नुवाकोटमा आजदेखि लकडाउन

नेपालखोज २०७७ साउन २३ गते ८:१४

नुवाकोट। नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि आजदेखि आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ।

सङ्कट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको हो।

यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारीसाधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए।

उनकाअनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नपा. ५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टाइन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय गरिएको छ।

प्रतिक्रिया