सलहको अण्डा करिव १० दखि ३० दिनको अन्तरालमा अर्को अवस्थामा विकास हुन्छ र त्यसलाई हुपर्स भनिन्छ ।
२. हुपर्स अवस्था
हुपर्सहरु आकारमा सानो र कालो रङका हुन्छन् भने यिनीहरु उड्न सक्दैनन् । अण्डाबाट निस्केका हुपर्सहरुले उफ्रेरै दुरी तय गर्न सक्छन् । उड्न नसक्ने यिनीहरुले वनस्पतिहरुको पातलाई खाएर ठुलो हानी पु¥याउन सक्छन् । यस अवस्थाको समय अवधि करिव २० देखि २५ दिनको हुने गर्दछ र त्यसपश्चात् उनीहरु वयस्क सलहमा विकास हुन्छन् । यो अवस्थामा उनीहरु वनस्पती खाएरै मात्र बस्छन्, जसको कारण वाली विनासको सम्भावना ज्यादा हुन्छ ।
३. वयस्क अवस्था
वयस्क सलह आकारमा ठूलो हुन्छ भने सुरुवाती विकासमा यसको रङ गुलाबी देखिन्छ । विकसित हुने क्रममा गुलाबी रङको वयस्क सलह पहेँलो रङमा परिणत हुनथाल्छ । पोथी सलह आकारमा भाले सलहभन्दा ठूलो हुन्छ र यिनीहरुको पखेटामा कालो रङका धब्बाहरु हुन्छन् । आकार र रङको सहायताले भाले र पोथी सलह किरालाई सजिलै छुट्याउन सकिन्छ । वयस्क अवस्थामा पुगेको दुईहप्तापश्चात् सलहले प्रजनन् गर्ने सक्ने हुन्छन् । भाले सलहसँगको सहवासको २४ घण्टामा पोथी सलहले अण्डा पार्न सुरु गर्छ । अण्डा हुपर्समा परिणत हुन्छ र पुनः वयस्क सलहमा विकास हुन्छ ।
नेपालमा सलह नेपाल भित्रनुको कारण
केही दिन अघिमात्र विज्ञहरुले सलह नेपाल नआउने अनुमान लगाएका थिए तर यथार्थमा भने त्यस्तो भएन । भारतको विभिन्न प्रदेशहरुमा देखिइसकेको सलह नेपालका पनि केही जिल्लाहरुमा आइसकेको छ । सलह मुख्यतया क्यासपिएन सागरको इरान, काजकिस्तान, अफगानिस्तान, तुरकिस्तान र एरियल सागर नजिक घाँसेमैदानमा पाईन्छन । तर, प्रजननको लागि भने साउदी अरब, कुवेत, यमन, इरान, पाकिस्तान र भारतसम्म आइपुग्ने गर्छन् । विभिन्न समय अवधिमा सलह किराले विभिन्न देशका वालीमा ठूलो क्षति पु¥याईसकेको छ । सलह उड्ने दिशा हावाको दिशाले निर्धारण गर्छ । नेपालमा हावाको वहाब पूर्वबाट पश्चिम दिशामा चल्ने भएकोले विज्ञहरुले सलह नेपाल नभित्रिने अनुमान लगाएका थिए । तर, पछिल्लो समयमा हावाको दिशा उत्तरबाट दक्षिण र पश्चिमबाट पूर्व बहेको हुँदा सलह नेपाल प्रवेश गरेको विज्ञहरुको भनाई छ ।
सलहबाट बालीनाली बचाउने उपायहरु
नेपाल भित्रिसकेको सलहबाट खेतीपातीलाई बचाउने प्रमुख उपाए भनेकै सलहलाई बालीनालीमा बस्न नदिनु हो । सलहले रातको समयमा खेतिबाली नखाने र नउड्ने हुनाले उक्त समयमा सलहको बासस्थान पहिचान गरी किटनासक औषधिको प्रयोग गरेर सलहलाई नष्ट गर्न सकिन्छ । यदि दिनको समयमा सलहले बालीनालीमाथि आक्रमण गरेको छ भने धुँवा, ध्वनी र कीटनाशक औषधिको प्रयोग गरेर धपाउन सकिन्छ । यसका लागि सरकारी तवरबाट कार्ययोजना बनाएर काम गर्न आवश्यक देखिन्छ ।
नेपालमा सलहको जोखिम
विज्ञहरुको भनाईअनुसार नेपालमा हालको लागि सलहको खतरा कम छ तर साबधानी अपनाउन भने एकदमै आवश्यक छ । सलहले अण्डा पार्न मरुभूमिको वातावरण रोज्ने हुनाले नेपालमा सलहको उच्च जोखिम नरहेको विज्ञहरु बताउँछन् । मनसुनको समयमा सलह कम सक्रिय रहने हुँदा सलहबाट ठूलो जोखिम नहुने आँकलन गरिएको छ । नेपालमा प्रवेश गरेको सलहको समूह सानो रहेकोले पनि जोखिम कम रहेको र केही दिनयता नेपाल प्रवेश गर्न लागेको सलहको समूह भारततिरै मोडिएकोले तत्काललाई उच्च जोखिम हटेको विज्ञहरु बताउँछन् । नेपालमा भावी दिनहरुमा सलहको जोखिम कायमै रहेकाले सचेत हुन र सरकारले साबधानीको उपाय अपनाउन एकदमै आवश्यक देखिन्छ ।
लेखक नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज)मा जनस्वास्थ्य विषय अध्ययनरत विद्यार्थी हुन् ।
प्रतिक्रिया