मंगलबार, वैशाख ३०, २०८२

हुम्लाका ५१ स्कुलमा पढाइ सुचारु

नेपालखोज २०७७ साउन २० गते १५:१२

हुम्ला । नेपालमा कोरोना भाइरस संक्रमण फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ देखि देशमा लकडाउन जारी भयो । त्यसक्रममा सम्पूर्ण क्षेत्र पूर्णरुपमा ठप्प रहे । लामो समयसम्मको लकडाउनले नागरिकको जनजिवन कष्टकर बन्न थालेपछि असार १ गतेदेखि केही खुकुलो पारिएको लकडाउन साउन ६ गते मध्यरातिदेखि पूर्णरुपमा खुल्ला भएको सरकारले घोषणा गरेको थियो ।

लकडाउन खुला भएसँगै सम्पूर्ण क्षेत्र चलायमान भएका छन् तर शैक्षिक क्षेत्र भने अझै संचालनमा आउन सकेका छैनन् । तर, हुम्ला जिल्लाका तीन गाउँपालिकाका ५१ विद्यालयहरूमा हाल पठनपाठन सुचारु गरिएको छ ।

हुम्ला जिल्ला अहिलेसम्म ग्रीनजोनमा परेको छ । जिल्लामा बाहिरका मान्छे आउनेजानमा रोक लगाइएको छ । जसले गर्दा गाउँपालिकामा कोरोनाको जोखिम न्यून देखिएकाले विद्यालय खोल्ने निर्णय गरेका छन् । त्यहाँका विद्यार्थी, अभिभावक र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अध्यापन गराउन सहमत भएपछि हाल विद्यालय संचालन गरिएको र हाल गाउँपालिका भित्रैका बालबालिकालाई मात्र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अध्यापन भइरहेको हुम्लाको नाम्खा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए ।
जिल्लामा बाहिरका विद्यार्थीलाई पनि विद्यालय प्रवेश गर्न दिइएको छैन । स्थिति सामान्य भएपछि उनीहरुलाई पनि पठनपाठनमा समेल गराउने तर अहिले बाहिरी जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले अहिले पठनपाठनमा सामेल नगराइएको उनले बताए ।
हुम्लाका ताँजाकोट गाउँपालिका, नाम्खा र खार्पुनाथ गाउँपालिका करिब ५१ विद्यालयमा पठनपाठन सुरु भएको हो । हाल १७ वटा विद्यालय संचालनमा ल्याएको खार्पूनाथ गाउँपालिकामा क्वारेन्टाइन बनाइ प्रयोगमा ल्याइएका सम्पूर्ण विद्यालयहरुलाई निर्मलीकरण गरेर पठनपाठन सुचारु गरिएको खार्पूनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् ।

हाल देशका अधिकांश विद्यालयलाई क्वारेन्टाइन बनाइ प्रयोगमा ल्याइएका छन् । जसमा सुदूरपश्चिम प्रदेशका १ हजार ८ सय २५, प्रदेश ५ का ८ सय ८५, कर्णाली प्रदेशका ५ सय ३३, प्रदेश २ का ४ सय ३८, गण्डकी प्रदेशका ३ सय ८७, वाग्मती प्रदेशका २ सय ३० र प्रदेश १ का २ सय २४ विद्यालय छन् ।

हुम्ला जिल्ला कोरोनामुक्त जिल्ला हो । गाउँपालिकामा बाहिरी जिल्लाबाट प्रवेश गर्ने सम्पूर्ण नाकाहरु बन्द गरिएको र सामाजिक दुरी कायम गरी मास्क लगाउने, स्यानिटाइजर लगाउने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार नै विद्यालयमा पठनपाठन गरिरहेको ताँजकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए ।

सरकारले विद्यालयबाट क्वरेण्टाइन हटाउने निर्णय गर्दै भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न बाटो खोलिदिएको छ । विद्यालय आउँदा जाँदा बाटामा कस्ता सुरक्षा सावधानी अपनाउने, कक्षाकोठामा कसरी सामाजिक दुरी कायम गर्ने जस्ता कार्यढाँचा तयार पारिएको छ । तर, नेपालमा पछिल्लो समय अधिकांश लक्षणसहितका संक्रमित देखिन थालेका छन् भने दिनप्रतिदिन मृतकको संख्या पनि वृद्धि भइरहेको छ । जसले गर्दा शैक्षिक संस्था संचालन हुनेमा अन्योल कायमै छ ।

हाल कोरोना संक्रमणको उच्च जोखिम देखिएको अवस्थामा एकातिर लामो समयसम्म विद्यालय ठप्प रहेर बालबालिकाको पढाइ प्रभावित भई उनीहरुमा विभिन्न नकारात्मक असर परिरहेको छ । अर्कोतर्फ चैत बैसाखसम्म पनि विद्यार्थीको पठनपाठन पूरा हुँदैन कि भन्ने चुनौती विद्यालयहरुलाई छ । लामो समय कोरोनाको डरले घरमै बस्न बाध्य रहेका बालिबालिकालाई संक्रमणको जोखिमका बावजुद विद्यालय संचालनमा आइहाले पनि हाल आफ्ना बालबालिका विद्यालय पठाउने या नपठाउने अविभावकमा अन्योल कायमै छ ।

प्रतिक्रिया