शुक्रबार, वैशाख ७, २०८१

हिंसामा परेकी सञ्चीताको दर्दनाक कथा

नेपालखोज २०७७ असोज ३ गते १३:२५

महिला हिंसा नेपाली समाजमा परम्परादेखि नै देखिँदै आएको समस्या हो । महिला भएकै कारण मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रुपबाट दिइने पीडा, विभिन्न प्रकारका स्रोतको पहुँचमा हुने प्रतिवन्धलगायत जुनैसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्याइने आघात नै महिला हिंसा हो । विगत केही दशकमा देशमा धेरै ठूला राजनैतिक परिवर्तन भए तापनि नेपाली महिलाको जीवनयापन तरिका, उनीहरूको मर्यादा र सामाजिक हैसियतमा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन । पितृसत्तात्मक सोचका कारण महिला र पुरुषबीच विद्यमान सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भएको देखिन्छ । महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट र गालीगलोजका घटनाहरू प्रसस्त हुने गरेका छन् । त्यस्तै, दाइजो वा अन्य नीहुँमा ज्यान मार्ने उद्देश्यले उनीहरूको शरीरमा आगो लगाइदिने, विष खुवाउने, एसिड खन्याएर कुरुप बनाउने जस्ता कूकार्य पनि हुने गरेका छन् । घरव्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट बन्चित गराउने, बोली र व्यवहारमा उनीहरूको आत्मसम्मानमा चोट पुग्ने गरी प्रस्तुत गरिने घटनाहरू हुन्छन् । महिलामाथि हुने गरेका यस्तै प्रकारका हिंसामा परेकी एक महिलाको घटना प्रस्तुत गर्ने जमर्को गरिएको छ, यस सङ्क्षिप्त लेखमार्फत् ।

मकवानपुर जिल्ला, हेटौंडामा यही महिनामा एकजना महिलामाथि परिवारका सदस्यहरूबाट नै हिंसात्मक घटना घटेको छ । यस पंक्तिकारका छिमेकी सञ्चीता (नाम परिवर्तन गरिएको छ) माथि उनकै परिवारका सदस्यहरूबाट शारीरिक तथा मानसिक हिंसा भएको छ । पीडित सञ्चीताको घरमा झगडा प्राय भइरहन्थ्यो । पीडितले यस पंक्तिकारलाई उनीमाथि परिवारका सदस्यहरूबाट हुने अनेक प्रकारका प्रताडनाबारे बेलाबेलामा बताउने गर्थिन् । तर, यो पटकको झगडाले उग्र रुप लियो । उनको घरमा एकाबिहानै ठूलोठूलो स्वरले महिला रोएको सुनियो । परिवारका अन्य सदस्यहरू ती एक्ली महिलालाई नै गाली गरिरहेको थिए । महिलाको श्रीमानले उनलाइ लात्तीले, कुच्चोले र बेलाबेलामा नजिक जे भेटिन्छ त्यसैले हानेको देखियो । कुटपिटको पीडा सहन नसकेपछि सञ्चीताले छिमेकीलाई गुहार्न थालिन् । सञ्चीताको ससुराले उसलाइ कोठाभित्र थुनेर बाहिर निस्कन नसक्ने बनाएका थिए । सञ्चीताको हारगुहार सुनेर छिमेकीहरू उनको घरमा भेला भए । जम्मा भएकाहरूले उनको श्रीमानलाई सम्झाउने प्रयास गर्दा पनि उनको श्रीमानले कुरा सुन्नुको सट्टा भेला भएकाहरूलाई नै उसको घरको मामलामा नबोल्न चेतावनी दिए । समाजले मिलाउन खोज्दा पनि घरका परिवार सबै मिलेर विवाद गर्न थाले । सञ्चीताको एक नाबालक छोरा छ । उनी आफ्नो कलिलो बच्चालाई काखमा लिएर रोइरहेकि थिइन् । आमाको काखमा बसेको बच्चा तर्सेर चिच्याइरहेको थियो । कुनै पनि महिलामाथि हिंसा हुँदा उनका बालबालिका झनै प्रताडित हुन्छन् । आमा र नावालक रोइरहेको दृष्य अत्यन्तै हृदयविदारक थियो । छिमेकीहरूले सहनै नसकी वडा प्रहरी कार्यालयमा फोन गरेर प्रहरीलाई बोलाए र पीडकलाई प्रहरी कार्यालयमा लगियो । सञ्चीतामाथिको हिंसाको घटना त एक प्रतिनिधि घटना मात्र हो । नेपालका लाखौँ महिलाहरु सञ्चीताको जस्तै स्थिति भोग्न बाध्य छन् ।

