वाईफाईको पासवर्ड के हो ?
वाईफाईको पासवर्ड के हो ? हरेक नयाँ ठाउँमा पुगेपछि सोधिने पहिलो प्रश्न हो यो । मोबाइल मानिसको एउटा शरीरको अंग जत्तिकै भइसक्यो । बालकदेखि वृद्धवृद्धासम्मलाई मोबाइल अनिवार्य भइसकेको छ । एउटा बालकलाई मोबाइल तथा टिभी नहेरी खाना रुच्दैन । रुँदा फकाउने साधन पनि मोबाइल नै बनेको छ । बृद्धबृद्धालाई पनि सामाजिक सञ्जाल चलाउने बानी लागिसक्यो । अचेलका युवाको त कुरै नगराैं मोबाइल भएन भने उनीहरुको त श्वास पनि चल्दैन ।
संसारका ६० प्रतिशतभन्दा बढी मानिसहरुले अहिले सामाजिक सन्जालको प्रयोग गरिरहेका छन् । सवैजना यसको चपेटामा यसरी परिसकेका छन् कि, त्यहाँबाट निस्कन असम्भव जस्तो भइसकेको छ । मोबाइल त संसारको हरेक कुनामा पुगिसकेको छ । यो यस्तो चिज बनिदियो जुन बिना जीवन धान्न मुश्किल छ । पहिले मानिसहरु सानो खबर पुर्याउन कति दिन हिँड्नुपर्थ्याे, जुुन एकदम कठीन थियो । तर, अहिले त संसारको जुुनसुकै कुनाको मानिससँग हेराहेर गरेर कुरा गर्ने दिन आइसक्यो ।
यसले जीवन सहज बनाएको छ । इन्टरनेटको माध्यमबाट संसारमा भइराखेका हरेक कुरा थाहा पाउन सकिन्छ । राम्रा कुरादेखि खराब कुरासम्मको जानकारी पाउन सकिन्छ । कतिले त इन्टरनेटको सहायताले निकै प्रगति पनि गरेका छन् । कसैले भने यसैको कारणले जीवन बर्बाद पारेका छन् । मोबाइल धेरै चलाउनु पनि एउटा कुलत नै हो । सात, आठ कक्षादेखि नै विद्यार्थीले मोबाइलको माग सुरु गर्छन् । दस कक्षा सकेपछि त झन जसरी नि चाहिन्छ । घुर्क्याएर हुन्छ कि के गरेर हुन्छ आफनो अभिभावाकलाई मोबाइल दिन बाध्य बनाउछँन् ।
सामाजिक सञ्जालमध्ये धेरै नै प्रयोग हुने फेसबुक हो । संसारका अधिकांश मानिसले फेसबुकको प्रयोग गरेको देखिन्छ । यो एउटा मनोरञ्जन अनि पुराना यादहरु ताजा गर्न मद्धत पुर्याउने स्रोत बनेको छ । यसको सहायताले हामी हाम्रा गतिविधिहरू तस्वीर तथा भिडियाे अनि आफ्ना विचारहरू सँगालेर राख्न सक्छौँ । साथीहरुसँग कुराकानी गर्न सक्छौँ । पुरानादेखि नयाँ साथी तथा आफन्तहरुका बारेमा फेसबुकको सहायताले थाहा पाइराख्न सक्छौँ । तर, विज्ञानको यो वरदानलाई मानिसले आफैं स्रापमा बदलेका छन् । कतिको जीवनमा फेसबुक बर्बादीको कारक बनेको छ । आज यसले समय बर्बाद गर्ने काम धेरै गरेको छ । एउटा फोटो हालेपछि हरेक पाँच मिनेटमा कति लाईक आयो कति कमेन्ट आयो भन्ने खुल्दुली हरेकमा हुन्छ । अनि साथीलाई म्यासेज पठाएर कतिखेर रिप्लाई आउँछ भन्दै कुरेर हामी हाम्रो महत्वपूर्ण समय खेर फालिराखेका हुन्छौं । यति मात्र होइन, कुनै अञ्जान व्यक्तिसँग फेसबुकमार्फत् चिनजान हुन्छ, कुराकुरामा माया बसेको थाहा नै हुँदैन । कतिको त राम्रो भएको पनि सुनेका छौं । तर, धेरैको फेसबुकको प्रेम टिकेको छैन । यसको सहायताबाट अश्लिल फोटो, भिडियोहरु पनि फैलिने गर्छ । जुन पीडा सहन नसकेर धेरैले आत्महत्या पनि गरेको पाइन्छ ।
एउटा युवालाई आफनो पढाइ, क्षमता र भविष्यको बारेमा नभई फेसबुकको म्यासेज, लाइक, कमेन्ट र स्टाटसको चिन्ता भइराखेको हुन्छ । आफ्ना आमाबुबाको जन्मदिन याद नहुनेले साथीको जन्मदिनमा भने राती १२ बजेसम्म बसेर फेसबुकमा पोस्ट गर्छन् ।
फेसबुक त एउटा पाटो मात्रै हो । अरु पनि थुप्रै सामाजिक सञ्जालको जालमा मानिस परेका छन् । खासगरी टिनएजरमा एक्लोपन महसुस हुने, सबैदेखि रिस उठ्ने, नराम्रो भाव उत्पन्न गराएको छ ।
अहिलेको एकाइसौं शताब्दीको बढ्दो व्यस्तताका कारण सबैजसो अभिभावक व्यस्त हुन्छन् र आफ्नो सन्तानप्रति ध्यान दिन पाएका हुँदैनन् । घरका सबै सदस्यहरु आफ्नो–आफ्नो काममा यति व्यस्त हुन्छन् कि सबैजना सँगै बसेर खाना खाने समय पनि हुँदैन । टिभी मोबाइल साथमा भयो भने खाना सजिलै रुच्छ ।
पहिला पहिला मानिसका धेरै सन्तान हुन्थे । उनीहरुको बाल्यकाल सँगै खेलेर, रमाइलो गरेर बित्थ्यो । अहिले त मानिसको मुश्किलले दुई या तीन सन्तान हुन्छन् तर सबै आफ्नो दुनियाँमा यति मस्त हुन्छन् । न त एक अर्काको बारेमा मतलब नै हुन्छ । सामाजिक सञ्जालले सबैलाई भुलाएको छ । सबैजना नयाँनयाँ साथीहरु बनाउछँन् तर नजिकको तीर्थ हेला भने झैं दाजु, भाइ, दिदी, बहिनीका लागि कसैलाई समय नै हुँदैन ।
दिनमा करिब एक घन्टा हरेक अभिभावकले आफ्नो सन्तानलाई समय दिने र सबैजना बसेर आफ्नो दिनभरीका अनुभव एक अर्कालाई सुनाउने गर्दा थोरै भएपनि यो समस्याकोसमाधान हुन्थ्यो कि ।
प्रतिक्रिया