शुक्रबार, चैत ७, २०८१

अपाच्य शैलीका गीतबाट तिजकाे मर्ममाथि प्रहार हुँदैछ

नेपालखोज २०७७ भदौ ७ गते ८:४४

नेपालखोज डेस्क,

Advertisement

काठमाडौं । पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा निकै आधुनिकता मौलाएको छ । अहिले पहिलोेजस्तो एल्वमहरु निकाल्दै सिडीको बिक्री वा रिलको माध्यमबाट गीत सुन्ने प्रचलन हराएको छ । आजभोली युट्युवमा गीत हाल्ने प्रचलन बढेसँगै गीत–संगीतमा व्यवसायिकता खोज्दा विकृति भित्रिएको अग्रज गायक तथा अध्येताहरू बताउँछन् । युट्युवमा धेरैैले गीत हेर्न अर्थात ट्रेन्डिङमा परोस भन्ने हेतुले जस्ता पनि गीत संगीत बनाउने गरेका छन् । यस्ता विकृती र विसंगतीहरुलाई रोक्न प्रयास गर्नुपर्ने लोकगायक राजु परियार बताउँछन् ।

आजकल नेपाली रीतिरिवाज र धर्म संस्कृतीअनुसारका गीतहरु आउन छोडेकाले हाम्रो संस्कृती नै लोप हुने खतरा बढेको पनि लोक–संगीत अध्येताहरुले औंल्याउँदै आएका छन् । देशको संस्कार, संस्कृति र रीतिरिवाजलाई व्यावसायिक बनाउने नाममा सबैभन्दा बढी तिजका गीतमा विकृती भित्रिएको गायक तथा गाईकाहरुको धारणा छ ।

तिजको ऐतिहासिक धार्मिक संगातिक पाटो सबै बिर्सिएर आफ्ना रहरले तिजको नाममा अपाच्य शैलीबाट तिजको मर्मलाई नै प्रहार हुनेगरी संस्कृतिको अतिक्रमण भइरहेको लोक गायिका हरिदेवी कोइरालाको भनाइ छ । पहिला–पहिलाका गितहरु सदाबहार हुने गर्दथे । कुनै समय निकालिएका गितसंगीत धेरैवर्ष पछिसम्म जिवन्त हुन्थे । ती सदाबहार गीत हुन्थे । तर, पछिल्लो समय बजारमा आउने गीत संगीतहरु क्षणिक हुने गरेका छन् । अहिलेका गीत संगीत युट्युबमा मात्रै सिमित हुने गरेका छन् ।

आजभोलीका गीत मात्रै युट्युबका लागि बनाइएका जस्ता हुन्छन् । हुन त यो अहिलेको बढ्दो प्रविधिकको उपज पनि हो । पहिला पहिलाका सिर्जनाहरु धेरै मेहनत गरी बनाइने गरिन्थ्यो । तर, अहिले एउटाले गरेको सिर्जनाको एउटै शैली पछ्याएकाले गित संगीतमा गुणस्तर हुन छोडेको लोकगायक राजु परियारको धारणा छ ।

यस वर्षको तिजमा पाँच करोड रुपैयाँभन्दा धेरैका तिज गीत रेकर्ड भएका छन् । गीत र भिडियोमा गरेर कम्तिमा पाँच करोड बराबरको लगानी भएको व्यवसायी बताउँछन् । तिजको अवसर पारेर बजारमा आएका गीतमा कतिले दर्शक तथा स्रोताको मन जित्न सके अथवा ती कति सफल भए भन्ने आंकलन गर्ने र यसको जवाफ दिने आधिकारिक निकाय छैन ।

त्यसैले यसको ठोस जवाफ कसैबाट आउँदैन । निश्चय पनि यस वर्षका केही तीज गीतले दर्शक स्रोताको ध्यान खिचे । तर, पाँच करोडका गीत जसरी बजारमा आए त्यसरी नै हराएका छन् । समयको परिवर्तनसँगै विस्तारै गीतका भाकाहरु पनि परिवर्तन हुँदै अन्ततः अहिलेको समयमा गाईजात्राको रुप धारण गरेको लोक गायिका हरिदेवी कोइरालाको गुनासो छ ।

यसरी गित संगीतमा विकृति भित्रँदै जाँदा सम्वन्धित पक्षले ध्यान नदिने हो भने हामीले नसोचेको परिस्थितिको सामना गर्नुपर्ने गायक राजु परियार बताउँछन् । गित संगीत भनेको हाम्रा अमुल्य गहना हुन् । यसले हाम्रो रीतिरिवाज, संस्कार तथा संस्कृत्तिको प्रतिनिधित्व गर्ने हुँदा यसको जर्गेना गर्नु हाम्रो दायित्व हो । जाति, समुदाय तथा पर्व र लोकगीत राज्यकै पहिचान भएकाले यस्ता गीत संकलनका लागि सरकारले पनि सहयोग गर्न जरुरी छ भने सम्बन्धित पक्षको पनि यसतर्फ बेलैमा ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया