आइतबार, जेठ ६, २०८१

त्यो बेलाको रेलको योजना र अहिलेको रेलको योजना

सुनिल उलक २०७९ फागुन ५ गते १२:१८

राणा प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरको समयमा बि.सं. १९८३ फागुन ५ गते सन् १९२७ को फेब्रुवरीमा नेपालमा रेल गुड्न थाल्यो । यसले नेपालमा पहिलो पटक सार्वजनिक यातायातको सुविधाजनक उपस्थिती बन्यो । यसले मानिसको आवतजावतमा मात्र होइन अन्य सामग्री ढुवानीमा समेत सहजता प्रदान गर्यो ।


हामी सहजतापूर्वक रेल भित्रिएको अनुमान गर्दछौ । तर यसको लागि निकै लामो गृहकार्य भएको थियो । नेपालले आफ्नो खर्चमा भारतीय रेलसेवालाई नेपालमा पनि भित्राउने अभिप्राय ब्यक्त भए पछि भारतीय पक्षबाट यसको लागि सर्वेक्षण गरेको थियो । सम्भाव्य अध्ययन तथा खर्चका हिसावकिताव गरेको थियो ।


मेरो हात लागेको ४९ पृष्ठ लामो यस प्रस्ताविक रेलसेवाको विवरण तत्कालिन भारतीय रेलसेवाका चिफ इञ्जिनियर लेफ्टिनेन्ट कर्णेल एल इ हप्किन्सले गरेका थिए । यस योजनामा रक्सौल देखि भिक्षाखोरी (अमलेखगञ्ज) सम्म रेलसेवा तथा ढोरसिंगबाट किसिपिडी सम्म रोपवे सेवा बनाउने कार्य योजना एकसाथ गरिएको थियो । यसको साथै किसिपिडीबाट काठमाडौंसम्मको सडक पनि यहि योजना अन्तर्गत रहेको थियो । त्यस अगाडि नै भिक्षाखोरीबाट ढोरसिंगसम्म बनेको सडकमा बलिया पुलहरु बनिसकेको थियो । जसको क्षमता १० टन सम्मको थियो । तर पनि भिक्षाखोरीबाट ढोरसिंग सम्म पनि रेलवे सेवा बिस्तार गर्न सकिने सम्भाव्यता अध्ययन गरिसकेको थियो । हप्किन्सले भिक्षाखोरीबाट ढोरसिंगको रेलसेवा महंगो हुने हुँदा नबनाउन सुझाव पनि दिएका थिए ।


त्यस योजनामा सडक यातायातमा लाग्ने सक्ने खर्च र रेलसेवामा लाग्नसक्ने खर्चको पनि तुलनात्मक अध्ययन पनि गरिएको थियो । त्यसबेला हप्किन्सको साथ अर्का इञ्जिनियर इयान ग्रान्ट पनि थिए । यि दुइ इञ्जिनियरले तस्विर पनि धेरै खिचेको लेखिएको भए पनि तस्विरहरु भने भेटिएनन् ।


यस लामो विवरण एउटा इतिहासको दस्तावेज पनि हो । यसमा तस्विरको विवरण लेखिएको छ । जसमा खालि ठाउँ छोडिएको छ । जसका अनुसार ३० वटा तस्विर पनि राखिएको स्पष्ट हुन्छ । रेलसेवाको लागि भारतीय क्षेत्र रक्सौलमा भारत सरकारसंग नेपालले करिव २६ एकड जमिन १०० वर्षको लागि भाडामा पनि लिएको थियो । सो जमिन अझै केही वर्ष नेपाल सरकारको अधिनमा नै हुनुपर्दथ्यो तर बिगत ५० वर्ष देखि भारत सरकारले आफ्नै स्वामित्वमा भोगचलन गर्दै आइरहेको छ ।


अहिले न त राम्रो सर्वेक्षण गरेको थियो न त सम्भाव्य अध्ययन तथा खर्चका हिसावकिताव नै गरेको थियो । एक अरबमा भारतबाट खरिद गरेको जनकपुरको रेल शुरुमा १९ महिना चालु गर्न नै सकिएन र थन्क्याइयो । यसरी महंगोमा खरिद गरेका रेलहरु चालु नभएको बिरोध धेरै भयो । महंगो रेल नचलाउँदा नेपाल रेलवे कम्पनीले १९ महिनामा ३ करोड घाटा लाग्यो । अन्तत एक वर्ष अगाडि २०७८ को चैत २० गतेबाट जनकपुरको रेलसेवा चालु भयो। सबैतिर खुशियाली छायो । शायद अब त केही हुनेछ भन्ने आशा जाग्यो । तर अहिले ९ महिनाको आम्दानी खर्च विवरण हेर्दा कहालि लागेर आउँछ ।


विगत ९ महिनामा ९,५०,७७,००० रुपैयाँ घाटा भएको देखाएको छ । रेलवे कम्पनीका अनुसार रेल सेवा सुचारु गर्नका लागि मासिक १,५९,५३,००० रुपैयाँ खर्च आँउछ । जुन ९ महिनाको अवधिमा १४,३५,७७,००० रुपैयाँ हुन आउँछ । तर यात्रुहरुले यात्रा गरेको भाडाबाट मासिक ६५ लाख रुपैया मात्रै आम्दानी हुने गरेको छ । जुन रकमले ९ महिनाको आम्दानी केवल ५,८५,७७,००० रुपैयाँ भएको छ । जसले गर्दा ९,५०,७७,००० रुपैयाँ घाटा भएको विवरण सार्वजनिक भएको छ । अझ आश्चर्य यस घाटामा प्रशासनिक खर्च अझै जोडिएको छैन ।

प्रतिक्रिया