बिहीबार, वैशाख १३, २०८१

‘महिला सशक्तिकरणका लागि महिला सहकारीको भूमिका अपरिहार्य’

नेपालखोज २०७७ असोज ८ गते १९:५३

नेपाल सरकारले आफ्नो १५औं पञ्चवर्षीय योजनामा ‘सहकारी’लाई मुलुकको आर्थिक विकासको लागि आवश्यक तेस्रो ‘खम्बा’ (वा आधार) मानेको छ । वि.सं. २०१० सालमा नेपालमा पहिलो पल्ट सहकारी विभागको स्थापना भएको थियो भने २०१३ साल चैत्र २० गते चितवन जिल्लामा स्थापना भएको बखान सहकारी संस्थालाई नै नेपालको पहिलो सहकारी मान्ने गरिएको छ । तथापि, पञ्चायतकालमा सहकारीको उल्लेखनीय विकास हुन सकेको देखिँदैन । २०४६ सालसम्म नेपालमा जम्मा ८८४ वटा सहकारी (८३० कृषि सहकारी र ५४ वटा गैरकृषि सहकारी) दर्ता भएका थिए । तर, २०४७ सालमा मुलुकमा आएको राजनैतिक परिवर्तनपश्चात् भने नेपालमा सहकारी अभियान अत्यन्तै सकृय रुपमा विस्तार भएको देखिन्छ । हालसम्म नेपालमा २९ हजार ८२५ सहकारी संघसंस्था दर्ता भइसकेका छन् । ग्रामीण समुदायमा स्थापना गरिएका सहकारी संस्थाहरूले स्थानीय समुदायको, विशेषतः आर्थिक तथा सामाजिक रुपमा कमजोर परिवारको सशक्तिकरणमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ । यस पंक्तिकार पनि विगत १२ वर्षदेखि सहकारी संस्थामार्फत् समुदायका विपन्न तथा सिमान्तकृत महिलाहरूको सशक्तिकरण अभियानमा सङ्लग्न भएकोले मकवानपुर जिल्ला, मनहरी गाउँपालिकामा रहेको सहकारीमा आवद्ध सैयौँ विपन्न तथा विभिन्न कारणले उत्पीडित महिलाहरूले सहकारीमार्फत् आफ्नो जीवनमा परिवर्तन ल्याउन सफल भएका छन् । त्यसमध्ये यसै गाउँपालिकाको महिला सहकारीमा आवद्ध एक महिलाको जीवनमा आएको परिवर्तनलाई घटना–अध्ययनमार्फत् प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

लगभग २० वर्षअघि रुपन्देही जिल्ला, बुटवलकी जमुना गुरुङ (सूचनादाताको आग्रहमा नाम परिवर्तन गरिएको छ) मकवानपुर जिल्ला, (हालको) मनहरी गाउँपालिका, वडा नं. ८ का एकजना तामाङ पुरुषसँग प्रेम विवाह गरी आएकी थिइन् । दुबैले एकअर्कालाई मनपराएर राजीखुसीले विवाह गरेका यो दम्पत्तीको सुरुका केही वर्ष अत्यन्तै सुखद् रह्यो । विवाहको केही वर्षमा नै यिनका दुई छोराहरू जन्मिए । उनीहरूको जीवनमा खुसीयाली र रौनक छायो – ‘आँखाको दुई नानी, दुई सन्तान’ भनेझैँ थियो । जमुना र उनको श्रीमान् मिलेर राजमार्ग छेउ होटल व्यवसाय सुरु गरे । व्यवसाय राम्रोसँग चल्न थाल्यो । यसै क्रममा जमुनाले गाउँमै स्थापित एक महिला सहकारीले आफ्नै टोलमा ‘महिला बचत समूह’ गठन गरेको जानकारी पाइन् र सो समूहमा आवद्ध भइन् । केही समयपश्चात् जमुनाले आफ्नो होटललाई थप लगानी गरेर केही ठूलो बनाउने चाहना गरिन् र सोही सहकारीबाट कर्जा झिकेर व्यवसायलाई बढाइन् पनि । व्यवसायबाट आम्दानी हुनथाल्यो र त्यसबाट होटल र परिवारको खर्च कटाएर पैसा जम्मा गर्न थालिन् । सहकारीबाट थप ऋण लिएर आफू भाडामा बसेको सानो घर पनि आफैले किनिन् । उनको अब बस्नलाई आफ्नै सानो घर थियो भने गुजाराको लागि होटल व्यवसाय पनि थियो । उनी निकै खुसी थिइन् ।

