कोरोना संक्रमणबाट विदेशमा १९१ जना नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संंघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको छ ।
शनिवार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले मृत्यु भइसकेको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ ।
गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलियामा रहेका १४६ नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जानकारी दिएको छ । समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् ।
विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन भएको छ ।
प्रतिक्रिया