बिहीबार, वैशाख १३, २०८१

गति लिन सकेन महाकाली करिडोरले

नेपालखोज २०७७ भदौ १८ गते १३:०२

तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशक अघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवबाट सुरु हुने करिडोर निर्माण अझै यहाँबाट शुरुआत हुन सकेको छैन ।

करिव ४२५ किलोमिटर लम्बाइ भएको करिडोर अन्र्तगत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ । “ब्रह्मदेवबाट दुई/तीन किलोमिटरपछि जंगल शुरु हुन्छ ।” महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाका अनुसार लामो समय वातावरणीय प्रभाव मुल्याङ्कन हुन नसक्दा काम शुरु हुन नसकेको हो ।

उनले निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि करिडोर निर्माणको अवधारणा अगाडि सारिएको भएपनि करिडोर अन्र्तगत डडेल्धुरा, बैतडी र दार्चुला क्षेत्रमा पनि निर्माणको काम सन्तोषजनक नभएको बताए । लकडाउन भएकाले तीन वटै प्याकेजको काम गर्न निर्माण कम्पनीलाई ६ महिना (मङसीर) सम्मको समय थपिएको छ । उनले भने–“अब छिट्टै ब्रह्मदेवबाट पनि ठेक्का भएर काम सुरु हुनेमा आशावादी छौं ।”

तीन बर्षअघि करिडोर अन्र्तगत चार जिल्लामा ट्रयाक खोल्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । कोरोना भाइरस सङ्क्रमण न्युनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण योजनाको काममा आंशिक प्रभाव परेको जनाएको छ । “ मजदुरहरु सबै स्थानीय भएकाले काममा त्यतिधेरै बाधा नपुगेको उनले बताए ।” रैखोलाले भने बर्षात्का बेला भने काम रोकिएको थियो । ०६५ सालदेखि निर्माण शुरु भएको दार्चुला तिंकर सडकलाई ०७२ सालमा महाकाली करिडोर अन्तर्गत गाभिएको हो । करिडोर अन्तर्गत डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कुल ६७ किलोमिटर सडक खण्डको ट्रयाक खुलाइएको छ । साविकको दार्चुला तिंकर सडक खण्डको कुल १३४ किलोमिटर मध्ये ठेक्का नलागेको ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

यस्तै दार्चुला तिंकर सडकको ठेक्का लागेको ४७ किलोमिटरमध्ये ४३ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाइएको इन्जिनियर रैखोलाले जानकारी दिएका छन् । यस्तै कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरासम्मको सडक खण्डको ठेक्का लाग्न बाँकी छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको ढिलाइले काम पनि हुन सकेको थिएन । अहिले करिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन आएको छ । सबैभन्दा ढिलाई दार्चुला तिंकर सडक खण्डमा भइरहेको छ । करिव १२ वर्षमा ४३ किलोमिटर सडकखण्डको ट्रयाक खुलाइएको भएपनि सबै क्षेत्रमा अहिले सवारी साधन चल्न सक्ने अवस्था छैन । बर्खायाममा यस सडक खण्ड पूरै अवरुद्ध छ । सडकको चार किलोमिटर सडकको ट्रयाक खुलाउन अमर सूर्यसँग ०६९÷०७० मै ठेक्का भएको हो । पाँच पटक म्याद थप भइसकेको छ । अझै काम सुचारु भएको छैन । सडक योजनाले निर्माण काम ढिलाई गरेको जनाउँदै सरकारले गत वैशाख १४ गते निर्णय गरेको हो ।

यस्तै चालू आर्थिक वर्षमा सडक सुधार गर्ने भन्दै हिकिलाको पोखरा भीर, पिपलचौरीको विजयपुर भीर, हुतीको तङ्ले भीर र धौलाकोटको चुकपानी भीरको लागि चार वटा ठेक्का लगाएको छ । यस क्षेत्रमा सडक र भीर सुधारको लागि बझाङको सुर्मा सरोवर निर्माण सेवाले ठेक्का पाएको छ ।महाकाली करिडोर दार्चुला तिंकर सडक योजनालाई बहुबर्षीय ठेक्का लगाउने गरी कागजी प्रक्रिया अघि बढाइएको इन्जिनियर रैखोलाले बताए । उद्योग बाणिज्य संघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले महाकाली करिडोर निर्माण गरेर कैलाशमानसरोवरलाई जोड्ने सके सुदूरपश्चिमको मुहार फरिने बताए ।“कृषि, पर्यटन र जलविद्युतमा यहाँ तमाम सम्भावनाहरु छन।” उनले भने समृद्धिका लागि करिडोर चाँडो बन्नु जरुरी छ । उनले नीजि क्षेत्रले संघीय र प्रदेश सरकारलाई पटक पटक यस विषयमा कुरा उठाउँदै आएको जानकारी दिए । “हिजोका दिनमा महाकाली नदीमा सरकारले पक्की पुल बनाउन सक्छ र भन्थे त्यो अहिले बन्दैछ ।” उपाध्यक्ष पाठकले भने–“सरकारको इच्छा शक्ति भए करिडोर बनेर राष्ट्रिय अर्थतन्त्रमै टेवा पुग्न सक्छ ।”

प्रतिक्रिया