बुधबार, वैशाख १२, २०८१

ॐकार शक्तिपीठमा हिन्दु, किराँत र बौद्ध एकैठाउँ

नेपालखोज २०७७ साउन २३ गते २२:४२

दिङ्ला, भोजपुर । भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका–१ का वासिन्दाहरुले भागवानलाई जसरी पुकारे पनि सवैका भगवान एकै हुन् भन्ने प्रमाणित गरेका छन् । भोजपुरको उत्तरीक्षेत्रमा पर्ने षडानन्द नगरपालिकास्थित सोमबारे मृगस्थलीका वासिन्दाहरुले ॐकार शक्तिपीठ स्थापना गरेर उदाहरणीय काम गरेका छन् ।

ॐकार शक्तिपीठमा हिन्दु, किराँत, बौद्ध अनि ॐकार परिवार एकैठाउँमा अटाएका छन् । सवै जातजातिका पूर्वजहरुले सनातनदेखि मानिआएका धर्महरुलाई ॐकार परिवारभित्र समेटि एक आपसमा सहिष्णुता, जातीय सद्भाव कायम गर्दै धार्मिक आस्थाका साथ विद्यमान कुरीतिलाई हटाई शक्तिपीठमा सात्विक विधिबाट पुजा गरिन्छ ।

वि.सं. २०७५ साल मंसिर १७ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा दर्ता गरिएको ॐकार शक्तिपीठमा अध्यक्षद्वय चेतनाथ गौतम र जीवन थापा रहेका छन् । शक्तिपीठ मुनाफारहित जनहितकारी संस्था हुने संस्थाका अध्यक्ष चेतनाथ गौतमले बताए । आर्थिक स्रोतका विषयमा गौतम भन्छन, ‘दान दातव्य, पुजापाठ र विभिन्न निकाय, संघसंस्था र सम्पूर्ण सदस्यता वापतको रकम नै हाम्रो आर्थिक स्रोत हो, यसैलाई परिचालन गरेर संस्था सञ्चालन गर्छौं ।’

समाजमा रहेका प्रत्येक जातजातिमा सद्भाव कायम गर्दै धार्मिक आस्था र दिनदुखीको सेवा गर्नु नै संस्थाको उद्देश्य रहेको अर्का अध्यक्ष जीवन थापाले बताउँछन् । ॐकार शक्तिपीठको उपाध्यक्षमा डम्बर राई, सचिवमा लगन राई, सहसचिवमा गणेश थापा, कोषाध्यक्षमा डम्बरबहादुर घलेका साथै सदस्यहरुमा रणबहादुर राई, बलबहादुर राई, दिपबहादुर राई, ईश्वरी घले, गोमा गौतम, जीतकुमारी राई, गणेश विष्ट, टेकबहादुर(राजेन्द्र) विष्ट र पवित्रा राई रहेको अध्यक्ष थापाले बताए ।

शक्तिपीठ उद्गमको कथा
पहिले यो शक्तिपीठ रहेको ठाउँमा मानव वस्ती थियो । पछाडि यस ठाउँमा पानीको दुःख भएकाले वस्ती हट्यो । जंगल बन्यो वस्ती । अनि त्यो ठाउँ जंगली जनावरहरुको वासस्थान बन्न पुग्यो । त्यहाँ मृगहरुको बाहुल्यता थियो । त्यसैले त्यस ठाउँलाई मृगेडाँडा पनि भनिन्थ्यो । मृगस्थली नाम रहनुको यो पनि एउटा कारण हो ।

त्यहाँ धेरै पछिसम्म एकजना कामीको घर थियो । त्यो कामीलाई पनि मानिसले मृगे कामी भन्ने गर्थे । उनको नाउमा अहिले पनि यहाँ जग्गा छ । उनी निःसन्तान भएकाले उनको जग्गा जंगलमा परिणत भएको छ । त्यही जग्गामा जोडिएको छ यो शक्तिपीठ ।

