शुक्रबार, जेठ ११, २०८१

आमाबुवाको मन छोराछोरी तिर, छोराछोरीको…

नेपालखोज २०७७ भदौ ३ गते १८:४७

म मेरो सन्तानलाई असल बनाउँछु । म मेरो सन्तानलाई ठूलो मान्छे बनाउँछु । सवैले मान्ने बनाउँछु । यी सवै कुराहरु एक आमाले आफ्नो सन्तान पेटमा हुँदादेखि नै कल्पना गरेकी हुन्छिन् । कुनै पनि अभिभावकले आफ्नो सन्तान असल नहोस, खराब काम गरोस् भन्ने सोचेको हुँदैनन् । जो कोही पनि बाबुआमालाई आफ्नै सन्तान सवैभन्दा राम्रो र उत्कृष्ट भन्ने लाग्छ । जस्तै छोरा छोरीको नजरमा पनि आफ्ना बाबुआमा उत्कृष्ट नै लाग्छ ।

‘आमाबुवाको मन छोराछोरी तिर, छोराछोरीको मन ढुंगातिर’ भनेजस्तै समय र परिस्थिती अनुसार यो सही हुन थाल्छ । सन्तानहरुमा जिस्किँदा जिस्किँदै पछि आमाबुवालाई म पाल्छु भन्ने विषयमा झगडा पर्छ । तर, पछि उनीहरु ठूलो भएपछि त्यही कुराको विपक्षमा झगडा पर्छ । नेपालकै सन्दर्भमा कुरा गर्दा यहाँ १५ सयभन्दा बढी वृद्धवृद्धाहरु आफ्नो घरमा नबसेर वृद्धाश्रममा छन् । केहीका छोराछोरीहरु नभएका पनि हुन सक्छन् । तर, वृद्धाश्रममा आश्रित धेरै वृद्धवृद्धाका छोराछोरीहरु उच्च पदमा आसीन छन् । हामीले सुनेका केही घटनामध्ये कतिपयले त तीर्थ लाने बहानामा आफ्नै आमाबुवालाई वृद्धाश्रममा छोडेर आएका पनि छन् ।

‘मैले मेरा बुवाआमालाई पालेको छु’ केहीले गर्वसाथ भन्ने गर्छन् । जुन हाँस्यास्पद लाग्दछ । एक वच्चाले सानोमा जिस्किँदै म मेरा आमाबुवालाई ठूलो भएपछि पाल्छु भनेजस्तै लाग्छ । मेरो विचारमा आमाबुवासँगै वस्नु भनेको उहाँहरुलाई पाल्नु होइन । सारा दुःख कष्ट सहेर जन्माई हुर्काइ ठूलो मान्छे बनाएका बावुआमासँग सँगै वस्न पाउनु ठूलो सौभाग्य हो ।

दुःख गरेर आमाबुवाले सन्तानका लागि सम्पत्ति जोडिदिएका हुन्छन् । जसको निहुँमा छोराछोरीको झगडा पर्ने गर्दछ । जुन हातको सहयोगले अघि बढ्न सिकायो, हिँड्न, डुल्न अनि लेखपढ गर्न पनि सिकायो, त्यही हातलाई केहीले बिचैमा छोडिदिने गर्दछन् ।

कतिपय आमाबुवाहरु वृद्धाश्रममा अझैपनि दुई थोपा आँसु चुहाउँदै आफ्नो छोराछोरी लिन आउँने झुटो आशामा अन्तिम श्वास लिइरहेका हुन्छन् । धन्य ति महान पुरुषहरु जसले वृद्धवृद्धालाई बस्ने ठाउँ दिएका छन् । नत्र त आफ्नै घरबाट निकालिएका आमाबुवाको के हालत हुन्थ्यो त्यो हामी कल्पना पनि गर्न सक्दैनौं ।

सरकारले वृद्धवृद्धाका लागि दिने सामाजिक सुरक्षा भत्ता दिएर केहीलाई राहत पुगेको छ भने केहीलाई त्यही राहतले पिरोलेका कुराहरु पनि सुनिन्छन् । सुखसयल र सम्पत्तिको लोभले छोराछोरीलाई आफ्ना आमाबुवाबाट धेरै टाढा बनाइदिएको छ । कतिपय बुवाआमाहरु आफ्ना सन्तानको कारणले जस्तो अवस्थाबाट गुज्रिँदा पनि चुप लागेका छन् । उनीहरु आफ्नै सन्तानविरुद्ध आवाज पनि उठाउन सक्दैनन् ।

मानिसहरु सफल हुँदा रिस गर्ने धेरै हुन्छन् । तर, आमाबुवा मात्र त्यस्ता भगवान हुन् जो आफ्नो सन्तान सफल हुँदा उनीहरुभन्दा १० गुणा बढी हर्षित हुन्छन् । अघि बढ्न हौसला दिइरहन्छन् ।

मानिसले माया त धेरै जनाबाट पाउँछन् । तर, त्यो सवको पछाडि कुनै न कुनै स्वार्थ लुकेको हुन्छ । आमाबुवाको आफ्नो सन्तानप्रतिको माया निःश्वार्थ हुन्छ । त्यस्तो माया आफ्ना आमाबुवाबाहेक अरुले गर्नै सक्दैनन् । बाल्यकालमा छोराछोरीले हजारौं प्रश्न गर्दा पनि नरिसाइ जवाफ दिने आमाबुवालाई अहिले ठूला भएका छोराछोरीसँग नजानेको केही सोध्यो भने उनीहरुलाई झर्को लाग्ने गर्दछ । शिक्षा नपाएका आमाबुवाहरुको हालत त झनै कहालीलाग्दो छ ।

आफ्नो सन्तानलाई साधारण ज्वरो आउँदासमेत रातभरी नसुत्ने आमाबुवालाई वृद्धावस्थामा बिरामी हुँदा पानी दिने पनि कोही हुँदैनन् । आमाबुवाले आफ्नो छोराछोरीका लागि जे–जे गरेका छन्, ति सवको ऋण तिर्ने हो भने संसारभरीको धन एकातिर राख्दा पनि चुक्ता हुँदैन । तर, यस्तो निःश्वार्थ माया गर्ने आफ्नै आमाबुवालाई वृद्धाश्रममा छोडेर कसरी छोराछोरीहरु खुसी भएर बस्न सक्छन् होला ?

प्रतिक्रिया