शुक्रबार, वैशाख ७, २०८१

मथुरामा होइन किसनपुर सर्लाहीमा जन्मिएका हुन् कृष्ण भगवान्

नेपालखोज २०७७ साउन २७ गते १६:५६

भाद्र कृष्ण सप्तमी तिथि । मने कृष्ण जन्माष्टमी । भगवान् कृष्ण जन्मिएको दिन अरे, त्यही पनि मध्यरात मथुरामा । जे पायो त्यही लेख्छन् इतिहासकार । कृष्ण भनेको त विष्णु भगवानको आठौ अवतार हो नि । विष्णुको आठौं अवतार त, नेपाल देशे सर्लाही खण्डे कृष्णपुर ग्राम पञ्चायत ः मा भएको उल्लेख गरिएको छ मट्याङ्ग्रे पुराणमा ।

ए बाबाऽ धर्म मान्ने हामी जन्माउने भारत भनेर हावा कुरा गर्ने ? त्यसो भए पाटनको कृष्ण मन्दिर चाहिंँ के हो त ? मथुरामा जन्मिएका भगवान विना राहदानी पाटनसम्म कसरी आईपुगे र त्यहीँ बसे यस्ता नाथे कुरा गर्ने हो ?

राम नेपालमा जन्मिएका हुन्, शिव नेपालमा जन्मिएका हुन् भनेपछि कृष्ण पनि नेपालमा नै जन्मिएका हुन् । के को मथुराको चर्चा हो । हामी मथुरा सँथुरा जान्दैनौं लाखौं नेपाली कृष्णको ब्रत बस्छन्, पाटन कृष्ण मन्दिरमा राष्ट्रप्रमुख गएर दर्शन गर्छन् भनेपछि कृष्ण नेपालमा नजन्मिएर उता जन्मिएका हुन् भन्छन् हरिलठ्ठकहरु ।

होइन, हाम्रा शास्त्रहरुमा उल्लेख भएको कुरा, यथेष्ट प्रमाण हुँदाहुँदै किन मनगणन्ते कुरा गर्नु हो ? कृष्णलाई हेर्नुस्, ठ्याक्कै सर्लाहीमा जन्मिएका हुन् की होइनन् भन्ने कुरा अनुहारले नै देखाउँछ त । गाउँको नाम नै हेर्नुस् न किसनपुर । किसन भनेको कृष्ण । अहिलेको बागमतीबाट बासुदेवले तारेर सर्लाहीको किसनपुरमा मध्यरातमा ल्याएरै, बसेकै कारण त्यो ठाउँको नाम नै किसनपुर भएको कुरा त मट्याङ्ग्रे पुराणमा स्पष्ट नै लेख्या छ त ।

मट्याङ्गे ऋषिले पटकपटक आफ्ना शिष्यहरुलाई कृष्ण भगवान किसनपुरमा भाद्र सप्तमीमा जन्मिएका बेला बाढी आएर गाउँ नै डुवाएको उल्लेख गर्नु भएको छ । त्यही भएर हरेक वर्ष असारदेखि साउनभरी मेघ गर्जन सहित पानी पर्ने गरेको हो । उ बेला कृष्णलाई कंसबाट जोगाउन किसनपुरमा ल्याउँदा पनि मेघ गर्जेको, चट्याङ पर्ने गरेको कार्टुनमा हामीले पनि बच्चासँगै बसेर हेरेका छौं त ? त्यत्ति प्रमाण हुँदा हुँदै पनि किसनपुरलाई छाडेर हामी मथुराको नाम जपिरहेका छौं । यस्तो पाराले पनि देशको माया हुन्छ ? कसरी भईन्छ राष्ट्रवादी ?

राष्ट्रवादी हुन त देशको माया हुनुु पर्दछ । जो जहाँसुकै जम्नियाेस् न, आफ्नै देशमा जन्मिएको भनेर पुष्टि गर्न सक्ने पो राष्ट्रवादी । हाम्रा प्रधानमन्त्री त्यसै राष्ट्रवादी भएका हुन् र ? जग्गा आओस नआओस् लिम्पियाधुरा हाम्रो बनाईदिए । रामको जन्मभूमि अयोध्या पनि यतै सार्दिए । त्यसो हो भने मट्याङ्ग्रे ऋषिका अनुसार कृष्णको जन्मभूमि पनि मथुरा नक्कली हो सक्कली त सर्लाहीको किसनपुर हो ।

त्यसै मट्याङ्गे ऋषि राष्ट्रवादी देखिएका हुन् र ? यसै राष्ट्रवादी त्यसै राष्ट्रवादी । किसनपुरको जय । श्रीकृष्ण भगवानको जय । नेपाली भक्तजनहरुको जय । अरुले जे सुके भनुन्, जे सुकै लेखुन् चित्त बुझे बुझ्ला नबुझे नबुझ्ला । कृष्ण भगवान, नेपालको सर्लाही जिल्लाको किसनपुरमा नै जन्मिएको हुन् लजा । कस्को बाउको के जान्छ । पढ्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला यो कथा वैकुण्ठ जाला ! गए जाला नगए जाला ।

प्रतिक्रिया