समय बित्दै गयो । उनको परिवारमा गडबढी सुरु भयो । उनका श्रीमान््ले बाहिर अन्य महिलाहरूसँग अनैतिक सम्बन्ध राख्दै हिँड्न थालेको थाहा भयो । सुरुसुरुमा त श्रीमान्लाई सम्झाउने प्रयास गरिन् । तर, श्रीमान्ले ‘तेस्तो काम केही गरेको छैन’ भनेर भन्थे भने बाहिर चाहिँ उनको अन्य महिलासँगको सम्बन्ध जारी नै रह्यो । बिस्तारै यसै विषयलाई लिएर परिवारमा दिनरात झगडा हुन थाल्यो । उनीहरूको पारिवारिक कलहको कारण होटल व्यवसायमा नकारात्मक असर पर्न थाल्यो । पछिल्लो समयमा त श्रीमान्ले उल्टै जमुनालाई होटलमा आउने ग्राहकहरूसँग लागेको भनेर मानसिक र शारीरिक यातना पनि दिन थाले । श्रीमान्को अनावश्यक शंका र यातनाको कारण होटल व्यवसायलाई निरन्तरता दिन नसकिने स्थिति आयो ।

जमुनाले बैकल्पिक व्यवसायको बारेमा सोँच्न थालिन् । उनले सिलाई कार्य गर्नेबारे सोँचिन् र ‘टेलर’ सञ्चालन गर्ने निर्णय गरिन् । यसरी पेशा नै परिवर्तन गरेपछि त श्रीमान्ले शंका गर्न छोड्ला र जीवन सहज होला भनेर सोँचेको, तर श्रीमान्लाई त्यसको केही असर नै परेन । हिंसा दिनानुदिन बढ्न थाल्यो । छरछिमेककै आगाडि जथाभावि भन्ने, बात लगाउने र कुटपिट गर्ने कुरा बढ्न थाल्यो । श्रीमान्बाट यस्तो राक्षसी व्यवहार बढेपछि उनलाई कहाँ जाउ, कतै गएर मरुँकि भन्ने पनि लाग्यो । तर, छोराहरूको मायाले मर्न पनि सकिनन् । बाँच्न त कठीन थियो नै । जमुनाको जीवनमा कालो रातले छोपेको जस्तो भयो । श्रीमान् कूलतमा फँस्दै गए । रक्सी त धेरै पिउँथे नै, पछि त गाँजा पनि खान थाले । शारीरिक र मानसिक पीडा त छँदैथियो, आर्थिक समस्या पनि बढ्न थाल्यो ।

‘श्रीमान् नै हो, न सुध्रिहाल्छन् कि’ भनेर उनले सम्झाइ बुझाइ गरेर सुर्धान धेरै नै कोसिस गरिन् । अन्ततः हार खाएर गाउँपालिका र समाज राखेर पटक–पटक छलफल गरिन् । त्यस्तो छलफलमा सबैको सामु श्रीमान्ले उनीसँग माफी माग्थे । अब त सुध्रेलान् र सुमार्गमा हिँड्लान् भनी भावुक भएर धेरै पटक माफी पनि दिइन् । आफ्नो छोराहरूलाई बाबुआमाको झगडाले नकारात्मक असर नपरोस् भनेर सोँच्थिन् । ‘बाह्र वर्षसम्म पनि कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो बाङ्गोको बाङ्गै’ भनेझैँ दुई चार दिनपछि फेरी उस्तै अवस्था । जति गरेपनि केही नहुने देखेपछि जमुनाले श्रीमान्सँग छुट्टिएर बस्ने निर्णय गरिन् र आफ्ना दुई छोरा लिएर छुट्टिएर बस्न थालिन् । त्यसको केही समयपछि नै उनका श्रीमान्ले अर्की श्रीमती ल्याएर घरमा बस्न थाले । श्रीमान्सँग अलग बस्दा पनि ऊ बेलाबेलामा रक्सी खाएर आउने र गालीगलौज गर्ने गथ्र्यो र कतिपटक त दुनियाँको अगाडि रमिता देखाउँदै पिट्यो पनि । शारीरीक पीडा र मानसिक तनाव सहन नसकेर अन्ततः जमुनाले श्रीमान्सँग कानूनी रुपमा नै सम्बन्ध विच्छेद गरिन् ।

सम्बन्ध विच्छेद भएपछि केही समय त जमुनालाई धेरै गाह्रो भयो । विशेषगरी, एक्लो महिलाले दुई सन्तानलाई हुर्काउनु पर्ने । छरछिमेकले पनि त्यति राम्रो नजरले नहेर्ने । तर, उनले हिम्मत हारिनन् । उनलाई आफ्नो सहकारीको आड थियो । आपूm सम्वद्ध महिला समूहको साथ थियो । हुन पनि जमुनाले सम्बन्ध विच्छेद गरेर एक्लै बस्न थालेपछि कुनै समस्या पर्दा आफ्नो समूहका सदस्यहरूले धेरै नै सहयोग गरे । उनीहरू जहिले पनि जमुनालाई “तिमीले कुनै चिन्ता लिनु पर्दैन, तिमीलाई केही परेमा हामी छौँ” भनेर भन्दा उनको मन ढुक्क हुन्थ्यो । जमुना भन्ने गर्छिन्, “मलाई मेरो सहकारी मेरो माइती जस्तै लाग्छ – जीवनको भरपर्दो सहारा जस्तै लाग्छ ।” हाल जमुना मनहरी बजारमा सानो व्यवसाय गरेर आफ्नो र छोराहरूको जीवन अगाडि बढाउँदै छिन् । उनी वास्तवमा नै एक महिला उद्यमीको रुपमा स्थापित भइसकेकी छिन् ।

