सोमबार, वैशाख २४, २०८१

कृषि बिमा : हर्ष न बिस्मात !

गणेश बहादुर मगर २०८० कार्तिक २१ गते १५:५०

काठमाडौं । कृषि गणना २०७८ ले नेपालको कुल ७०.४ प्रतिशत परिवारको आम्दानीको मुख्य श्रोत कृषि रहेको जनाएको भएपनि कृषि बिमा गर्ने परिवार केवल ४.४ प्रतिशत मात्र रहेको जनाएको छ । 

अघिल्लो कृषि गणनामा कृषिलाई आफ्नो आम्दानीको मुख्य श्रोत मानेका परिवारको सङ्ख्या ८३.१ प्रतिशत रहेकोमा १० वर्षको अन्तरालमा १२.७ प्रतिशतले घटेर ७०.४ प्रतिशत पुगेको छ । यसरी कृषिलाई आफ्नो आम्दानीको मुख्य श्रोत मान्ने परिवारको सङ्ख्या घट्नु भनेको कृषि पेसालाई छोड्ने परिवारको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाउँछ । 

किन घटिरहेको छन् कृषि पेसा गर्ने परिवारहरू ?

कृषि गणना २०६८ मा खेतीपाती गर्ने परिवारको सङ्ख्या ३७ लाख १६ हजार रहेको मा २०७८ मा त्यो सङ्ख्या बढेर ३९ लाख ९९ हजार पुगेको छ । पशुपालन तर्फ हेर्ने हो भने कृषि गणना २०६८ मा १ लाख १६ हजार परिवारले पशुपालन गरेको देखिन्छ भने २०७८ मा १ लाख ३२ हजारले पशुपालन गरिरहेको तथ्याङ्क देखिन्छ । 

माथि प्रस्तुत गरिएको तथ्याङ्क हेर्ने हो भने तुलनात्मक रूपमा कृषि र पशुपालन गर्ने परिवारको सङ्ख्या बढेको देखिए पनि कृषि तथा पशुपालनमा लागेका परिवार मध्ये ४५ प्रतिशत परिवारलाई मात्र आफ्नो उत्पादनले वर्ष भरी खान पुग्ने तथ्याङ्क कृषि गणना २०७८ ले देखाएको छ । 

नेपालका किसानहरूका थुप्रै जोखिमहरू छन् जस मध्ये मुख्यतया खेतीयोग्य जमिनलाई लिन सकिन्छ । नेपालको तथ्याङ्कहरूलाई हेर्ने हो भने पछिल्लो ६० वर्षमा खेतीपाती गर्ने परिवारको सङ्ख्या १६८ प्रतिशतले बढेको देखाउँदछ । भोग चलन गर्ने जमिन केवल ३२ प्रतिशतले बढेको देखिन्छ । नेपालको सन्दर्भमा अझ टुक्रे जमिनहरू भएका कारण पनि कृषि पेसामा जोखिम रहेको छ । 

कृषि गणनामा पशुपक्षी मात्र पाल्ने र चार आना सम्मको जमिनमा खेतीपाती गर्नेलाई पनि कृषि पेसामा आबद्ध परिवार मानेकोले सङ्ख्याको हिसाबले कृषि पेसामा आबद्ध परिवारको सङ्ख्या बढेको  बताए पनि वास्तविकता त्यो होइन । 

अधिकांश पहाडी किसानहरूको खेतीपाती आकाशे पा निको भरमा रहने, कहिले सुक्खा, कहिले अति वर्षा, हावाहुरी, असिना तथा पहिरो जस्ता जलवायुजन्य प्राकृतिक विपत्ति नेपालको किसानहरूको ठुलो समस्या हो। 

जोखिम न्यूनीकरणको लागी कृषि बिमा 

निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषितर्फ आकर्षित गर्न र कृषि क्षेत्रको जोखिम लाई न्यूनीकरण गर्न बिमा समितिले वि.स.२०६९ बाट वाली तथा पशुपन्छी बिमा निर्देशन २०६९ मार्फत नेपालमा कृषि बिमा सुरु गरेको देखिन्छ । 

कृषि क्षेत्रलाई विस्तार एवं प्रवर्द्धन गर्ने, व्यावसायिक खेती तर्फ आकर्षण गर्ने र सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहित गर्ने, कृषिमा निजी तथा सहकारी क्षेत्रको लगानी लाई प्रोत्साहित गर्ने, कृषि उत्पादनलाई प्रोत्साहित गरी आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ सुरु गरिएको कृषि बिमा सुरु भएको करिब एक दशक भई सक्दा केवल ४.४ प्रतिशत परिवारले मात्र कृषि बिमा गर्नुले कृषि बिमा कृषकका लागी हर्ष न बिस्मात जस्तो भएको तथ्याङकले देखाउँदछ । 

कृषि बिमा भित्र के छ ?

