मंगलबार, वैशाख ४, २०८१

त्रासैत्रासमा यात्रा, सवारी रित्तै

नेपालखोज २०७७ साउन ८ गते १४:५८

काठमाडौं । गत चैत्र ११ गतेदेखि गरिएको लकडाउनले पुर्ण रुपमा बन्द रहेको सार्वजनिक यातायत आजदेखि पूर्णरुपमा संचालनमा आएका छन् । साउन १ गतेदेखि केहि यातायात फटफुटरुपमा संचालनमा आए पनि आजदेखि भने सार्वजनिक यातायात पूर्णरुपमा संचालनमा आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी आजदेखि नियमित सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर व्यवसायीहरुले भने स्वास्थ्य सतर्कता सम्वन्धी निश्चित मापदण्ड र तयारी बिना सवारी नचलाउने भन्दै यातायात सञ्चालन गर्न आनाकानी गर्दै आएका थिए । आजदेखि सार्वजनिक यातायत पूर्णरुपमा संचालनमा आए पनि यात्रुको संख्या न्यून रहेकाले दिनभरीको तेल र कर्मचारीको खर्च धान्नसम्म नसक्ने व्यवसायीमा चुनौतीको आएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

सार्वजनिक सवारी साधान आजदेखि संचालनमा आए पनि यात्रुहरु भने सार्वजनिक सवारी चढ्न डराएको देखिन्छ । लामो समयसम्मको कोरोनाको त्रासले सार्वजनिक सवारी चढि हाल्दा कोरोना संक्रमण हुने पो हो, कि भन्ने त्रासले पनि यात्रु सार्वजनिक सवारी चढ्न आनाकानी गर्न थालेका छन् ।

यो अवस्थामा सरकारले पनि विभिन्न जनचेतना मुलक सूचना दिएर यात्रुहरुलाई सहजरुपमा सार्वजनिक सवारी चढ्न सक्ने वातावरण बनाउनु पर्ने व्यवसायीको भनाइ छ । तर स्वास्थ्य मन्त्रालयले सार्वजनिक सवारी साधनमा चढ्न जोखिम छ भन्ने दिएको अभिव्यक्तिले पनि यात्रुहरु सार्वजनिक सवारी चढ्न हिचकिचाइ रहेको महासचिव सिटौलाले बताएका छन् ।

आजदेखि छोटोदूरीका सार्वजनिक सवारी संचालनमा आइरहदाँ स्वास्थय सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर भदौ १ गतेदेखि लामो दूरीका सवारी पनि संचालन गर्ने यातायात व्यवसायीले बताएका छन् । सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरिसकेको छ । यो अवस्थामा सार्वजनिक सवारी पनि संचालनमा आउँदा मानिसको भिडभाड बढेर नेपालमा कोरोनाले महामारीको रुप लिन सक्ने भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा कोरोनाको संक्रमण समुदाय स्तरसम्म फैलिएको हुनसक्ने आशंका गरिएको अवस्थामा यसरी एकै पटक सार्वजनिक यातायात सञ्चालनमा आउँदा संक्रमणको जोखिम अझ बढ्ने जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेले बताए । नेपालमा कोरोनाको जोखिम बढेको बेला एकै पटक संचालन गर्नु भन्दा चरणबद्ध रुपमा सवारी सञ्चालन गर्दा उपयुक्त हुने उनको बुझाइ छ ।

सरकारले असार २५ गते सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । ट्याक्सी बाहेक सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि गर्न सरकारले भनेको छ । तर, कतिपय सवारीले मनमानी यात्रु हालेको र भाडा पनि ५० प्रतिशत बढाएर पनि लिएको जनगुनासोहरु पनि आइरहेका छन् ।

सार्वजनिक यातायात संचालनमा आउँदा एकातिर यात्रामा सास्ती खेप्दै आएका सर्वसाधारणलाई यात्रामा सहजता मिलेको छ भने अर्कोतिर व्यवसायीलाई केहि राहत मिलेको छ । यो अवस्थामा सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै चालक, सह–चालक र यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि चरणबद्ध रुपमा सवारी सञ्चालन गर्नसके उपयुक्त हुनेछ ।

प्रतिक्रिया