बुढापाकाको भनाइमा पहिले सिकार खेल्ने चलन थियो । सिकार खेल्न जाँदा त्यहाँ एउटा ठूलो सिङ भएको मृग भेटिन्थ्यो । त्यो मृगलाई कसैले पनि मार्न सकेका थिएनन् । मार्नलाई बन्दुक हान्दा बन्दुक नै पड्किँदैन थियो । मानिसहरु त्यता डुल्न जाँदा पनि त्यो ठाउँ हल्लिएको जस्तो, केही पड्किएर आवाज आएजस्तो सुनिन्थ्यो ।

धेरै पहिले यहाँ एक जना साधु आएर पीपलको र अमलाको फेदमा शिवको त्रिशुल र एउटा शिला राखी तपस्या गरेर १ वर्ष जति बसेको बुढापाकाहरु बताउँछन् ।

२०५५ सालतिर शक्तिपीठका अध्यक्ष गौतमले सपनामा त्यस स्थानमा शिवको बास भएको देखे । मन्दिर पनि बनाएको देखे । अनि नरहरी गौतमसँग सल्लाह गरेर एउटा समिति पनि बनाए । त्यो बेलामा विभिन्न बाधा अड्चनका कारण मन्दिर बनाउन सकेनन् । पछि सामुदायिक वन गठन भयो । वन उपभोक्ताको सभामा उनीहरुले त्यो कुरा राखेपछि सवैले उक्त कुरालाई स्वागत गरी सो स्थानलाई मृगस्थली नामाकरण गरेर धार्मिक स्थल बनाउने सहमति भयो ।

विष्णुप्रसाद गुरागाई गुरुसँगको भेट

१६ दिनसम्म केही नखाई, कोहीसँग नबोली पानीट्यांकी डाँडा(मृगस्थलीसँगैको डाँडा)मा विष्णुप्रसाद गुरागाई नाम गरेका एकजना गुरुजीले तपस्या गर्नुभएछ । तपस्याबाट उठेपछि स्थानीय छविलाल अधिकारीसँग अध्यक्ष गौतमलाई ईंगित गर्दै उहाँले भन्नु भएछ, ‘यहाँ जगतजननी माताको वास भएको देखियो, यो ठाउँमा एकजना सात्विक प्रवृत्तिका गुरु हुनुहुन्छ, उहाँलाई बोलाउनु, उहाँले पनि माताको वास भएको ठाउँमा जानुपर्छ ।’ छविलाल अधिकारीले चेतनाथ गौतमलाई गुरुले भन्नु भएको कुरा सुनाउनुभयो । गुरुसँग गौतमको चिनजान त के देखादेख पनि भएको थिएन ।

छक्क पर्दै उहाँलाई भेट्न छाविलाल र चेतनाथ गए । उहाँले मृगस्थलीबाट पल्लो डाँडामा गएर फुल चढाउन भन्नुभयो, गौतमले त्यसै गरे । त्यसपछि विष्णु गुरुले त्यहाँ ४५ दिनसम्म तपस्या गर्नुभयो । गौतम पनि दैनिक त्यहाँ पुजा गर्न जान थाले । गौतमका अनुसार पछि त्यहाँ जगतजननी माताको मन्दिर पनि बनाइयो । त्यस ठाउँमा विष्णु गुरुजी तपस्यामै रहेका बेला कुनै शक्तिले उठाएर मृगस्थलीमै ल्याउँदो रहेछ । तपस्याबाट उठेपछि गुरुले भन्नुहुन्थ्यो । विस्तारै त्यो कुरा हराउँदै गएको थियो । पछि बबिन (बालमुकुन्द गुरु) आएपछि ॐकार शक्तिपीठ निर्माण हुन गयो ।

बबिन (बालमुकुन्द) गुरु

बबिन (बाल मुकुन्द गुरु) भनेका शक्तिपीठका अध्यक्ष चेतनाथ गौतमका पुत्र हन्, उनी आफ्नो इन्जीनियरिङ अध्ययनका सिलसिलामा भारतको कर्नाटक राज्यको बेंग्लोर गएका थिए, एकदिन उनलाई भारतमै दैवी शक्ति को आभास भयो, त्यस पछि उनी पढाई सकेर भौतारिँदै आफ्नो ठाउँ फर्किए र गाउँका मानिसहरुलाई मृगस्थली डाँडामा भगवानहरु को वास भएको कुरा सुनाए त्यसपछि मृगस्थली डाँडामा मन्दिरहरु निर्माण हुन थाले ।

