बिहीबार, असार ५, २०८२

कतारमा श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोकियो

नेपालखोज २०७७ भदौ १५ गते १३:२३

एजेन्सी । कतारले श्रमिकको न्यूनतम ज्याला तोकेको छ । हिजो कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला कम्तिमा एक हजार कतारी रियाल तोकेको अलजजिराले खबरमा उल्लेख गरेको छ ।

मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ । यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने गरिएको थिएन । तर अब भने कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल पाउनेछन् ।

यस्तै कतार सरकारले श्रमिकले काम परिवर्तन गर्दा रोजगारदाताको अनुमति लिनुपर्ने नियम पनि खारेज गरेको छ । अब श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्नेछन् । श्रमिकले आफूले काम गरेको अवधि अनुसार एक महिना वा दुई महिनाको पूर्व जानकारी दिनु पर्छ ।

कतार सरकारले जारी गरेको न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउनेछ । कतार सरकारको यो निर्णयको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले पनि स्वागत गरेको छ ।

प्रतिक्रिया