जताततै जलमग्न, बाढीपहिरोको त्रास
काठमाडौं । नेपालमा करिव ४ दिनको लगातार वर्षाले देशका विभिन्न क्षेत्र बाढी तथा पहिरोले प्रभावित भए । नेपालमा केहीदिन थोरै पानी परेपनि आइतबारदेखि सक्रिय भएको मनसुनले लगातार भारी वर्षा गराइरहेको छ । आजदेखि भने वर्षा कम हुँदै जाने मौसम विज्ञान विभागले जनाएको छ ।
हालसम्मको वर्षाले आएको बाढी तथा पहिरोबाट देशभर थुप्रै जनधनको क्षति भइसकेको छ । भने, हिजोसम्म काठमाडौंलगायत देशैभर हल्कादेखि भारी वर्षा भएको थियो ।
उपत्यकाको बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्तीसमेत डुबानमा परेका छन् । अव्यवस्थित बसोबासका कारण उपत्यकाका विभिन्न स्थानमा विगतका वर्ष झैं यसपटक पनि तटीय क्षेत्र डुवानमा परेको हो ।
चण्डोलदेखि त्रिपुरेश्वरसम्म काठमाडौं महागरपालिकाको क्षेत्र भएर बग्ने टुकुचा खोलाले महानगरका वडा नं १, २, ४, ५, २८ र ११ मा समस्या दिँदै आएको छ । यस वर्ष वर्षा शुरु नहुँदै यो क्षेत्रमा खोलाले समस्या दिन थालिसकेको थियो । तत्कालको समस्या समाधानका लागि खोलालाई गहिरो बनाउने काम गरे पनि दिर्घकालीन समस्या समाधानका लागि संघीय सरकारको पहलमा काम अगाडि वढेको भए र सो कामले पूर्णता पाउनुपर्ने वडा नं २ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए ।
महानगरको डुवानको समस्या भोग्ने अर्को स्थान हो नयाँ वसपार्क वरिपरिको क्षेत्र । काठमाडौं महानगरपालिकाको वडा नं ३, १६ र २६ मा पर्ने उक्त स्थानमा सामाखुसी खोलाले डुवानको समस्या निम्त्याउने गरेको छ । दिगो रुपमा समस्या समाधानका लागि महानगर समक्ष तिनवटै वडा कार्यालयले सुझाव पेश गरेको भएतापनि विभिन्न जटिलताका कारण समाधान हुन नसकेको बताउँदै वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले सरोकारबाला निकायसँग समन्वयन गरिरहेको जानकारी दिए ।
हरेक वर्ष एउटै समस्या हुने गरेका क्षेत्र बाहेक गत वर्ष अप्रत्यशि रुपमा काठमाडौं महानगरपालिकाको वडा नं १४ ले पनि वाढीको समस्या सामना गर्नुपरेको थियो । गतवर्षको आपतकालीन विपतलाई स्मरण गर्दै वडा नं १४ को अध्यक्ष सोभा सापकोटाले सुरक्षात्मक उपायका कारण यो वर्ष सुरक्षित रहेको बताइन ।
अव्यवस्थित सहरीकरण र भएका खोलानालाहरु मिचेका कारण हरेक वर्ष यस्तै किसिमका समस्या झेल्नु परेको सहरी विकासविद् जनकराज दहालले बताए ।
भत्तपुरको हनुमन्ते खोलामा आएको बाढीले आसपासका वस्ती हरेक वर्ष डुवानमा पर्ने गरेका छन् । तर, यस वर्ष भने करिडोर बनिसकेको ठाउँमा बाढी नपसेको र बन्न बाँकी ठाउँमा मात्र छिटफुट बाढी पसेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पान्डेले दावी गरिन् ।
त्यस्तै भक्तपुरको चागुनारायणलगायतका अन्य ठाउँहरुमा पहिरोकोसमेत जोखिम देखिएको छ । त्यो क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई अर्लट बस्न आग्रह गरिनुका साथै आफ्ना विपद् टोली खटाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।
काठमाडौ उपत्यकाको पनि करिडोर आसपासका बस्ति डुवानमा परेका छन् । उपत्यकमा कुनै पनि क्षति हुन नदिनको लागी सबै पालिका प्रहरी तयारी अवस्थामा रहेका र करिडोर क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नेसम्मको तयारी गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले बताए ।