त्यसपछि उनी साधक बनेर चेतनाथ गौतम र विष्णुप्रसाद गुरागाई गुरुको मार्गदर्शनमा नेपालका विभिन्न ठाउँमा साधना गरिरहेका छन् ।

जगतजननी माता मन्दिर, खाँदबारी संखुवासभा, भोजपुर सदरमुकाम, विराटनगर, धिताल भिडाबारी पोखरा, बनेपा, भोजपुर मजुवाबेसीको कागुने भिर, भोजपुर छाँगे, अरुण र इर्खुवा नदीको संगम आदि ठाउँमा विभिन्न प्रकारका साधना गरिसकेका छन् । यस क्रममा कहिले महिनौं मौन व्रत, कहिले महिनौं अन्न त्याग गरी एकान्तमा बसी आराधना गरे । आराधनामा जे संकेत हुन्छ सो अनुसारको धार्मिक अनुष्ठान उनले सम्पन्न गरेका छन् । हाल उनी विभिन्न धार्मिक स्थलहरुको भ्रमण गरिरहेका छन् ।

ॐकार शक्तिपीठमा हुने तथा भएका अनुष्ठानहरुः

  • २०७१ बाट धार्मिक अनुष्ठान हुँदै आएको ।
  • २०७३ श्रावण महिनामा शिव पुराण ।
  • शिव पुरस्चरण, गायत्री पुरस्चरण ।
  • लामा गुरुहरुबाट पाठ, बुद्धको आराधना, अनुष्ठान ।
  • किराँत गुरुहरुद्वारा धर्मअनुसारको पुजा पाठ, अनुष्ठान ।
  • २०७५ मा महारुद्री र ११ लाख दिप प्रज्वलन, वनस्पतीय हवन ।
  • किराँत धर्मको चण्डी नाच, धामी बिजुवाहरुबाट पुजा आराधना ।
  • ॐकार परिवारभित्र पर्ने सबै चाडपर्वहरुमा विधिवत पुजा पाठ ।
  • कार्तिक शुक्ल द्वादशीमा तुलसी बिवाह र न्वागी खाने ।
  • तिज, शिवरात्री, बुद्ध जयन्ति, नवरात्री, उधौली, उभौली, बाला चतुर्दशीमा सद्मी छर्ने, रात्री जाग्राम, पितृहरुको लागि दिप दान, राम नवमीमा रात्री दिप दान, नाग पंचमीमा विशेष पुजा आदिमा विशेष कार्यक्रम ।

ॐकार शक्तिपीठका अवका लक्ष्यहरुः

  • बुद्ध धर्मको आराधनाका निम्ति गुम्बा बनाउने ।
  • किराँत धर्मको आराधनाका निम्ति किराँतेश्वरको मन्दिर बनाउने ।
  • सप्तऋषिको मन्दिर बनाएर ऋषि पञ्चमीमा यज्ञोपवित संस्कार गर्ने ।
  • ॐकार परिवारभित्र पर्ने सवै धर्महरुलाई आवश्यक पर्ने धार्मिक वृक्ष लगाउने ।
  • जडीबुटीहरुको वृक्षारोपण गर्ने ।
  • बुद्धको मुर्ति, शिव पार्वतीको मुर्ति, सुम्निमा पारुहाङको मुर्ति बनाउने ।
  • भक्तजनहरु बस्नका लागि धर्मशाला बनाउने ।
  • ठुला अनुष्ठानहरुको निम्ति ठुलो हवनकुण्ड बनाउने ।
  • ध्यान र योगका लागि कुटीहरु बनाउने ।

ॐकार शक्तिपीठमा हाल बनेका मन्दिरहरु

  • शिवशक्तिको मन्दिर ।
  • काली भगवतीको मन्दिर ।
  • पन्चकन्यासहित सुम्निमा माताको मन्दिर ।
  • यम्सुमा (अन्नपूर्ण–अन्नकी भगवती)को मन्दिर ।
  • नाग देवताको मन्दिर ।

प्रतिक्रिया