शुक्रबार, वैशाख १४, २०८१

शैक्षिक क्षेत्रले गति लिँदै

नेपालखोज २०७७ साउन ९ गते ११:१८

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि करिब चार महिनादेखि घोषणा गरेको लकडाउन खुला गरेसँगै शैक्षिक क्षेत्रले गति लिने भएका छन् । गत चैत्र ११ गतेदेखि देशभरका शैक्षिक संस्था ठप्प थिए ।

जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि राष्ट्रिय परीक्षा बोर्डले पनि यसको गृहकार्य शुरु गरेको छ ।

कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने आन्तरिक तयारीमा बोर्ड जुटिसकेको छ । परीक्षा संचालनका लागि कसरी सामाजिक दुरी कायम गराउने र विद्यार्थीलाई कसरी सहज वातावरण बनाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको माध्यमिक शिक्षा परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले बताएका छन् ।

कक्षा ११ को आन्तरिक मूल्यांकन गर्ने अधिकार विद्यालयलाई दिइए पनि कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले जाँच लिनैपर्ने बाध्यता रहेको छ । गत बैशाखमा परीक्षा लिने योजना बनाएको बोर्डले प्रश्नपत्र छपाईलगायत अन्य काम भने सकिसकेको छ । अब प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित सेन्टरमा पुर्याउन र परीक्षा लिन मात्रै बाँकी रहेको बोर्डका परीक्षा नियन्त्रक शर्माको भनाई छ ।

लकडाउन हटेसँगै परीक्षा लिने बोर्डको निर्णयको विधार्थी शिक्षकलगायत सम्पूर्ण सम्बन्धित पक्षले स्वागत गरेका छन् । यो तह पास गरिसकेपश्चात् विश्वविद्यालयमा प्रवेश गरिने हुँदा परीक्षा लिने निर्णय सही भएको एन प्याव्सनका अध्यक्ष टीकाराम पुरीले बताए ।
यस वर्ष नियमिततर्फ करिव ३ लाख १० हजार र आंशिकतर्फ १ लाख २१ हजार २ विद्यार्थीहरुले कक्षा १२ को परीक्षा दिँदैछन् ।

कारोना महामारीको त्रास र लामो समयको लकडाउनले विद्यार्थीहरुलाई मानसिक रुपमै असर पारेको र अहिले विद्यार्थीमा पढाइप्रति खासै लगाव नभएकोले केही नतिजामा केही असर पर्ने टेक्सास कलेजका शिक्षक नारायण पोखरेले बताएका छन् ।

कोरोनाको महामारीका बिचमा परीक्षा संचालन गर्नु विद्यालयलाई चुनौतीको विषय बनेको छ । एकातिर महामारी फैलेने डर र अर्कातिर परीक्षा गर्नैपर्ने बाध्यताका बिच माध्यमिक परीक्षा बोर्ड रहेको छ । परीक्षा लिने निर्णयले अन्यौलमा रहेका झण्डै साढे चार लाख विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुमा भने खुसि छाएको छ । तर कारोना संक्रमण जोखिम अझै टरिनसकेकाले सजग रहन आवश्यक छ ।

प्रतिक्रिया