सञ्चीतामाथि किन हिंसा भयो त ? बिनागल्ती उनका श्रीमान र परिवारका सबैजना किन उनीमाथि निर्मम तरिकाले खनिन्छन् र शारीरिक तथा मानसिक यातना दिन्छन् त ? भन्ने प्रश्नमाथि गहिरिनु आवश्यक छ । तुलनात्मक रुपमा सञ्चीताको परिवार उनको श्रीमानको परिवारको तुलनामा गरिब छ । स्पष्ट रुपमा नभने तापनि उनका श्रीमान र परिवारले सञ्चीताबाट आर्थिक लाभको अपेक्षा राखेको देखिन्छ । विवाहको समय उनका बुवाआमाले एकसरो दाइजो दिएका रहेछन् । सम्भवतः उनका श्रीमान र परिवारले बढी दाइजोको अपेक्षा गरेका थिए । सञ्चीताका अनुसार बेलाबेलामा श्रीमान र परिवारका अन्य सदस्यले यसबारे घोचपेच गर्ने, माइतीलाई हियाएर बोल्ने गर्दथे । सामान्यतया परिवारमा कुनै समस्या पर्दा वा कुनै अनिष्ठ पर्दा महिलालाई नै दोष दिने गरिन्छ । यस परिवारमा पनि बेलाबेलामा सञ्चीतालाई अलछ्छीना भनेर गाली गर्ने र परिवारका सदस्य कसैलाई पनि समस्या पर्दा उनैलाई दोष दिने गर्दथे । सञ्चीता महिनावारी भएको बेलामा उनका परिवारका सबैजना एकै भान्सामा बसेर खाना खाने तर उनलाइ बाहिर बसेर खान लगाउने गर्दथे । सासुले जुठो हातले खाना पस्किएर दिँदा “जुठो हातले दिएको भात कसरी खानु आमा” भनेर भन्दा श्रीमान र सासुले उसलाइ कुच्चाले हिर्काउँदै माथिल्लो तल्लाबाट तल खसालेको बुझियो । यसरी सञ्चीताले सँधैभरी हिंसा खपेर बस्न बाध्य थिइन् । कहिलेकाहीँ माइतीमा कुरा गर्दा पनि उनीहरूले पनि केही गर्न सकेको देखिएन र चुपचाप सहेर बाँच्नु सिवाय केही विकल्प बाँकी रहेको थिएन सञ्चीताको लागि ।

यस्तो पीडामा परेका महिलाहरू आफ्नो अवस्थाको लागि प्राय आफ्नो भाग्यलाई दोष दिने गर्छन् । उनीहरु ‘छोरी भएर जन्मनु परेकोले पीडा पाएको’ ठान्छन् । सञ्चीताको हकमा पनि यही कुरा लागु हुन्छ । शिक्षाको कमी भएकोले यस्तो अवस्थामा कानुनको सहारा लिन सकिन्छ भन्ने ज्ञान पनि थिएन उनलाई । पुरुषमा महिलाप्रतिको गलत हेराई, चेतनाको कमी, मद्यपानको कुलत आदि कारणले तेस्ता पुरुषहरू महिलालाई एक वस्तुको रुपमा लिन्छन् र उनीहरूमाथि हिंस्रक व्यवहार गर्दछन् । वरपरका महिलाहरू पनि पुरुषप्रधान सोँचबाट नै दिक्षित हुने हुँदा खुलेर तेस्ता हिंस्रक पुरुष–चरित्रको विरोध गर्न सक्दैनन् । यस्ता कतिपय घटनाहरू प्रहरीकोमा नपुगेको पनि होइन । तर, प्रहरीहरू पनि यस्तो अवस्थामा सत्यतथ्यको छानविन गरी दोषीहरूलाई कार्यवाही गर्नुको सट्टा दुईथरीलाई राखेर ‘मेलमिलाप’ गराउने गर्दछन् । फर्केर आएपछि तेस्ता पुरुषहरू पुनः महिलामाथि हिंसा गर्न थाल्छन् । यसलाई समाजका सचेत नागरिकहरूले, सम्पूर्ण महिलाहरूले बुझेर समाधानको लागि पहल लिनु जरुरी भइसकेको छ । राज्यले पनि यसको लागि उपयुक्त नीति बनाई त्यो नीतिको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ । हैनभने हाम्रो समाजका थुपै्र महिलाहरू सञ्चीताको जस्तै दर्दनाक जीवन जीउन बाध्य भइ नै रहनेछन् ।

लेखिका करिष्मा अधिकारी मकवानपुर वहुमुखी क्याम्पसको समाजशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत हुन्

प्रतिक्रिया