होइन ! फुटसल भनेको फुटबल नै हो कि के हो ?
इलाम । “होइन ! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए… ए फुटसल घरभित्र पो खेलिन्छ !”, डेढ वर्षअघि इलाममा फुटसल शुरु हुँदा बहुसङ्ख्यक इलामेले राख्ने जिज्ञासाका प्रतिनिधि प्रश्न हुन् यी ।
खेलमा अन्य पूर्वी पहाडी जिल्लाको तुलनामा इलाम अगाडि नै भए पनि फुटसल भने नौलै लाग्थ्यो धेरैलाई तर अहिले ती प्रश्नको जवाफ अधिकांशले पाइसकेका छन् । त्यति मात्र होइन, धेरैले फुटसल हेरेका छन् भने केहीले खेलेका पनि छन् । छोटो समयमै इलामेलाई फुटसल चिनाउने श्रेय भने कुनै सङ्घ÷संस्था नभई एक व्यक्तिलाई जान्छ । फुटसलसँग साक्षात्कार गराउने व्यक्ति हुन् इलामे युवक रोशन राई । रोशनले नै इलाम नगरपालिका–९ मा फुटसल मैदान निर्माण गरेपछि धेरैले फुटसल नजिकबाट देखेका हुन् ।
यसरी खेल्ने योजना बन्यो फुटसल
समाजशास्त्रमा स्नातकोत्तर सक्नुभएका रोशनले चाहेको भए आफैँले पढेको ठाउँ (काठमाडौँ) मा जागिर खाँदा हुन्थ्यो भने परिवारको चाहनाअनुसार लाहुरे हुँदा पनि हुन्थ्यो । इलामको फाकफोकथुम गाउँपालिकामा जन्मिनुभएका उहाँको पारिवारिक आर्थिक स्थिति मध्यम नै भएकाले जीवन चलाउन धेरै दुःख गर्नुपर्ने थिएन । यद्यपि सानैबाट ‘नयाँ काम गर्नुपर्छ’ भन्ने सोच भएका रोशनलाई जागिरभन्दा व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।
सोच भएर के गर्नु, पढेर स्नातकोत्तर सक्दा पनि ठोस योजना बनेको थिएन । यही कौतुहलता बोकेर परिवारको सल्लाह लिन जन्मथलो फर्किनुभयो रोशन । पुख्र्यौली पृष्ठभूमि नै लाहुरे भएका रोशनलाई त्यही पेशा अपनाउन परिवारको दबाब नआउने कुरै भएन तर जति नै दबाबले पनि उनको सोच परिवर्तन भएन । काठमाडौँमा कहिलेकाहीँ खेलेको र जिल्ला (इलाम) मा नभएका कारण एक्कासि रोशनको दिमागमा फुटसल खेलको स्थापना गर्ने सोच आयो ।
जब रोशन ‘बौलाहा’ बनिए
फुटसल शुरु गर्ने योजना बनाए पनि इलामका अधिकांशले फुटसल नबुझेकाले तत्काल काम शुरु गर्ने कुरा भएन । त्यसमा पनि धेरै लगानी गर्नुपर्ने भएपछि ‘नयाँ काम’ भनेर सोचेजस्तो सजिलो भएन । जब रोशन साथीभाइसँग सल्लाहका लागि पुगे तब उनको कुरा सुनेर साथीभाइ नै ‘तीनछक’ भए ।
“सानो लगानीमा फुटसल हुने थिएन । त्यसैले साथीभाइलाई सल्लाह माग्दा बौलाहा भइस् कि क्या हो भने”, रोशनले भने , “धेरैतिर जग्गा खोज्न पनि गएँ तर कसैले दिएनन् ।” फुटसलका लागि जग्गा नपाएपछि रोशनको सोच बुझेर जिल्लाका ‘खेलप्रेमी’ले जग्गा खोजीदिने आश्वासन दिए र खोजिदिए पनि । त्यसपछि उनले पुख्र्यौली सम्पत्ति साथीभाइको ऋण मागेर गत वर्षको मङ्सिरबाट फुटसल शुरु गरे ।
रु ८० लाखको लगानी रहेको त्यही फुटसलले नै अहिले अधिकांश इलामेलीले फुटसल चिनेका छन् । यही फुटसल अहिले बच्चाका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने युवा र पाकाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ । कम जनशक्ति (दुई टिममा १० जना) र थोरै ठाउँमा खेल्न सकिने भएकाले बच्चाका लागि फुटबलको समेत ‘नशा’ मेट्ने ठाउँ बनेको छ भने युवा र पाका व्यक्तिका लागि शरीर ‘फिट’ बनाउने र मनोरञ्जन दिने ठाउँ बनेको छ फुटसल ।