नेपाल सरकारले कृषि तथा पशुपक्षी बिमा तर्फ किसान लाई आकर्षित गर्नको लागी २०७० साउन १ गते देखी कृषि तथा पशुपक्षी बिमाको बिमा शुल्क मा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो । २०७१ साउन १ गते देखी अनुदान बढाएर ७५ प्रतिशत पुग्यो भने आर्थिक वर्ष ०७८/ ७९ को बजेट वक्तव्यमा अनुदान घटाएर ५० प्रतिशत पुर्‍याइए पनि २०७८ असोज ७ गते देखी लागू हुने गरी अनुदान वृद्धि गरी ८० प्रतिशत पुर्‍याएको छ अर्थात् हामीले कृषि तथा पशुपक्षीको बिमा गर्नुपरेमा बिमा शुल्कको ८० प्रतिशत सरकारले तिरिदिन्छ भने किसानको भागमा केवल २० प्रतिशत दायित्व रहन्छ । 

अझ सुदूरपश्चिमको हकमा ८० प्रतिशत अनुदान सङ्घीय सरकारको तर्फ बाट र बाँकी २० प्रतिशत अनुदान सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट व्यहोर्ने हुँदा किसानहरूले केवल सेवा शुल्क बापतको केही रकम बिमा कम्पनीलाई तिरे कृषि तथा पशुपक्षी बिमा करिब करिब निःशुल्क जस्तै भन्दा फरक नपर्ला । अझ बिमाको अवधिमा विमतिको निधन भएको खण्डमा विमति गर्ने व्यक्तिको पनि रु २ लाख बराबर को बिमा गरिएको हुन्छ । 

कृषि बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनको लागी सरकारी तथा गैर सरकारी निकायहरूबाट प्रशस्त प्रयासहरू भए पनि कृषि तथा पशुपक्षी बिमा प्रभावकारी हुन नसक्नुका पछाडि केही कारणहरू रहेको देख्न सकिन्छ । 

कृषि बिमा किन गर्ने ? यसका फाइदाहरू के ? यी र यस्ता विषयहरूका बारेका किसानहरू अनभिज्ञ रहेको देख्न सकिन्छ । समुदाय स्तरसम्म कृषि बिमाको बारेमा जानकारी दिन सकिएको छैन भने जानकारी प्राप्त गरेको समुदायसम्म सेवा प्रदायक बिमा कम्पनीहरूको उपस्थिति रहेको छैन । जीवन बिमा कम्पनीको तुलनामा निर्जीवन बिमा कम्पनीमा बिमा अभिकर्ताहरू आकर्षित हुन नसक्दा समुदाय स्तरमा कृषि बिमा गर्न चाहेर पनि बिमा गर्न सकिरहेका छैनन् । 

परशुराम नगरपालिका वडा नं १० का किसान अर्जुन बहादुर बोहरा को अनुभवमा कृषि तथा पशुपक्षीहरूको बिमा गर्न समुदाय इच्छुक भए पनि समुदायमा बिमा अभियानकर्ता सहजै नभेटिएका कारण आफू लगायत छिमेकीहरू पशु बिमाबाट वञ्चित भइरहेको तितो अनुभव सुनाउँछन् । 

२०६९ सालमा कृषि बिमा सुरु गर्दा ४ वटा कृषि बिमा लेखबाट सुरु भएको कृषि तथा पशुपक्षी बिमा २०७८ को कृषि गणनासम्म आईपुग्दा उल्लेख्य प्रगति सम्म पुग्न नसके पनि बिस्तारै आकर्षित हुँदैछन् भन्ने कुरालाई नकार्न सकिँदैन । 

पछिल्लो समय हावा पानीमा आइरहेको परिवर्तन सँगै खेतीपातीमा देखिन थालेको विभिन्न किसिमका जलवायुजन्य नकारात्मक असरहरूको जोखिम बाट केही हद सम्म भए पनि बच्नको लागी कृषि बिमा लाई व्यापकता बनाउन आवश्यक छ । हाल कृषि बिमामा रहेका केही प्राविधिक जटिलताहरू लाई फुकाई सहज बनाउन आवश्यक देखिन्छ । यसो गर्न सकिएन भने कृषि बिमा किसानको लागी हर्ष न बिस्मात हुने निश्चित देखिन्छ । 

सरकारी पक्ष बाट कृषि बिमाका लागी शतप्रतिशत अनुदान दिँदा पनि किसानहरू कृषि बिमा तर्फ खासै आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्र डडेलधुरा का पूर्व कार्यालय प्रमुख रामचन्द्र भट्ट बताउनु हुन्छ । प्रचार प्रसारको कमी र प्रक्रियागत झन्झटका कारण हरू किसानहरू कृषि बिमा तर्फ आकर्षित हुन नसकेको हुन कि ? गत वर्ष कृषि ज्ञान केन्द्रमा जम्मा ९ जनाले बाली बिमा बापतको अनुदानका लागी आवेदन भरेको देखिन्छ । 

यद्यपि कृषि ज्ञान केन्द्र डडेलधुराका नवनियुक्त कार्यालय प्रमुख खेमराज पनेरुले आफ्नो पदस्थापन पश्चात्को  पहिलो बैठकमै बिमा कम्पनीहरूसँग कृषि बिमालाई सहज रूपमा सर्वसाधारणसम्म पुर्याउन अनुरोध गरेको बताउनुहुन्छ ।  –INS

प्रतिक्रिया