जलनका बिरामीको लागि आवश्यक आहार
आगोले पोलेर, तातो झोल पदार्थ शरीरमा परेर, करेन्ट लागेर वा अन्य कुनै कारणले जलन भएका बिरामीहरूको शरीरबाट पानी निस्कने हुँदा उनीहरू अत्यन्तै कमजोर भएका हुन्छन् । आगोले पालेर ‘गहिरो जलन’ भएको छ भने त जलेको भागबाट धेरै पानी निस्कन्छ र शरीरमा पानीको कमी भएकै कारण बिरामीको ज्यानै पनि जान सक्छ । त्यस्तै, जलनका बिरामीहरूको शरीरमा तागतको कमी हुन्छ, जसले गर्दा जलनको उपचारको क्रममा उनीहरूलाई विशेष प्रकारका आहारको आवश्यकता पर्दछ । जलनका बिरामीको हेरचाह गर्ने व्यक्तिका साथै स्वास्थ्यकर्मीहरूलाई पनि जलनको बिरामीलाई ‘के खुवाउनु पर्छ र के खुवाउनु हुँदैन’ भन्नेबारे ज्ञान हुनु पर्दछ । तसर्थ, जलनको बिरामीहरूको लागि आवश्यक आहारबारे जानकारी गराउने उद्देश्यले यस लेख तयार पारिएको हो ।
जलनको बिरामीका लागि आवश्यक खाना
जलनका बिरामीलाई अन्य रोगको बिरामीलाईभन्दा बढी पोशिलो र तागतिलो खानेकुरा खुवाउनु पर्दछ । बिरामीको घाउ चाँडै निको हुनका लागि विभिन्न प्रकारका पोषणयुक्त खानेकुराको आवश्यकता पर्दछ । जलनका बिरामीहरूलाई साबिकको समयमाभन्दा बढी मात्रामा कार्बोहाइट्रेट, प्रोटिन, चिल्लो पदार्थ तथा भिटामिन आवश्यक हुन्छ । साधारणतया जलनका बिरामीले खानुपर्ने खानामा दाल, भात, तरकारी, साग, माछा, मासु, अण्डा, पनिर, तोफु, दूध, दहि र मोहि पर्दछ ।
खानाको मात्रा, खाने तरिका र खानाको तालिका
बिरामीको शरीरमा जलन भएको क्षेत्र (प्रतिशत) र गहिराईअनुसार खानेकुराको मात्रा निर्धारण गर्नु पर्दछ । जलनको प्रतिशत, जलन भएको व्यक्तिको उमेर, उनको तौल, आदि सबै कुराको विचार गरेर आहार तालिका बनाउनु पर्दछ । जलन भएको व्यक्ति बालबालिका, युवा, वयस्क वा वृद्धवृद्धा को हुन् भन्ने कुराका आधारमा खानाको प्रकार र मात्रा निर्धारण गरिन्छ । यसका साथसाथै बिरामीलाई खानाबारे सुझाव दिँदा बिरामी कहाँबाट आएको हो, त्यहाँको खानपिन अवस्था कस्तो छ, बिरामीको खाना खानसक्ने क्षमता, उनको आनिबानी सबै कुराहरूको बिचार गर्नु जरुरी हन्छ । बिरामी अस्पतालमा रहुन्जेल मात्र पोषिलो खानेकुराहरू खाएर हुँदैन, जलनको घाउ निको भएको केही समयसम्म पनि पोषिलो खानेकुराहरू खानु जरुरी हुन्छ । कतिपय मानिसहरूमा जलन हुनुअघिको उसको खानेबानी र जलन भएपछि उपचार हुने क्रममा आवश्यक खानपानमा भिन्नता हुनसक्छ । तसर्थ, यस्तो अवस्थामा बिरामी वा बिरामीको परिवारले आहार विशेषज्ञकोे परामर्शम लिँदा उपयुक्त हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको पाको उमेरका मानिसहरूलाई पचाउन सक्ने खाना दिनुपर्छ । जलनका बिरामी बालबालिका हुन् भने उनीहरू खाना खान रुचि राख्दैनन् । त्यसैले, उनीहरूलाई आकर्षक ढंगले खाना देख्दा ‘खाउँ खाउँ लाग्ने’ गरी खानेकुरा दिनु पर्दछ ।
जलन भएको बिरामीको शरीरमा पानीको मात्रा कम हुन्छ । रगत पनि कम हुनसक्छ । उसमा रोगसँग जुध्न सक्ने क्षमता अत्यन्तै कम हुन्छ । त्यसैले उसले सामान्य व्यक्तिले खानेभन्दा बढी खाना खानु पर्दछ । बिरामीको तौललाई नियमित अनुगमन गरी तौललाई सन्तुलनमा राख्न पौष्टिक आहार दिनु पर्दछ ।
दीर्घरोग भएका जलनका बिरामीको लागि खाना
यदि जलनसँगै अरु कुनै रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, क्षयरोग, दम, आदि छ भने सोही अनुसारको पोषण आहार तालिका बनाएर दिनुपर्छ । यसमा व्यक्तिको उमेर, रोगको प्रकार, जलनको प्रतिशत, जीवनशैली, बिरामी शाकाहारी या मांसाहारी हो भन्ने बुझेर मात्र खानेकुराको आहार तालिका बनाउनु पर्दछ । पोषण र यसको महत्वबारे बिरामी र उनलाई रेखदेख गर्ने व्यक्तिलाई उचित सल्लाह दिनुपर्छ । सही परामर्शले बिरामीको हौसला बढाई चाँडो निको हुन मदत गर्दछ । यदि गम्भीर प्रकारको जलन भएको छ र बिरामीले मुखबाट खान सक्ने अवस्था छैन भने उसलाई नाकबाट पाइप राखेर झोलिलो खानेकुरा दिनुपर्छ । मौसम अनुसारको फलफूल, सागपात, तरकारी, माछा, मासु, दूध दही, मोही, पनिर, आलसको धुलो, बदाम, चना, आदि खानेकुरा मिलाएर दिनु पर्दछ ।
जलनको बिरामीले खान नहुने कुरा
जलनको बिरामीले कफि, चिया, चकलेट जस्ता क्याफेन भएका कुराहरू खानु हुन्न । त्यस्तै, केक, पाउरोटी जस्ता कुराहरू र मैदाबाट बनेको खानेकुरा (मम, चाउचाउ, चाउमिन) पनि नदिँदा राम्रो हुन्छ । अन्य पेय पदार्थको सम्बन्धमा कोक, फेन्टा दिनु हुँदैन । अहिले बजारमा पाइने रेडबुल जस्ता कुनै पनि प्रकारको ‘इनर्जी ड्रिङ्क’ जलनको बिरामीका लागि हानिकारक हुन्छ । साथै, यस्ता बिरामीले जाँड, रक्सी र चुरोट जस्ता कुराहरूको सेवन अनिवार्य रुपमा बन्द गर्नुपर्छ ।
नेपालमा कार्यमूलक अनुसन्धानमा सङ्लग्न संस्था ‘सगुन नेपाल’ र जलन विषयमा कार्यरत संस्था Intreburns को संयुक्त पहलमा सन् २०१८ देखि नेपालका विभिन्न जिल्लामा “जलन रोकथाम अभियान” सञ्चालन भईरहेको छ । त्यही कार्यमूलक अनुसन्धान सञ्चालनका क्रममा यस लेख तयार पारिएको हो ।
प्रतिक्रिया