शनिबार, वैशाख १५, २०८१

कोरोनाको कहरमा आत्मनिर्भर विद्यार्थीको जनजीवन

नेपालखोज २०७७ भदौ २३ गते १८:१८

यतिवेला देश मात्र नभई संसार नै कोरोना सङ्क्रमणबाट ग्रस्त भएको छ । विश्वभर करिब २ करोड ७५ लाख मानिस कोरोना सक्रमित भइसकेका छन् भने झण्डै ९ लाखको मृत्यु भइसकेको छ ।

यो महामारीको भयबाट नेपाल समेत अछुतो छैन । नेपालमा ४७ हजार २ सय २६ जना सङ्क्रमित भएका छन् भने मृतकको सङ्ख्या ३०० पुगेको छ । कोरानाको संक्रमणबाट बच्नका लागि भन्दै सरकारले गत चैत ११ बाट लकडाउन घोषणा गरेको थियो । तर, विगतलाई नियाल्दा संक्रमण नियन्त्रण नभई दिनानुदिन संक्रमण बढ्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाउँछ ।

लकडाउन सुरु भएसँगै देशभर आर्थिक, सामाजिक लगायतका न्युनतम मानवीय आवश्यकताहरु समेत परिपुर्ति गर्न कठीनाई उत्पन्न भएको छ । देशको अर्थतन्त्र विखण्डनको संघारमा पुुगेको संम्वन्धित विज्ञहरु बताउँछन् । लकडाउनले गर्दा सिर्जित भएका समस्याहरुका कारण सरिता चौधरी, नीरा अधिकारीलगायत धेरैले रोजगार गुमाएका छन् ।

सरिता चौधरी पेसाले पत्रकार हुन् । उनले अनलाइन पोर्टलमा संम्वादाताको काम गर्दै थिइन् । उनले भनिन्, ‘लकडाउन भएपछि मैले घर बसेर काम गर्न थालेँ । तीन महिना तलब बिना नै काम गरेँ । तीन महिनापछि तलब पाएँ तर ४० प्रतिशत कटौती गरेर मात्र । मेरो फोनमा म्यासेज देख्नासाथ मैले कटौति गरिएको पैसाको बारेमा सोध्न जरुरी ठानेँ । हाकिमलाई फोन डायल गरेँ । उत्तरमा उनले घर बसेर काम गर्दा आठ घण्टाको अवधि नपुगेकाले कटौती गरेको तथा लकडाउनका बेला यसरी मात्र तलब दिन सकिने बताए । म निरास भएर त्यत्ति नै भए पनि तलब स्वीकार गर्न बाध्य भएँ । मैले कामलाई निरन्तरता दिन थालेँ । तर, पहिलेको वातावरण हुन सकेन । हाकिमले स–सानो कुरामा निहुँ खोज्न थाले । म काम छाड्न वाध्य भएँ । लकडाउनका कारण मैले रोजगार गुमाएँ । काठमाडौंको ठाउँमा काम नभएपछि म अब के खाएर बस्ने, घरभाडा कसरी तिर्ने अन्योलमा परेँ । म सामान बाँधेर घर फर्किन तयार भएको थिएँ । तर, अनलाइन कक्षाका कारण रोकिएँ । जसरी भएपनि पढाइलाई निरन्तरता दिने निधो गरेँ । अब अर्को कामको खोजीमा छु ।’

त्यसैगरी नीरा अधिकारी पेसाले परामर्सदाता हुन् । उनी अब्रोड शिक्षाका लागि विद्यार्थीलाई काउन्सीलिङ गर्छिन् । अहिले कोरोनाको कहरपछि लकडाउन भइसकेको अवस्थामा उनी घरमै बस्ने बाहेक अरु कुनै विकल्प नभएको बताइन् । उनले भनिन्,– ‘म आफ्नो पेसामा खुशी थिएँ र राम्रो तलब लिइरहेकी थिएँ । तर, लकडाउन भएर ६ महिनादेखि बेरोजगार छु । घरबाट पटक–पटक बोलाउनु भएपछि म केहि गरी घर फर्किएँ ।’

यसरी काठमाडौंमा काम गर्दै आफु आत्मनिर्भर भएर बस्दै आएका विद्यार्थीहरुले कठीनाइको सामना गर्नुपरेको छ । धेरै विद्यार्थीहरु घर फर्किन बाध्य भए । अब कहिले पढाइ सुरु हुन्छ, रोकिएको परीक्षा कहिले हुन्छ भनेर केही जानकारी छैन । अहिले काठमाडौंमा विद्यार्थीको संङ्ख्या घटेको छ । हरेक महिना कोठाको भाडा बढिरहेको छ । घर बसेपनि घरबेटीको फोन आइरहेको तथा मानसिक तनावमा रहेको उनीहरु बताउँछन् । अदालतबाट जारी गरिएको आदेशलाई घरबेटीहरुले उल्लंघन गरेर भाडामा बस्ने विद्यार्थीसँग पैसा माग्ने, कोठाबाट निकाल्नेलगायतका कार्यहरु देखिरहँदा पनि सरकारी पक्ष भने मुकदर्शक बनेको छ ।

प्रतिक्रिया