कुलतलाई त्यागेर व्यवसाय अङ्गालेका कृषकको सफलताको कथा
लामो समयसम्मको मादक पदार्थ सेवनको लतलाई एक्कासी छाड्दा झन्डै ज्यानै गुमाईसकेका शिवराज गिरीको ‘जीवन–कथा’ आम मानिसका लागि सिकाईयोग्य हुन सक्छ । कुलतले पु¥याएको शारीरिक, आर्थिक र सामाजिक नोक्सानीलाई एक अवसरका रुपमा बदलेर शिवराज गिरी आज एक सफल व्यवसायी बनेका छन् । उनको भोगाइ र कुलतबाट सिकेको पाठ यस घटना अध्ययनमार्फत् प्रस्ट्याउन खोजिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका शिवराज गिरीको परिवार मूलतः कृषि पेशामा निर्भर छन् । श्रीमती, दुई छोरा र एकबुहारी गरी पाँचजनाको परिवारलाई कृषि उपजले दैनिक आवश्यकता परिपूर्ति गर्ने गरेको थियो । सासुबुहारीले घरमा पालेका पशुपन्छी र घरधन्दा राम्रोसँग सम्हालेका थिए भने खेतीपातीको सम्पूर्ण जिम्मेवारी शिवराज र उनका छोराहरुमा थियो । दिनचर्या राम्रै चल्दै थियो, तर पनि थप आम्दानी गर्ने मनसायसहित शिवराजले एउटा पसल खोल्ने विचार गरे ।
सामान्य वस्तुको आवश्यकता पर्दा पनि गाँउलेहरु बजारसम्मै धाउनुपर्ने भएकाले परिवारसँग सरसल्लाह गरेपछि उनले गाउँमै किराना पसल सञ्चालन गर्ने निधो गरे । पसलको लागि सामानहरु ल्याउन सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेर छिमेकी मगर गाउँसँगको सिमानामा रहेको आफ्नो निजी जमिनमा छाप्रो बनाएर शिवराजले किराना पसल सञ्चालन गरे । दैनिक उपभोग्य सामान किन्न बजारसम्म पुग्नुपर्ने स्थितिमा गाउँमै समस्या समाधान भएपछि गाउँलेहरुले पनि सुविधा महसूस गर्न थाले । गाउँलेहरु उनीसँग खुशी थिए । पसल राम्रैसँग चल्न थालेसँगै शिवराजको धेरैजसो दिनचर्या छाप्रोमा नै बित्ने गथ्र्यो । परिवारका अन्य सदस्यहरु भने खेतीपातीमा व्यस्त थिए । सोचेअनुरुप पसलबाट आम्दानी पनि बढ्दै जान थाल्यो । एकदिन पसलमा आएका एक ग्राहकले शिवराजलाई मादक पदार्थको पनि बिक्रीगर्दा ग्राहकहरु अझै बढ्ने र मनग्य फाइदासमेत गर्न सकिने सल्लाह दिए । हुन पनि गाँउघरमा दिनभरीको काम सकेर थकान मेटाउन राति मादकपदार्थ पिउने चलन थियो नै । नभन्दै ‘घेरै कमाउने’ सोचले उनले रक्सीको बिक्री सुरु गरे । आफ्नो र छिमेकी गाउँका अधवंैसे केटाहरु दिनभर काममा व्यस्त हुन्थे भने साँझ परेपछि उनको पसलमा आएर मादकपदार्थ पिउने गर्थे । दिनानुदिन मादकपदार्थ सेवन गर्न आउनेको संख्या बढ्दै जान थालेसँगै किराना पसल त विस्तारै भट्टीको रुपमा बढी चिनिन थाल्यो ।
ग्राहकहरुको मागअनुसार स्वादिलो र कडा मादकपदार्थ ल्याउन शिवराजले पनि मादकपदार्थ खरिद गर्ने समयमा आफैले चाखेर ल्याउन थाले । चाडपर्वमा मात्र कहिलेकाहीँ पिउने गरेका उनलाई साथीभाई पसलमा जम्माहुँदा सँगै बसेर पिउन आग्रह गर्थे । साथीभाईको आग्रहअनुसार नपिउँदा ‘ठुलोमान्छे भएको’ भन्नेहुँदा साथीहरुको मन राखिदिन भएपनि सँगैबसेर पिउन थाले । परिणामतः शिवराज पनि बिस्तारै मादकपदार्थको