चल्न थाले सार्वजनिक सवारी (भिडियाेसहित)
काठमाडाै । कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लामो सयमदेखि जारी लकडाउनले ठप्प रहेका सार्वजनिक सवारी साधान राजधानीमा गुड्न थालेका छन् । गत चैत्र ११ गतेदेखिको लकडाउनले ठप्प रहेका सार्वजनिक सवारी असार २६ गतेदेखि सरकारले चल्न दिने निर्णय गरेको थियो ।
तर, लामो समयदेखि ग्यारेजमा थन्किएका सवारी सडकमा गुडाउने स्थितिमा नरहेको, सरकारले व्यवसायीका माग बेवास्ता गर्दै एकहोरो रूपमा निर्णय सुनाएको भन्दै यातायात व्यवसायीले यथास्थितिमा सवारी नचलाउने निर्णय गरेको थियो ।
यातायात व्यवसायीको यो निर्णय भएको केही दिनमै राजधानीका केही सार्वजनिक यातायात संचालनमा आइसकेका छन् । अहिले राजधानीमा सुन्दर यातायात, मयूर यातायात, संयुक्त यातायात र महानगर यातायात चलिरहेका छन् भने आजदेखि साझा यातायातले पनि सेवा सुरु गर्ने भएको छ ।
आफुहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को स्वास्थ्य मापदण्ड र सरकारको निर्णय अनि नियमअनुसार नै चालक सहचालक र यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सवारी संचालनमा ल्याएको मयूर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले बताएका छन् ।
उनले आफ्नो बसमा यात्रा गर्न आउने मास्क नभएका यात्रुहरुलाई मास्क वितरण गर्ने गरेको र स्यानिटाइजर पनि उपलब्ध गराउने गरेको बताएका छन् ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर तथा त्यसबाहेक अन्यत्र एक जिल्लाभित्र सिट क्षमताको ५० प्रतिशत यात्रुलाई तोकिएको भाडाभन्दा ५० प्रतिशतसम्म बढी भाडा लिएर सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
तर, कोभिड–१९ को महाबिपत्तिका समयमा सबैले कमाउने धान्दामा मात्रै लाग्दा सामाजिक उत्तरदायित्व पूरा नहुने भन्दै आफूले सामाजिक उत्तरदायित्वलाई पनि मध्यनजर गर्दै यात्रुको सहजताका लागि पुरानै भाडादरमा सेवा दिइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।
मंगलबारदेखि संचालनमा आएको सुन्दर यातायातले काठमाडौैंका सूर्यविनायक—रत्नपार्क र चक्रपथमा सुन्दरका दुई—दुई वटा बस मार्फत् सेवा दिन थालेको छ । लकडाउनको अवधिमा चाइनाको बिएके कम्पनीसँग मिलेर काठमाडौंका विभिन्न ठाउँमा हातधुने टनेलको व्यवस्था गरेको सुन्दर यातायातले यात्रा गर्न आउने ५५ वर्षमाथिका यात्रुहरुलाई पनि निशुल्क रुपमा मास्क वितरण गरिरहेको छ ।
सुन्दर यातायातको ४० सिट क्षमताको बसको बिचमा झण्डै ३० देखि ४० जना अटाउने ग्याप भएकाले यात्रुले कसैले कसैलाई टच गर्नै नपर्ने भएकाले सामाजिक दूरीको पालना भइरहेको उनले बताए ।
यतिबेला यातायात व्यवसायीले राखेको माग एकदमै जायज रहेको र त्यसमा आफुहरुले पनि एक्यवद्धता जनाएको भएपनि यो कोभिडले अथतन्त्रलाई धान्नै गाह्रो भइरहेको सरकारलाई आफ्नो कर्तव्यलाई भुलेर अधिकार मात्रै माग्दा जायज हुँदैन कि भन्ने लागेर आफूहरुले सवारी संचालनमा ल्याएको रुपन्देही लुम्बिनी मेट्रो सिटी प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले बताएका छन् । कोभिड–१९ ले विश्वमै समस्या परेका बेला आफ्नो समस्यालाई मात्रै पनि हेर्न नहुने उनको भनाइ छ ।
त्यस्तै, गत चैत्र ११ गतेदेखि ठप्प रहेको साझा यातायातले पनि भोलिदेखि आफ्नो सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।
संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनको भनाइ छ । साझाका बस लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायक सहित साझा चल्दै आएका सबै रुटमा चल्नेछन् । साझाले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिने जनाएको छ ।
सरकारले कोभिड १९ को महामारी नियन्त्रणका लागि भन्दै गत चैत ११ देखि लागू गरेको लकडाउनका कारण सार्वजनिक सवारी साधनहरु ठप्प छन् । लामो समयसम्म सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यातायात व्यवसायी त मारमा छन नै नीजि सवारी नभएका सर्वसाधारणले पनि यात्रामा सास्ती खेप्दै आएका छन् । त्यसैले स्वास्थ्य सतर्कता अपनाई व्यवसायीलाई पनि मार नपर्ने गरी चरणबद्ध रुपमा सवारी सञ्चालन गर्नु उपयुक्त हुनेछ ।
यसरी सार्वजनिक यातायातले सुरक्षित तवरले चालक–सहचालक तथा यात्रुको स्वास्थ्य सुरक्षालाई मध्य नजर गरी सवारी संचालन गर्न सके एक त लामो समयदेखिको लकडाउनले सवारी ठप्प रहेर समस्यामा परेका यातायात व्यवसायीलाई राहत हुनेछ भने अर्कोतिर सार्वजनिक सवारी बन्द भएर घण्टौं हिँडेर कार्यालयलगायत जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
प्रतिक्रिया