एक्लो प्रयत्नबाट सफल बनेका रोशनको लगानी अहिले उठेको छैन तर अपेक्षाकृत कमाइ भने दुई÷चार महिनापछि नै दखिन थालेको छ । “लकडाउनभन्दा पहिलेका चार महिनामा चाहिँ राम्रै कमाइयो”, रोशनले भने । लकडाउनभन्दा पहिलेका महिनामा फुटसल र सँगै रहेका कम्प्युटर गेमबाट मासिक रु तीन लाखसम्म कमाइ भएको रोशनको भनाइ छ । शुरुआती लगानी धेरै भएपछि आफ्नो खटाइ धेरै नहुने र खर्च धेरै नआउनाले कमाइ राम्रै रहेको रोशनले बताए । इलाम स्पोर्ट सेन्टर नाम रहेको यस फुटसलमा अहिले कम्प्युटर गेम, चेसलगायतका गेम पनि छन् ।
“सबै किसिमका खेल भएको क्षेत्र बनाउने विचारमा छु”, रोशनले भने, “टेबलटेनिसजस्ता खेल पनि ल्याउने सोचमा छु । जग्गा अभाव भएकाले सकेको छैन् । निकट भविष्यमै आउँछ ।” अहिले रोशनले लिजमा जग्गामा लिएर थालेको यो व्यवसायका लागि मासिक रु ४० हजार खर्च आउँछ । यसबाहेक अन्य आम्दानी नाफामै गनिने भएकाले फुटसल चलाउन सहज हुँदै गएको उनको भनाइ छ । “चमेनागृहसहित अन्य खेल र फुटसलबाट एकमुष्ट मासिक रु पाँच लाख कमाउने मेरो योजना हो ।
तर अहिलेसम्म चाहिँ भएको छैन ।” रोशनले फुटसलकै कारण आफूलाई धेरैले चिनेकाले अहिले यसबाट सन्तुष्ट रहेको बताए। फुटसलप्रतिको मोह बढ्दै गएकाले कमाइ पनि धेरै बढ्ने रोशनको अपेक्षा छ । “एकैदिन चार\पाँच खेल पनि खेल्न सकिने भएकाले राम्रै चल्दैछ”, रोशनले भने, “शनिबार साह्रै धेरै चल्छ ।”
शैक्षिक ‘हब’ बनाउने सपना
स्पोर्ट्सबाट सन्तुष्ट रहनुभएका रोशनको भविष्यमा कलेज खोल्ने अर्को योजना छ । जिल्लामा प्राविधिक विषय पढाइ हुने कलेजको अभाव भएकाले व्यावहारिक शिक्षा पढाइ हुने कलेज खोल्ने सपना रहेको उनि बताउँछन् । “हाम्रो जिल्लामा होटल म्यानेजमेन्ट, बिबीएलगायतका जिल्लामा अहिले नभएका र व्यवहारिक ज्ञान दिने कलेज खोल्ने योजनामा छु ।” वैदेशिक रोजगारमा रहेका साथीसँग सहकार्य गरेर जिल्लामा नयाँ योजना भित्र्याउने रोशनको योजना छ ।
सरकारी निकायप्रति दुःखेसो
जिल्लाको पहिचान राख्न स्पोर्ट्स सेन्टरले मद्दत गरे पनि स्थानीय तह र सरकारी कार्यालयबाट सहयोग नपाउँदा मन खिन्न भएको रोशनले बताए । आफूले जिल्लालाई चिनाउने काम गरेको भए पनि सरकारी कार्यालयमार्फत सेवासुविधा र छुट नपाएको दुःखेसो रोशनको छ । “धेरै लगानी गरिएको छ ।
सरकारी सङ्घसंस्था र स्थानीय सरकारबाट पानी\बत्तीकै पनि छुट दिँदा हुन्छ नि ? ” रोशन भन्छन्, “युवा सशक्तीकरणका नाममा स्थानीय तहले साह्रै धेरै रकम खर्च गर्छन् । युवाले नै खोलेको उद्यममा चाहिँ चासो नै छैन ।” आफूले पसिना बगाएको यस क्षेत्रको विकासका लागि सम्बन्धित संस्थालाई अनुदान र छुट दिनका लागि रोशनले आग्रह गरे ।
प्रतिक्रिया