लतमा हराउन थाले । यता खेतीपातीमा व्यस्त परिवारका सदस्यले भने उनका नयाँ क्रियाकलापबारे जानकारी पाएका थिएनन्, जसले गर्दा उनलाई उनको कुलतबारे रोकतोक गर्ने कोही भएनन् र उनी कुलतमा झन्झन् फँस्दै गए । मदिरामै रमाउन थालेका शिवराजले पसलको हिसाबकिताबसमेत राख्न छाडे । उनलाई व्यापार नाफाघाटाको कुनै होस नै भएन । कुलतमा फसेसँगै उनी राति घर फर्कने क्रम झनै पातलिन थाल्यो ।
एकदिन बिहान खाना पु¥याउन श्रीमती पसलमा पुग्दा त शिवराज रक्सीको नशामा थिए । पसलमा मादक पदार्थको दूर्गन्ध फैलिएको थियो । यो थाहा पाएर छोराहरुले तत्काल पसल बन्द गरेर शिवराजलाई घर लिएर गए । पसल खोल्नुअघि स्वस्थ शिवराजको शरीरमा हाँड र छाला मात्र बाँकी थियो । पसलमा व्यस्त छ भनेर निक्कै दिनदेखि घरमा खाना खान नआएकाले परिवारले राम्रै व्यापार भएको हुनसक्ने सोचेको थियो तर, अवस्था अर्कै थियो । परिवारले चालै पाएनन् ।
श्रीमती र छोराहरुले उनलाई निक्कै सम्झाए र मादक पदार्थ सेवनबाट टाढा राखे । शिवराजको भने खानामा रुचि पटक्कै थिएन । परिवारलाई पनि पसलबाट ठूलो घाटा व्यहोर्नु परेकोमा चिन्ता त थियो नै, तर शिवराजले कुलत छाड्ने भए भनेर परिवार खुशी थिए । घर ल्याएको करिब ६ दिनको कुरा हो, शिवराजले घरका करेसाबारीमा लगाएको तारबारलाई जनावर भनेर सबैलाई छक्क पारे । परिवारले के—कसो भयो भनेर भेउ पाउनै सकेनन् । अर्को दिन बिहान फलंैचामा बसेका शिवराज बारको आड लिएर उठ्न खोज्दा उसका हातहरु निकै काम्न थाले । विस्तारै हिँड्न लाग्दा पाइलाहरु धरमराए र अचानक टाउको बटारेर आँखा पल्टाउन थाले र जोडसँग दाह्राकिटेर मुखबाट रगत अनि फिँज निकाले । हातका मुठी कसेर शरीर थरथर कमाउँदै एक्कासी डङरङ्ग भुँइमा पछारिए । उनको अवस्था देखेर परिवारका सबै आत्तिए र रुनकराउन थाले ।
उनीहरु रोएको चिच्याएको सुनेर छरछिमेकीहरु जम्मा भए र तुरुन्तै कसैले एम्बुलेन्सलाई फोन गरे । एम्बुलेन्स आईपुग्दासम्म पटकपटक त्यस्तो समस्या भएर शिवराज रगताम्य भइसकेका थिए । एम्बुलेन्स आए लगत्तै उनलाई धुलिखेल अस्पताल पुर्याइयो । अस्पतालले ‘Alcohol Withdrawl Syndrome’ (लामो समयसम्म मादक पदार्थ सेवन गरेर एक्कासी छाड्दा शरीरले देखाउने प्रतिक्रियात्मक लक्षण) का कारण उनी त्यसरी ढलेको बतायो । त्यसरी मादक पदार्थ एक्कासी छाड्दा हातगोडा काम्ने, खानामा रुचि घट्ने, नौलोकुराहरु देख्ने (यथार्थमा त्यहाँ नभएका चिजविजहरु देख्ने वा सुत्न नसक्ने जस्ता लक्षणहरु देखिन्छन् । कामेर भुँईमा ढल्दा दाँतले टोकिएर उसको आधा जिब्रो काटिएको थियो । त्यसरी ढल्दा मुखमा भएको रगत वा फिँज सर्किएर फोक्सोमा पुगेको भए तत्काल ज्यानैसमेत जान सक्छ । खुशीको कुरा, विस्तारै उनको अवस्थामा सुधार आउँदै गयो र करिब दुईहप्ताको अस्पताल बसाईपछि उनी घर फर्र्किए ।
