बिहीबार, वैशाख २०, २०८१

ज्योतिषिले नभन्दिँदा कोऽरोना ह्वारह्वार्ती !

नेपालखोज २०७७ भदौ १६ गते १८:०९

अहिले नेपालाँ सानातिनालाई मात्र होइन ठुल्ठूलालाई पनि कोऽरोना सल्केको छ रे । हिजो त मुग्लानबाट आउनेहरुले दशौं दिन हिँडेर आउँदा कोऽरोना बोकेर ल्याएका थिए । अझ सीमानामा त कुरै छाडौं कति हो कति ? कमिलाको ताँती जसरी नै कोरोना भाईरस भुसको आगो जस्तै भित्रभित्रै सल्केको देखिन्थ्यो रे ! त्यही भएर तीन महिना भन्दा बढी लकडाउन गर्या भन्छ सर्कार ।

पिलेन वन्द, जनताले चढ्ने भाडाका गाडी बन्द, दुईपाङ्ग्रे, तीन पाङ्ग्रे सवै बन्द भाका बेलाँ सीमाबाट यति छिटो कोऽरोना कसरी आईपुग्यो सिंहदरबार ! मट्याङ्ग्रोको दिमागले पो काम गर्न छाड्यो त । गृह मन्तरी, रक्षा मन्तरी सवै क्वारेण्टाइन बस्नुपर्ने अवस्था आको छ रे शराँ ।

जनतालाई स्कूलाँ छाप्रामा सुताएपनि कोऽरोना लाग्या बेलाँ मन्तरीहरुलाई त अस्पताल पनि जानु नपर्ने रैछ । घराँ बसेरै हुने भएपछि मुग्लानबाट आउनेलाई पनि घराँ नपठाएर किन क्वारेण्टाइन भन्दै देशको ढुकुटी रित्याको होला ? आखिर घराँ गोप्य बसेरै कोऽरोना निको हुने रैछ त ? के–को आइसुलेसन र साईसुलेसनको कुरा ल्याका भन्या ?

जे आउँछ मजाले पचाउँछ भनेर घराँ थुन्दिए भैगो नि । लकडाउन पनि सकियो, सटडाउन पनि सकियो । अहिले त जाबो निषेधाज्ञा त हो नि । बिहानभरी पसलमा भीड छँदैछ, खाद्यान्न किन्न पाको छँदैछ । पहुँच हुनेले सडकाँ चिल्ला पुतली उडाकै छन्, सरकारी काम भैराकै छ ।

खान नपाउने, घुम्न नपाउने भनेको त त्यही मट्याङ्ग्रे निमुखा मोराहरु त हुन् नि ? कसको बाउको के जान्छ, अझै दुईचार महिना निषेधाज्ञा लगाईदिए हुन्छ । नेपालाँ भात खान नपाएर मान्छे मरेको हल्ला अहिलेसम्म आको छैन क्यार !

मट्याङग्राको बुद्धि पनि कस्तो ? यस्तो कुरा त खड्गप्रसाद ओलीको अर्ति उपदेश मान्नु नि । बेसार पानी खाऊँ, बेस्सरी हाँच्छिऊ गर्दिएपछि यस्ता जावा कोऽरोना सोऽरोना सव फटाफट भाग्छन् । ए बाबा होइन देशाँ राजादेखि रैतीसम्म जाने राष्ट्रपतिदेखि सडकपतिसम्मले भ्याउने अनेकथरीका बाबा, ज्ञानी विद्वान जोतिसीले अव देशाँ कोऽरोना आउँदैछ भनेर देश हाँक्ने पर्धानमन्त्रीलाई भन्नु पर्दैन ?

आज पानी पर्छ । भोली घाम लाग्छ । बिहान सूर्जे उदाउँछ साँझ परेपछि अन्धकार हुन्छ भन्न जान्ने बैज्ञानिकले पहिल्यै जानकारी दिनु पर्दैन ? त्यसो गर्दिएको भए कोऽरोनाका विरुद्ध पुरै जनयुद्धमा लागेका सेनाहरुलाई हातहतियार सहित सीमामा राखेर सिठ्ठी पुग्नु हुन्थ्यो नि त ?

अस्ति कुन्तिर सलह आउँदा मट्याङग्रे कृषि मन्तरीले विदेशी गीत बजाउने सलह भगाउने भनेर गीत किन्न बजेट नै ल्याका थेरे त ? अहिले पनि कोऽरोनाका लागि अर्बौं रुपैयाँ मास्क, सानीको टाइजर के के जातीलाई देको होइर र । खै त कै भएन ?

हो, उ ऽ बेला मित्र पर्चण्डले त्यसै संस्कृति विद्यालय जलाका रैनछन् ? कुरो बुझियो नि । जाबो कोऽरोना आउँछ भनेर पहिल्यै भन्न नसके संस्कृत पढेर जोतिषि भई टोपल्ने ? दुई तिहाईको नेतृत्व गरेको खड्गेलाई हेप्नी ! कोऽरोना आउँदै भनेर जोतिषिले मलाई भन्नु पर्दैन । उनीहरुले नभनेपछि मैले कसरी जान्नु त ?

हेप्नाँ पनि हद हुन्छ ? एक त बिरामी मान्छे, तीन–तीनवटा मृर्गौला बोकेर हिड्न पर्रा छ । उता पर्चण्डलाई मिलाउनु पर्रा छ । दक्षिण उत्तर सवै रुष्ट भाका छन् । कुन दिन सत्ता नै खाईदेलान भन्ने डरले जाबो लैनचौरको उपसचिवसँग बिन्ति बिसाउनु परेको छ । होइन, यो कोऽरोनाका नाममा बालुवाटरमा बसेर कति आफैं रुने हो ? यता छोप्यो उता भ्वाङ, उता टाल्यो उता छ्याङ । आफ्ना भनौदा बज्रस्वाँठहरु सवै कमाउनिष्ट सिद्धान्तमा लिप्छ भाका छन् । पशुपतिमा पठाको बज्रस्वाँठ पनि जोतिस भन्छ, एउटा कुरा मिलाउँदैन । अनि कोऽरोना ह्वारह्वार्ती नबढेर एड्स बढ्छ त ?

प्रतिक्रिया