शनिबार, असार २१, २०८२

डा. केसीको सत्याग्रह फेरि स्थगित

नेपालखोज २०७७ भदौ १८ गते १९:०८

काठमाडौं । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गरेका छन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह बस्ने भन्दै जुम्ला गएका थिए ।

तर कोरोनाको प्रभाव बढेपछि केही समयका लागि भन्दै उनले सत्याग्रह स्थगित गरेका छन् । डा. केसीले प्रेस विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिए ।

विज्ञप्तिमा उनले भने, ‘महामारी फैलिँदै जाँदा जुम्लाबासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको छ ।’ त्यसैगरी सरकारले आफ्ना माग पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रह गर्ने जानकारीसहित उनले चेतावनीसमेत दिएका छन् ।

डा. केसीले विज्ञप्तिबाटै यस्तो जोखिम समयमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीहरुलाई नियमित सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया