बुधबार, वैशाख १२, २०८१

विद्या भण्डारी राष्ट्रपति कि नेकपाको सल्लाहकार

नेपालखोज २०७७ साउन ५ गते १४:३१

काठमाडौं । नेकपा पार्टीभित्रको विवाद र पछिल्लो समय बालुवाटारदेखि शितल निवाससम्मको कनेक्सनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तानेको छ । नेपालको संविधानअनुसार राष्ट्रको सर्वोच्च पदका रुपमा रहेको राष्ट्रपति जुनसुकै दलबाट चुनिएर आएको भएपनि पदभार ग्रहण गरेपश्चात् साझा हुनु पर्दथ्यो । नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव नेपाली कांग्रेस नजिकको भएपनि राष्ट्रपति रहँदासम्म कुनैपनि विवादमा मुछिएनन् । तर, अहिले वर्तमान राष्ट्रपति विद्या भण्डारीको साझा नभएर नेकपा कै सल्लाहकार जस्तो भूमिका देखिएको छ ।

नेपालको विकसित राजनीति विशेषगरी नेकपाभित्रको आन्तरिक कलहमा पटकपटक शितल निवास र बालुवाटार अर्थात् प्रधानमन्त्री ओली एवं राष्ट्रपति विद्यादेवी भण्डारीको छलफल भईरहेकोले पनि पुष्टि गरेको छ । हो, बालुवाटारमा हुने नेकपाको सचिवालय वैठक अघि वा पछि प्रधानमन्त्री शितल निवास पुग्नुले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको सल्लाहकार हो कि भन्ने भान भएको छ । तर, राष्ट्रपति भण्डारीले अहिले गरेका कामकारवाही हेर्ने हो भने पदअनुरुप कानून विपरित कार्य भईरहेको छ भन्दा फरक पर्दैन ।

नेकपा पार्टीका हरेक गतिविधि वा निर्णयहरुमा राष्ट्रपति जोडिनु भनेको संविधानको संरक्षकले नै संविधानको अवहेलना गरिरहेको प्रष्ट देखिन्छ । पछिल्लो समयमा शीतल निवास र बालुवाटारको कनेक्सनका कारण वर्तमान संविधान नै रहन्छ कि रहँदेन भन्ने अवस्था आईसकेको संविधानविद्हरुले बताईरहेका छन् ।

प्रधानमन्त्रीदेखि मन्त्री सांसदलगायत जिम्मेवारी पदमा रहेका व्यक्तिहरु नै संविधान उल्लंघन गर्नेमा पर्दछन् । विशेषगरी राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको प्रत्येक दिनका गतिविधिहरु ‘अपडेट’ हुन खोज्नुले पनि भण्डारीलाई नेकपाको सल्लाहकार बनाईदिएको देखिन्छ ।

प्रतिक्रिया