आइतबार, चैत ९, २०८१

नेपालमा कोरोना संक्रमण दर घढ्दै छ त ?

नेपालखोज २०७७ असार ३१ गते १०:४७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण यतिबेला विश्व मै महामारीका रुपमा फैलिरहेको छ । नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गइरहेकोमा पछिल्ला केही दिनयता भने संक्रमितको संख्या कम देखिन थालेको छ ।

Advertisement

संक्रमितको संख्या कम देखिदै जादा कतिले नेपालमा कोरोनाको संक्रमण दर घट्न थालेको आंकलन गर्न थालेका छन तर परिक्षण नै कम भएकाले संक्रमित पनि कम देखिन थालेको विशेषज्ञको बुझाइ छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो दिनको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या घट्दै गएको देखिए पनि नेपालमा कोरोना संक्रमण घट्दै गएको अहिले नै भन्न नमिल्ने विशेषज्ञ डा. अनुप सुवेदीले बताए ।

नेपालमा विहिबार ४ हजार ५ सय ८८ वटा पिसिआर परीक्षण भएकोमा १ सय ८ जना, शुक्रबार ४ हजार ८ सय ६ वटा परीक्षण भएकोमा १ सय १८, शनिबार ३ हजार ६ सय ४८ वटा पीसीआर परीक्षण गरिएकोमा ७०, आइतबार ३ हजार ९ सय १६ वटा परीक्षण गरिएकोमा ८२, सोमबार ५ हजार ८ सय ५६ वटा परीक्षण गरिएकोमा १४४ र आज ४ हजार ३६१ परिक्षण गरिएकोमा ११६ जनामा कोरोना पुष्टि भयो ।

मन्त्रालयको यो आंकडाले पनि नेपालमा कोरोना परिक्षण कम भएर संक्रमित पनि कम देखिएका हुन कि भन्ने प्रश्न उब्जिन थालेको छ ।काठमाडौँका धेरै अस्पतालका कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिएकाले समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको हुन सक्ने डा. सुवेदीले बताए ।

असार १५ गतेदेखि दैनिक १० हजारको हाराहारीमा पिसिआर परिक्षण गर्ने भनेको सरकारले असार २० गते अघिसम्म दैनिक ६ देखि ७ हजारसम्म पिसिआर परिक्षण गर्ने गरेको थियो जसमा संक्रमितको संख्या पनि ५ देखि ७ सयसम्म देखिएको थियो । यहि असार १९ गते पनि नेपालमा ७ सय ४० जना संक्रमित फेला परेका थिए ।

बढी जनघनत्व भएका ठाउँका मानिसको जतिसक्दो धेरै परिक्षण गर्नु पर्ने र कोरोना परिक्षणको दायरा साघुँरो भएकाले यसलाई पनि फराकिलो बनाउनु पर्ने उनले बताए । मन्त्रालयको मंगलबार (आज) सम्मको आंकडाअनुसार नेपालमा कुल संक्रमित संख्या १७ हजार ६१ भने त्यसको करिब आधा बढी १० हजार ३२८ डिस्चार्ज भइसकेका छन् । नेपालमा ३८ जनाको मृत्यु भइसकेको छ । हाल नेपालमा ६ हजार ६९५ जना सक्रिय संक्रमित छन् ।

नेपालमा कोरोना परिक्षणको रिपोर्ट ढिलो आउने गरेका कारण कान्ट्याक ट्रेसिङ गर्न पनि ढिला हुँदा कोरोना संक्रमण अझ फैलिरहेको विशेषज्ञ डा. सुवेदीले बताएका छन् । नेपालमा पछिल्लो समय क्वारेन्टिनमा बस्ने व्यक्तिहरूको संख्या ह्वात्तै घट्दै गएको छ । पछिल्लो एक महिनाको अवधिमा एक लाख बढी मानिसलाई क्वारेन्टिनबाट घर पठाइएको छ ।

क्वारेन्टिनबाट मानिसलाई घर पठाइए पनि उनीहरू सबैको परीक्षण भने गरिएको छैन् । घर गएकाहरु मध्ये कतिपयलाई फेरि कोरोना पोजेटिभ पनि देखिन थालेको छ । यो अवस्थामा बढी भन्दा बढी कोरोना परिक्षण अनि समयमै कन्ट्याक ट्रेसिङ गर्न जरुरी छ । भने आम नागरिकले संक्रमणबाट बच्च अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुने र भौतिक दूरी कायम गर्न अनिवार्य छ ।

प्रतिक्रिया