नागपञ्चमीकाे महिमा
काठमाडौं । आज नागपञ्चमी । अर्थात् प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने विशेष पर्व । आज देशैभर घरको मूलढोकामा नागको चित्र अथवा प्रतिमा स्थापित गरी पूजा गरिन्छ ।
नागपञ्चमीका दिनमा नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट एवं शंखनागलाई सम्झिएर दूध, दही, अक्षता, फूल, दूबोले पूजा गरी विभिन्न नैवेद्यहरु अर्पण गरिन्छ ।
महाभारत, पुराण, स्वस्थानीजस्ता धार्मिक ग्रन्थमा पनि यिनीहरुको छुट्टाछुट्टै भूमिका भएको बताइएको छ । नागपञ्चमी, शिवरात्री, अक्षयतृतीया, तीज आदि चार्डपर्व यही परम्परागत नियमका धार्मिक संस्कार हुन् । चार्डपर्वले अध्यात्मिक शरीरको वृद्धि र विकास गर्न सहयोग र्पुयाउँछ । पञ्चमी तिथिमा नागको पूजाआजा गरिने भएकोले नागपञ्चमी भनिएको हो । नाग शब्दले धेरै अर्थ बुझाउँछ । माथिल्लो अंग महिला र तल्लो अंग नागको शरीर भएकोलाई धर्मशास्त्रमा नागनागिनी भनिन्छ । संस्कृत–नेपाली शब्दकोशमा उल्लेख गरिए अनुसार मूगाझैं रातो वा हलुका बदामी रंगको शरीर, कालो टाउको, एक आँखादेखि अर्को आँखासम्म सेतो धर्काे हुने अति विषालु सर्प हो । यी गोमन, राजगोमन, करेत भन्दा पनि अति विषालु हुन्छन् । तर यिनीहरुलाई कुल्चँदा पनि झट्ट टोक्दैनन् । नाग शब्द विभिन्न वनस्पतिमा उपसर्गका रुपमा जोडिएको पाइन्छ, जस्तो कि नागकन्द (तरुल), नागकुमारिका (गुजो, मजिठो), नागकेशर (नायसर), नागदन्ती (कुकुरडाहिनो, तीतेपाती), नागफल (परवल) आदि ।
इन्द्रियहरुद्वारा पनि जान्ने बुझ्न नसकिने, ब्रमाण्डका उत्पत्ति र लयकर्ता, सबैका अभिभावक इश्वर हुन् । इश्वर समष्टि र व्याष्टिरुपमा छ, व्यक्त र अव्यक्त स्वरुपमा छ । ऊ सर्वशक्तिमान सबैलाई जान्ने, जगतकै मालिक हो । हरेक धर्म सम्प्रदायका मानिसले आ–आाफ्नै मान्यताअनुसार ईश्वरको पूजा, उपासना र ध्यान गर्दछन् । इश्वरको आराधना, पूजाकर्म र सनातन संस्कार पूरा शरीरसित सम्बद्ध छ । बिहानबेलुकी गरिने कर्महरु बिहानै उठ्नु, प्रातःस्नान गर्नु, ध्वनि निकालेर आराधाना गर्नु वा प्रार्थना गर्नु, शंखघण्टा बजाउनु, धूपदीप बालेर सुगन्धित बनाउनु यी सबै स्वस्थ्य रहने उपाय हुन् । नाग पूजा पनि पूरापूर विज्ञानमा आधारित छ । सर्प अर्थात् नाग खानेपानीका मुहान जस्तैः कुवा, पँधेरो, धारो, इनार आदिमा तथा जलयुक्त धापिलो, ओसिलो, रसिलो स्थानमा (सीमसार) देखिन्छन् पूजा यिनै ठाउँमा गरिन्छ, जहाँ यिनीहरुको वासस्थान हो । पूजा गर्नु मन प्रसन्न पार्नु एक पक्ष हो भने सरसफाई आरोग्य, अनुशासन र दार्शनिकता अर्काे पक्ष हो ।
