मंगलबार, वैशाख ३०, २०८२

नागरिक समाजले वागमती प्रदेश शिक्षा नीतिको मस्यौदामाथि सुझाव दियाे

नेपालखोज २०७७ भदौ १९ गते १६:१८

काठमाडौं । बालअधिकारको क्षेत्रमा क्रियाशील राष्ट्रिय स्तरका १५ भन्दा बढी संजालहरुको ऐक्यवद्धतामा छलफल कार्यक्रम गरिएको छ । “बागमती प्रदेशको शिक्षा नीतिको मस्यौदामा सुझावका लागि नीतिगत बहस” कार्यक्रम सामाजिक सञ्जाल जुम मिटिङबाट गरिएको थियो ।

बिहीबार भएको छलफल कार्यक्रम शिक्षा अधिकार अनुगमन समूह, नेपालको आयोजना, लू निभाः बालसरोकार समूह, चाइल्ड नेपाल, पाटन सिविआर, युवालय, आसमान नेपाल र जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्य र बालअधिकारको क्षेत्रमा क्रियाशील राष्ट्रिय स्तरका १५ भन्दा बढी संजालहरुको ऐक्यवद्धतामा भएको थियो ।

बागमति प्रदेश सरकारले तयार गरेको शिक्षा नीतिलाई आवश्यक सुझाव दिने उद्देश्यले यो नीतिगत बहस कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा सरकारको तर्फबाट सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उपसचिव दिपेन्द्र सुवेदीले वागमती प्रदेशको ३३ बँुदे शिक्षा नीति र कार्यनीति संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए । नागरिक समाजको तर्फबाट शिक्षा विज्ञ विश्लेषक श्याम श्रेष्ठले नीतिको उद्देश्यमा नै वैज्ञानिक व्यक्तित्व उत्पादन गर्ने उद्देश्य समावेश गर्नुपर्ने र विद्यार्थीहरुलाई जीवन उपयोगी सीपसँग जोड दिनुपर्ने कुरा उल्लेख गरेका थिए ।

छलफल कार्यक्रममा टिप्पणीकर्ता पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधरले अवको शिक्षा नीतिमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोडने कुरा नीतिमा आउनुपर्ने बताए । प्रा.डा. मनप्रसाद वाग्लेले नीतिको दफा अनुसार नै टिप्पणी गर्दै यस नीतिमा विद्यालय शिक्षालाई भन्दा पनि बढी उच्च शिक्षा र विश्वविद्यालयको शिक्षालाई नै बढी जोड दिनुपर्ने र ३३ वटा शिक्षाका नीतिहरु मध्ये १७ वटा नीति स्वागत योग्य र बाँकीका नीतिहरुमा अझ सुधार गर्नुपर्ने कुरा उल्लेख गरे । वागमती प्रदेशको शिक्षा नीतिउपर टिप्पणी गर्दै डा. मिनाक्षी दाहालले अवको नीतिमा उच्च शिक्षा र विश्व विद्यालयहरुको नक्सांकनका कुराहरु र एसईईका कुराहरु पनि नीतिमा ल्याउनुपर्ने कुरा व्यक्त गरिन् ।

कार्यक्रममा शिक्षाका क्षेत्रमा क्रियाशील विभिन्न संजालका नेतृत्व व्यक्तित्व, शिक्षामा लामो समयसम्म क्रियाशील विद्वत वर्ग, पत्रकार, शिक्षाविद, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्था गरी करिव ८० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा सहभागीका तर्फबाट पूर्व शिक्षा सचिव महाश्रम शर्मा, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, शिक्षाविद् विद्यानाथ कोईरालालगायतले अवको शिक्षा नीतिका लागि अमूल्य सुझावहरु प्रदान गरेका थिए ।

शिक्षा अधिकार अनुगमन समूह नेपालका संयोजक संन्तराम डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका संस्थापक संयोजक एवं लू निभाःका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा शिक्षा अधिकार समूहका सदस्य एवं चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले मोडरेशन गरेका थिए । अन्तमा सहभागीहरुबाट आएको सुझाव स्वीकार गर्दै प्रस्तुतकर्ता दिपेन्द्र सुवेदीले उक्त सुझावहरुलाई समावेश गरेर मात्र वागमती प्रदेशको शिक्षा नीतिलाई अन्तिम रुप दिने प्रतिवद्धता समेत व्यक्त गरे । समूहका संयोजक सन्तराम डंगोलले कार्यक्रमबाट प्राप्त सुझाव तथा टिप्पणीलाई प्रदेश सरकारमा पु¥याउने र नीतिलाई सुदृढ बनाउनका लागि सामाजिक विकास मन्त्रालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्र्देैै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया