मंगलबार, वैशाख १६, २०८२

कोरोना भ्याक्सिनको ट्रायलसँग डराउनु पर्दैन

नेपालखोज २०७७ भदौ १० गते १८:३६

काठमाडौं । गत डिसेम्बरको अन्तिम साता पहिलो पटक चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरस संक्रमण यतिबेला विश्वका धेरै मुलकमा पुगिसकेको छ भने यसबाट विश्वका ८ लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

विश्वमा कोभिड फैलिएको ८ महिना नाघिसकेको छ । यस भाइरसले विश्वका मै हुँ भन्ने ठुला देशलाई पनि मात खुवाएको अवस्था छ । यो ८ महिनाको अवधिमा विश्वका कुनै पनि राष्ट्रले यसलाई निमूर्ल पार्न सक्ने औषधि बनाउन सकेको अवस्था छैन । तर, कोरोनाभाइरस विरुद्धको खोप बनाउनका लागि यतिबेला विश्वका शक्ति राष्ट्रहरूबीच होडबाजी नै चलेको छ । विश्वभरका दर्जनौं रिसर्च गु्रपहरूले यतिबेला कोभिड–१९ को एन्टिभाइरल भ्याक्सिन बनाउनका लागि निकै दौडधुप गरिरहेको अवस्था छ ।

विश्वका ठुल–ठुला देशहरु बिच भ्याक्सिन बनाउने होडबाजी चलिहेको बेला खोप ट्रायलका लागि अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिस्पर्धा देखिन थालेको छ । विश्वका धेरै देशहरु चीन, रुस, अमेरिकालगायतका देशले तयार गरेको कोरोना विरुद्धको भ्याक्सिन परिक्षणका रुपमा प्रयोग गरिरहेका छन् । कोभिड–१९ विरुद्धको भ्याक्सिन निर्माणका लागि करिब १२० वटा मेडिकल टिम विश्वका बेग्लाबेग्लै स्थानमा काम गरिरहेका छन् । सबै देशहरुले भिन्न–भिन्नै किसिमको भ्याक्सिन उत्पादन गर्नका लागि नयाँ–नयाँ प्रविधिहरू अपनाइरहेका छन् ।

विश्वका विभिन्न देशमा भ्याक्सिन बनाएर मानिसमा परीक्षणको तयारीसम्म भए पनि उल्लेखनीय सफलता भने हात लागेको छैन । किनभने भ्याक्सिनको क्लिनिकल ट्रायलको प्रक्रिया मात्रै नै निकै जटिल र लामो हुन्छ । त्यसकारण हालसम्म कुनै पनि देशको भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (ड्ब्ल्यूएचओ)ले अनुमति दिएको छैन । कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिने पहिलो मुलुक रुस हो । तर, पर्याप्त मात्रामा मानव परीक्षण नगरिकनै खोपको विकास गरेको भन्दै यतिबेला रुसको आलोचना पनि भइरहेको छ । कतिपय देश रुसले तयार गरेको खोपको आफ्नो देशमा परीक्षण पनि गरिरहेका छन् ।

यसैक्रममा नेपालमा पनि कोरोनाभाइरस विरुद्ध चीनमा बनेको भ्याक्सिनको ट्रायल हुने भएको छ । नेपालमा भ्याक्सिनको ट्रायल गर्न नेपाल सरकारले अनुमति दिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले बताए । सरकारले नेपालमा तेस्रो चरणको ट्रायलका रुपमा परीक्षण गर्नका लागि अनुमति दिएको छ । तर, भ्याक्सिन नेपालमा ट्रायल गर्न नहुने भन्ने खालका आवाजहरु पनि उठिरहेका छन् । उक्त परीक्षण नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को गाइडलाइन अनुसार विश्वव्यापी मान्यताको आधारमा स्वतस्र्फुरुपमा अध्ययनमा सहभागी हुन चाहनेहरुलाई मात्रै स्वतस्र्फुतरुपमा परीक्षणमा समावेस गरिने भएकाले यसमा भ्रम नपाल्न र भ्रम नछर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुरोध गरेका छन् ।

क्लिनिकल ट्रायलमा सहभागी हुनु भनेको जोखिमपूर्ण काम भएकाले गहन अध्ययन बिना ल्याइएको खोपले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै विभिन्न जनगुनासोहरु आइरहँदा कुनै पनि खोप विभिन्न चरणमा अनुसन्धान भएर मात्रै आउने भएकाले यसबाट विज्ञानको प्रवद्र्धन र हाम्रो देशलाई पनि फाइदा हुने हुँदा यस्तो ट्रायललाई हामीले ठाडै अस्वीकार गर्न नहुने जनस्वास्थ्यविद् समीरमणी दिक्षित बताउँछन् । उनले भने, ‘हाम्रो देशमा विज्ञानलाई कहिले समर्थन गरिएन । कुनै पनि रोगको भ्याक्सिन विभिन्न अध्ययन अनुसन्धान गरेरै हो बनाउन सकिने । यो भ्याक्सिन हाम्रो देशमा परीक्षण हुनु भनेको हाम्रै लागि फाइदाको कुरा हो नि ।’

नेपालमा हुने परीक्षणबाट डराउनु पर्ने कुनै कुरा नरहेको तर सावधानी चाहिँ अपनाउनु पर्ने उनले बताए । उनले भने, त्यो खोप बनाउने देशले त्यसभन्दा पहिला आफ्नो देशका नागरिकमा परीक्षण गरेको छ, कि छैन यदि आफ्नो देशका नागरिकमा परीक्षण नै नगरी हाम्रो देशमा परीक्षण गर्न लागेको हो भने त्यसलाई सोझै अस्वीकार गर्नुपर्छ । तर, होइन उनीहरुले आफ्नो देशका नागरिकमा पनि परीक्षण गरिसकेका छन् भने हामीले पनि परीक्षणको स्वागत गर्नुपर्छ ।

विज्ञानलाई टेवा पुग्ने यो परीक्षण यदि सफल भएको खण्डमा हाम्रो देशलाई फाइदा पुग्ने र हाम्रै देशका जनशक्तिले यसबाट रोजगारी पाउने भएकाले यसलाई नराम्रो भन्न नमिल्ने जनस्वास्थ्यविद् समीरमणी दिक्षितले बताए ।

कुनै पनि रोग विरुद्धको भ्याक्सिन बनाउन वर्षौं लाग्न सक्छ । कतिपय अवस्थामा दशकौं लाग्छ भने कतिपय भाइरसबाट उत्पन्न रोगको भ्याक्सिन अझै बन्न सकेको छैन । तर, विश्वसनीय कम्पनीले प्रत्येक प्रक्रिया र तह पार गरेर मात्रै ल्याइएको खोपको ट्रायलसँग डराउनु नपर्ने विज्ञहरुको प्रतिक्रिया छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गहन अध्ययन गरेर मात्रै तेस्रो चरणको ट्रायलका लागि चीनले तयार पारेको कोरोना विरुद्धको भ्याक्सिन परीक्षण गर्न सरकारले अनुमति दिएको हो ।

प्रतिक्रिया