नागस्थानमा फोहोर गर्नु हुन्न, दिसापिसाब गर्नु हुन्न, पाप लाग्छ भन्नुको अर्थ रोग लाग्छ भनिएको हो । खानेपानीका मुहानहरु सधैँ सफा रहनु आवश्यक छ । यी पानीका स्रोत प्रदूषित भएमा महामारी फैलन सक्ने खतरा हुन्छ । त्यसरी नै नागस्थान वरपर रुखहरु पनि काट्न हुन्न भन्नुको अर्थ वनजंगल जोगाउने, पानीका स्रोत सदाबहार राख्ने उपाय पनि हुन् । यसैले पनि हाम्रा ऋषिमुनिहरुले परापूर्वकालदेखि नै नागपूजाको प्रचलन चलाएका हुन् । जति पनि रुखबिरुवाका पूजाका प्रसंग छन्, यी सबै पर्यावरणीय संरक्षणसित जोडिएका छन् । रुख पानी अड्याउने प्रमुख स्रोत हो । खेत, जंगल, चिसो भूमि, तालतलैया, पोखरी चट्टान, खाली जमीन, निर्माणाधीन भवन आदि स्थानमा सर्पहरु बस्ने गर्दछन् । यिनीहरु दुलोमा बसे पनि आफूले दुलो भने बनाउँदैनन् । सर्पको शारीरिक तापक्रम मानिसको जस्तो जाडो या गर्मी क्षेत्र जहाँ रहे पनि बराबर रहने खालको हुँदैन । वर्षायाम सर्पको लागि उपयुक्त समय हो किनकि यस समयमा किरा, भ्यागुताजस्ता खानेकुरा प्रशस्त मात्रामा पाउँदछन् ।
ज्योतिषविज्ञानमा पनि नाग शब्द निकै प्रयोग भएको पाइन्छ । पञ्चाङ्गको एक अंग करण हो । नाग करणमा जन्मेको व्यक्ति दुष्ट स्वभाव, कुलद्रोही हुन्छ । त्यसरी नै प्रत्येक वर्ष १२ वटा नागमध्ये एउटाको पालो परेको हुन्छ । कुन वर्ष कति मात्रामा वर्षा हुन्छ भन्ने कुरा कुन नागको पालो परेको त्यसको आधारमा हुन्छ । गृह निर्माण गर्दा नागको शिर हेरेर जग खन्ने काम हुन्छ । जग खन्दा नागको शिरमा पारेर खन्नु हुँदैन्। भदौ, असोज, कार्तिकमा पूर्व, मंसिर, पुस, माघमा दक्षिण, फागुन, चैत र वैशाखमा पश्चिम र जेठ, असार, श्रावणमा नागको शीर उत्तर दिशामा रहन्छ । त्यसरी नै नागपञ्चमी साउनमा पर्ने भएको नागको पूजा गर्दा उत्तरतर्फ फर्केर गर्नुपर्ने धर्मशास्त्रले बताएको छ । कालसर्प योग परेका व्यक्तिले नागको लकेट धारण गर्ने र नागपञ्चमीको दिनमा नागपूजा गर्ने परम्परा पनि रहेको छ । शास्त्रअनुसार श्रावण महिनामा शिवको पूजा आराधना र सोमबारको व्रतको महत्व छ । यसबाट धर्म, अर्थ, काम र मोक्ष पाइने मान्यता छ ।
कर्कट राशिको सूर्य भएका बेला श्रावण शुक्ल तृतीया र सोमबार परेमा त्रिवेणी योग हुन्छ । यस अवस्थामा शिवपूजन, रुद्री आदि गरेमा गौरीशंकर प्रसन्न हुन्छन् भन्ने कुरा पञ्चाङ्गमा उल्लेख छ ।
पौराणिक कालदेखि नै मानव जातिको पशुपंक्षीसित घनिष्ट सम्बन्ध रहँदै आएको छ । उड्ने पंक्षीहरुदेखि लिएर हिँडने, घिस्रने(सरीसृप) जीवहरुसँग हाम्रो अन्तरसम्बन्ध निकै नै छ । हजारौं जंगली जनावरहरुमध्ये केही घरपालुवा (कुखुरा, परेवा, हात्ती, घोडा, कुकुर आदि) बनिसकेका छन् यतिसम्म कि हिंस्रक जनावरहरुलाई पनि आफ्नो अधीनमा राखेर मान्छेले फाइदा लिइरहेका छन् । कतिपय जीवहरुलाई चिडियाखानामा राखेर, केहीलाई घरमै पालेर पनि आफ्नो सोख मेटाएका छन् । आफ्नो बुद्धिमताको कारण हात्तीजस्तो भीमकाय शरीर भएकालाई पनि वशमा राखेर मानव जाति मनोरञ्जनमा रमाइ रहेको छ । चाहे जल–स्थलमा बस्ने गोहीका कुरा गरौं या सर्पका । यसबाट विभिन्न प्रकारले फाइदा लिइराखिएका कयौं उदाहरणहरु पाइन्छन् ।
सर्प तीमध्ये एक हो । विश्वमा पाइने धेरै प्रकारका जीवलगायत सर्प पनि मानव जातिकै नियन्त्रणमा छ । शरद ऋतुमा कुकुर, काग, गाईजस्ता यी प्राणीहरुको महिमा बेग्लै छ । त्यसरी नै सर्पलाई पनि सनातन धर्माबलम्बीहरुले उत्तिकै महत्व दिएका छन् । तिहार पर्वमा नाम जोडिएजस्तै सर्प (नाग) पनि यस्तै चार्डपर्वसित सम्बद्ध छ । अन्य जीवभन्दा सर्पको शरीर फरक खालको छ । मांसाहारीअन्तर्गत पर्ने यो जीवको शरीर लठ्ठाकारका हुन्छन् । सामान्यतः यिनीहरुको शरीर एक मिटरसम्मको हुन्छ । तर अजिंगर भने धेरै लामो हुन्छ । विश्वमा करीब ९ सय प्रजातिका सर्पको अभिलेख राखिएको छ । यसमध्ये ७ सय ५० प्रजातिका सर्प विषालु मानिएका छन् । सर्प सामाजिक, धार्मिक र साँस्कृतिक रुपमा विभिन्न पक्षसित जोडिएको छ । सबै प्रकार मानव जाति एकै प्रकार हुँदैनन् । कोही सन्तमहन्त, कोही दानवीय स्वभाव, कोही दयालु प्रकृतिका मानव हुन्छन् भनेझैं सर्पहरु पनि त्यस्तै हुन्छन् । यिनीहरुको स्वभाव लज्जालु प्रकृतिको हुन्छ । एकाथरी सर्प यस्ता छन्, जसलाई नाग भनेर सम्बोधन गरिन्छ र यिनीहरुलाई श्रावण शुक्ल पञ्चमीमा पूजा गरिन्छ । यसै दिनलाई नागपञ्चमी भनिन्छ । नाग जीव हो भने पञ्चमी चन्द्रमाको कला । चन्द्रमाले पृथ्वीलाई फन्को मार्ने क्रममा केही अंशमात्र हँसियाकारमा चन्द्रमा देखापर्दछ । यो खगोल विज्ञान हो ।
वर्ष दिनको एकपटक घरघरमा नागको चित्र टाँसेर होस् या नागअंकित शीलामा पूजाआजा गरेर होस् नागपञ्चमी मनाइने गरिन्छ । कलश, दही, दूबो, कुश, सिन्दूर, ध्वजा, गन्धादिले मूलद्वारमा नागको पूजाअर्चना गरिन्छ । चित्रमा ८ प्रकारको एकापसमा बटारिएका अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा हुन्छ । धार्मिक मत अनुसार ढोकामा चित्र टाँस्दा सर्पको भय नहुने, चट्याङ्ग नपर्ने र बाढीपहिरो जाँदैन भन्ने विश्वास छ । प्राचीनकालमा नागनागिनी यक्ष (धनको रक्षा गर्ने देवता) गन्र्धव (गानबजान गर्ने व्यक्ति), किन्नर ९ सुन्दर आकृति भएका व्यक्तिको चर्चा हुने गर्दथ्यो ।
पर्यावरणीय महत्व
सर्प(नाग) पर्यावरणका अभिन्न अंग हुन् । पर्यावरणविद् गिबोसले भनेका छन्, सर्पहरु स्वच्छ वातावरणका प्रतीक हुन् । यिनीहरु स्वयम् इकोसिस्टमका महत्त्वपूर्ण पूरक तत्व हुन् । खाद्यशृंखला अन्तर्गत यिनीहरु एक अर्काका शिकारी र आहारा दुवै हुन्, जस्तो कि मूसाहरुलाई सर्पहरुले खाइदिन्छन् र यिनीहरुलाई बाज, न्याउरीमूसा, गरुड आदिले खाइ दिन्छन् हाम्रा धानखेतमा धान खाएर नोक्सान गरिदिने मूसा र किरा नियन्त्रणमा सर्पको भूमिका प्रभावकारी छ । यी खाद्य शृंखलाका एक सदस्य हुन् सर्पबाट मूसा र किरा नियन्त्रण गर्ने विधि सजिलो, भरपदो, कम खर्चिलो र प्राकृतिक उपाय पनि हो । उब्जनी बढाउन सर्प खेतबारीमा हुनु आवश्यक हुन्छ । यसको लोप भएमा मूसा, छेपाराजस्ता जीवहरुको संख्यात्मक रुपले वृद्धि हुन्छ, साथसाथै सर्पमा निर्भर रहने पंक्षीहरुको संख्या घट्न जान्छ । अन्तमा खाद्य शृंखलामा गभ्भीर रुपले असर पर्न जान्छ । तसर्थ वातावरणीय अवस्था सन्तुलन राख्न सर्पको ठूलो भूमिका रहँदै आएको छ । त्यसकारण भन्न सकिन्छ– नागपञ्चमी पर्यावरणीय विज्ञानसित जोडिएको छ ।
प्रतिक्रिया