त्यस्तै, निरन्तरको वर्षाले आएको बाढी तथा पहिरोबाट सुदुरपश्चिमका पहाडी जिल्ला पनि प्रभावित बनेका छन् । विशेषगरी सुदुरपश्चिमका दार्चुला, कञ्चनपुर, बझाङ, बाजुरा र डोटी जिल्ला बढी प्रभावित छन् ।
असार १५ गते बाढीले बगाएर २ जनाको मृत्यु भएको, दार्चुलामा पुनः सोमबार पहिरोमा पुरिएर २ जनाको र हिजो बिहान थप दुईको मृत्यु भएको थियो भने तीन जना घाइते भएका छन् । आज दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीमा घर माथिबाट खसेको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको र तीन जनालाई घाइते अवस्थामा उद्धार गरी हेलिकप्टरमार्फत् नेपालगञ्ज उपचारका लागि लगिएको दार्जुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।
त्यस्तै, निरन्तर भइरहेको वर्षाका कारण कञ्चनपुरका सहरी क्षेत्र डुबानमा परेका छन् भने ग्रामीण क्षेत्रमा कटान भइरहेको छ । कञ्चनपुर बेलडाँडीका क्षेत्र बैबाह, झिलमिला, खैरीघाट, रतनपुर, भीमदत्त नगरपालिका–४, महेन्द्रनगर बजारसहित, ऐठपुर–१८ सालघारी, खैरभट्टी आसपासका क्षेत्र डुबानमा परेका छन् । त्यहाँका महाकाली, दोदा नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका स्थानीय त्रसित भएका छन् ।
सुदुरपश्चिमको पहाडी जिल्ला बझाङ पनि पहिरोको उच्च जोखिम भएको जिल्लामा पर्दछ । त्यहाँ असार १९ गते आएको निरन्तर वर्षाले पहिरो जाँदा ६ जनाको मृत्यु भएको थियो भने एक जना वेपत्ता भएका थिए । अहिले त्यहाँको अवस्था समान्य रहेको र आगामी जोखिमलाई मध्यनजर गर्दै पूर्ण तयारी अवस्थामा रहेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा पनि बाढी पहिरोले वितण्डा मच्चाएको छ । जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौंको क्षति भएको छ भने हजारौं परिवार विस्थापित भएका छन् । त्यहाँका विभिन्न ठाउँका सडक जोड्ने पुल भत्किँदा यातायात सेवा नै ठप्प रहेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए ।
यस्तै, डोटीमा सेती नदीको कटानले वर्षेनी जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा पर्ने गरेका छन् । सेती नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण त्यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रासपूर्ण जिवन विताउन बाध्य छन् । डोटीमा अहिले सामान्य वर्षा भइरहेकाले अप्रिय घटना नभएको र पूर्वतयारी अन्तर्गत सम्पूर्ण सुरक्षा नियकायहरुलाई उच्च सर्तकताका साथ परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताएका छन् ।
डोटीमा बाढी पहिरोमा परी चालु आर्थिक वर्षमा एक ६ महिने बालकको ज्यान गइसकेको छ । भने लगातारको वर्षातका कारण त्यहाँका दजनौं ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षायाम सुरु भएसँगै सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हरेक वर्ष बाढी पहिरोले ठुलो जनधनको क्षति हुने गरेको छ । भौगोलिक अवस्थिति, अस्तव्यस्त बसोबास र विपद जोखिम रोकथाम तथा न्युनीकरणका लागि प्रयाप्त काम हुन नसक्दा वर्षेनी मनसुनका बेला सुदुरपश्चिम प्रदेशका जनताले ठुलो मात्रामा सास्ती खेप्दै आएका छन् ।
प्रतिक्रिया