काठमाडौंमा फुटपाथ तथा ठेला व्यापारलाई पूर्ण प्रतिवन्ध लगाउन महानगरको माग
काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा ठेला व्यवसायलाई पूर्ण प्रतिवन्ध लगाउन प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको निशेधाज्ञा खुकुलो बनाउन अन्य व्यवसायसँगै फुटपाथ र ठेला व्यापार पनि चलाउन पाइने प्रमुख जिल्ला अधिकारीबाट आदेश आएपछि महानगरको ध्यानाकर्षण भएको हो ।
शुक्रबार महानगरपालिकाले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र लेख्दै ‘फुटपाथ पसल तथा ठेला व्यापार’ भन्ने वाक्यांश जारी आदेशबाट हटाइ त्यस्तो व्यापारमा पूर्ण प्रतिवन्ध लाग्ने गरी पुनः आदेश जारी गर्न समेत अनुरोध गरेको छ ।
गत भदौ २४ गते प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशको बुंदा नं. १० प्रति राजधानीका स्थानीय वासिन्दाको ध्यान आकृष्ट हुन पुगेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । बुँदा नं. १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलोक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ ।’ उल्लेख छ ।
महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा फुटपाथ पसल तथा ठेला व्यापारलाई खुला गरी कारोबार गर्न सक्ने अवस्थाको विद्यमानताले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलने जोखिममा थप व्यापकता आउनसक्ने, यस प्रकारको व्यापारमा सहभागी हुनेहरुले स्वास्थ्य सुरक्षाका उपायहरुको अवलम्बन गर्ने सक्ने न्यून सम्भावना र सो को प्रभावकारी अनुगमन गर्न समेत समस्या हुने तथा त्यस्ता व्यापारीहरुमा संक्रमण देखिएमा प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङ समेत गर्न नसकिने एवं फुटपाथ तथा ठेला व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीति रहेको अवस्था समेतलाई मध्यनजर गरी उक्त बुँदामा रहेको ‘फुटपाथ पसल तथा ठेला व्यापार’ भन्ने वाक्यांश हटाई वा त्यस्तो व्यापारमा पूर्ण प्रतिवन्ध लाग्नेगरी पुनः आदेश जारी गर्न अनुरोध गर्दै यो ध्यानाकर्षण पत्र प्रेषित गरेकी छु । भनिएको छ ।
प्रतिक्रिया