बिहीबार, चैत १५, २०८०

पिसीआर टेष्टमा खटिएका स्वास्थ्यकर्मीको वेदना :
कोभिड र मेरो होटेल क्वारेन्टाइन

नेपालखोज २०७७ भदौ २५ गते ८:०६

सुन्सान रातमा झ्यालबाट यसो पर्दा चियाएर हेर्यो अग्ला–अग्ला घर र अँध्यारो कोठाले मलाइ प्राय तर्साउँछ । लाग्छ यी सबै भुत घर हुन् । हिजोको त्यो चहलपहल, झिलिमिली सम्झिएर अचम्म लाग्छ कि ती मानिस कहाँ लुके होलान्, यो कोभिडको डरले । कहाँ बसेर रोए होलान् भोको पेट छट्पटाउदै । ती होटेलहरुमा काम गर्ने मजदुर कहाँ भागे होलान् ती व्यवसायी जसले बैंकको ब्याज तिर्न नसकेर करोडौं घाटा व्यहोर्दै छन् ।

करोडौं आम्दानीको केन्द्र सुन्धाराका होटेलका कालो कोठेरीमा परेवाले रातभर पखेटा फर्फराएको मात्र सुनिन्छ । अनि आफुलाइ सम्झिन्छु आफ्नो ठूलो दुःखले बनाएको सानो झुपडी जहाँ भित्र पसेपछि दिनभर पिपीई लगाएर ड्युटी सकिएपछी फुकाल्ने बित्तिकै हुने मीठो शितलता प्रदान हुन्थ्यो । अझै सम्झिन्छु मेरो मुटुको धड्कन मेरी छोरी जो म घर पुगेको थाह पाउँने वित्तिकै कुदेर झोला खोतल्न आइपुग्थिन् अनि मैले नुहाईधुवाई सकेपछि तातो र मीठो चिया ल्याएर खुवाउथिन् र भन्थिन ममी यो जागिर छोडिदिनुस अब कति दुःख गर्नुहुन्छ, कोरोना लाग्छ क्या । त्यस्तै, म आएपछि उज्यालो अनुहार बनाएर बोलाउने ससुरा बा अनि के तरकारी ल्यायौ भन्दै खोतलेर केलाईकुलाई पार्ने तथा भोक लाग्यो होला खाजा खायौ ? भनेर सोध्ने सासू आमा । हुनत पेरिसमा बस्ने छोरो र नुवाकोटमा कोरोनाकै लडाई लड्दै मैदानमा होमिएका श्रीमानको माया र सम्झनाले मनमा कहाँ चयन छ र ?

अहिले मेरा साथी पनि नयाँ बनेका छन् । जसले कोरोनाको स्वाब कलेक्सनको जिम्मेवारी निभाउँदै छन् । परिवार पनि तिनै बनेका छन् । होटेलको त्यो खानै नसकिने मोटा दाना गरेका भात र पहेंलो दाल अनि बिहान बेलुकी सँधैभरी पकाउने लौका र सिमीको तरकारी नरुचेर दिक्क मान्दै भोकभोकै खटिएका । यो गर्मीमा पिपीई लगाएर ।

ल्याबमा स्वाब परीक्षण रिपोर्ट रिचेक मा पर्यो भनेपछि भलभल आँसु झर्छ, अनि नेगेटिभ आयो भनेसी खुसीले लामो सास फेरिन्छ । अन्त्यमा मेरा साथीहरुले स्वास्थ्यको बारेमा सोध्ने र आफ्नु केयर गर्नु है भनेर सम्झिएकोमा हार्दिक आभार ।

काठमाडौं महानगरका प्रमुखज्यु, जो आफै कोरोनाको सिकार बन्नु भएको छ उहाँको मिठासपूर्ण बोली र हामीप्रति देखाउनु भएको माया ममताको सम्मान गर्दछु, स्वास्थ्य शाखाका प्रमुखज्यु र कार्यकारीलगायत सम्पुर्ण कर्मचारीबाट प्राप्त सहानुभुती र प्रेमको उच्च सम्मान गर्दछु । हामी मैदानमा होमिएका छौं । कि सबैलाइ जोगाउछौं, कि आफैं कोरोना सक्रमित बन्छौं निश्चित छ । तर, मर्दैनौं यो मर्ने रोग होइन हामी डराएका छैनौं । तपाइहरु जसको घर बाहिर निस्कने काम छैन, ननिस्कनुस । कोरोनाले मरिदैन तर आइसोलेसनमा बस्नुपर्दा र त्यसबाट उत्पन्न मानसीक पीडा चाहिँ सहन सजिलो छैन । त्यसैले सजग हुनुहोस घरमै बस्नुहोस, मेरा सम्पुर्ण इष्टमित्र, साथीभाइहरुमा म यही सल्लाह सुझाव दिन चाहन्छु ।

प्रतिक्रिया