मादक पदार्थ सेवनका कारण त्यस्तो अवस्थामा पुुुगेकाले उनलाई हिनतावोध भयो । गाउँसमाजमा उनैको कारण परिवारका सदस्यहरु लज्जित हुनप¥यो । त्यस्तै, उनको उपचारको लागि धेरै खर्चिनु पर्यो । परिवारको आर्थिक स्रोत बढाउन भनी सञ्चालन गरिएको पसलबाट थप नोक्सानी व्यहोर्नुका साथै शिवराजले झन्डै ज्यानैसमेत गुमाएका थिए । बचतको रकम सकेर उपचारको लागि ऋण गर्नु परेकोले परिवारमा आर्थिक संकट आईप¥यो ।
तर, परिवारको साथ र सहयोगले उनको अवस्थामा सुधार ल्याउन मद्दत ग¥यो । परिवारका सदस्य कसैले पनि उनको विगतबारे नकारात्मक टिप्पणी गरेनन् । उनको साथमा चौबिसै घण्टा कोही न कोही रहन्थे र स्याहारसुसार गर्दथे । त्यतिबेला कसैले पनि शिवराजलाई ‘सुध्रिनका लागि अर्तिउपदेश’ दिएनन् बरु उनको कुरा सुन्थे । यसले पनि शिवराजलाई परिवर्तन हुनका लागि हौसला मिल्यो । उनले आफूले गरेको गल्तिलाई स्वीकार गरी त्यसबाट मुक्त हुने दृढ निश्चय गरी परिवारको सुझावलाई पालना गर्दै गए । र, अन्ततः शिवराजले झण्डै मृत्युको मुखमा पुगिसकेको अवस्थालाई जित्न सफल भए । यस घटनालाई नियाल्दा, धेरै कमाउने लोभमा किराना पसललाई भट्टी नबनाएको भए सायद शिवराज त्यसरी कुलतमा पर्ने थिएनन् । साथीभाईको मनराख्न भनेर नपिएकोे भए शारीरिक, आर्थिक र सामाजिक पिडा भोग्नुपर्ने थिएन । यस्तो समस्या उपचारले सँधै निको बनाउन सकिन्छ भन्न सकिन्न । शिवराजले त मृत्युलाई जित्न सके तर कुलतमा फसेर अकालमा ज्यान गुमाउनेहरु धेरै छन् ।
त्यस घटनाबाट ठूलो पाठ सिके र आफ्नो गुमेको ईज्जत उकास्न त्यसलाई अवसरको रुपमा लिने निर्णय गरेको कुरा शिवराज बताउँछन् । उनले जीवनमा ‘केही गरेर देखाउने’ अठोट लिए । डाक्टरको सल्लाहबमोजिम त्यस घटनापछि मादकपदार्थमा कहिलै हात समेत लगाएनन् । खानामा रुचि बढ्न थाल्यो र चाउरीएर सुकेका छालाहरु तन्किन थाले । शरीर पोटिलो र फुर्तिलो देखिन थाल्यो । कृषि नै मुख्य पेशा अङ्गालेका उनले कुखुरापालन व्यवसाय रोजे र फेरी परिश्रम गर्न थाले । ‘परिश्रमको फल मिठो र राम्रो हुन्छ’ भनेझैँ केही सङ्ख्यामा सुरु गरिएको कुखरापालनबाट उल्लेख्य कमाई हुन थालेपछि शिवराजले व्यवसायलाई बिस्तारै बढाउँदै लगे । आज उनको फार्ममा प्रशस्त कुखराहरु छन् । फार्मको कामसकेर बचेको समय उनले खेतीकिसानीमा लगाउने गरेका छन् ।
हिजो कुरा काट्नेहरु आज उनैबाट पे्ररित भएर उनीहरु पनि कुखरापालन व्यवसायमा आबद्घ भएका छन् र त्यस व्यवसायबाट मनग्ये फाइदा उठाउन सकेका छन् । शिवराज भन्छन् “कुलतमा लाग्न त सजिलो छ, तर त्यसबाट छुटकारा पाउन भने निक्कै गाह्रो हुनेरहेछ, यदि दृढ ईच्छाशक्ति राख्ने हो भने असम्भव भने छैन रहेछ” । शिवराज आजभोली अरुहरुलाई पनि कुलतमा फस्न नहुने सल्लाह दिन्छन् ।
(यो घटना–अध्ययन शिवराज गिरीको स्विकृतिमा तयार पारिएको हो – लेखक)
लेखक नेपाल विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज) जोरपाटीमा जनस्वास्थ्य विषयमा अध्ययनरत छन्
प्रतिक्रिया