सन् १९९४ मा संयुक्त राष्ट्र संघले “महिलामाथि हुने लैंगिक, भाषिक, सामाजिक, धार्मिक, मनोवैज्ञानिक, यौनको आधारमा हुने विभेद महिला हिंसा हो” भनेर परिभाषित गरेको छ । नेपालको संविधान धारा ३८ को उपधारा ३ मा “महिलाको सामाजिक, धार्मिक, सांस्कृतिक, परम्परा वा अन्य कुनै पनि किसिमको आधार बनाएर लैंगिक, शारीरिक, मानसिक, मनोवैज्ञानिक रुपमा पीडा दिनुलाई महिला हिंसामा राख्नुपर्छ र महिला हिंसा कानूनबमोजिम दण्डनीय रहने छ” भनी उल्लेख गरिएको छ । यी सबै कुरा हुँदा पनि महिला हिंसाको घटनामा कमी आएको छैन । हाम्रो देशमा यस्ता घटना झनझनै बढ्दै गइरहेको छ । आखिर महिला हिंसा किन घटिरहेको छैन त ? महिला हिंसासम्बन्धी दण्ड र सजाय कागतमा मात्र सीमित भएको छ ।

महिला हिंसा न्यूनीकरण तथा महिला सशक्तिकरणको लागि भनेर वर्षेनी लाखौँ बजेट बिनियोजित हुन्छ । तरपनि सकारात्मक परिवर्तन भने महसुस गर्न सकिएको छैन । नेपालका ग्रामीण भेगका सयौँ महिलाहरूको अवस्था जमुनाको जस्तै छ । जमुनाको घटना त एक प्रतिनिधि घटना मात्रै हो । यहाँनेर प्रश्न उठ्छ, किन महिलाहरूले हिंसा भोग्नु परेको हो ? किन महिलालाई अनेक प्रकारका लाञ्छना लगाइन्छ ? किन महिलालाई मानवताको व्यवहार गरिँदैन ? मुलुकको आधाभन्दा (केही) बढी जनसङ्ख्या महिलाको हुँदा पनि लाखौँ महिलाहरूले अझै पनि दोस्रो दर्जाको नागरिक बन्नु परेको छ ? किन महिला हिंसाको सम्बन्धमा कडाभन्दा कडा कानुन नबनेको होला ? भन्ने बेलामा महिलालाई देवी वा कालीको रुप भनेर पुज्ने गरे तापनि किन व्यवहारमा महिलामाथि शारीरिक र मानसिक अत्याचार हुने गरेको छ ? भन्ने प्रश्नहरू महत्वपूर्ण छन् । महिलाको लागि बनाइएका योजना तर्जुमा नै महिला मैत्री पो छैन कि ! महिलासम्बन्धी योजना तर्जुमा गर्दा महिलालाई निर्णय पारित गर्नको लागि कोरम पु¥याउने सङ्ख्याको रुपमा मात्र लिने कार्य भएको हो कि ! महिला सशक्तिकरणको लागि हुने निर्णायक भूमिकामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुरुषवादी सोँच तथा पितृसत्तात्मक सोँच नै हावी भएको छ कि ! यो सबको बारेमा हामीले अध्ययन, अनुसन्धान, अनुगमन गर्न एकदमै जरुरी देखिन्छ । महिला सशक्तिकरण गर्ने उद्देश्यले हजारौँ संघसंस्था छन्, तापनि महिलाको अवस्थामा परिवर्तन आएको छैन । यी सवालहरूमाथि वृहत छलफल हुनु जरुरी छ र महिलाहरूको वास्तविक सशक्तिकरणको लागि उपयुक्त नीति तथा कानुन बनेर त्यसको प्रभावकारी कार्यान्वयन हुनु पर्दछ ।

माथि उल्लेख गरिएझैँ नेपालमा थुप्रै महिला सहकारी स्थापना भएका छन् । धेरैजसो सहकारीहरूले महिलाहरूको आर्थिक विकासमा मात्र ध्यान दिने गरेको देखिन्छ । विशेषगरी, विपन्न महिलाहरूलाई कर्जा दिएर उनीहरूलाई उद्यमशील बनाउन सहयोग गरेको पाइन्छ । तर, आर्थिक वृद्धिले मात्र महिलाहरू सशक्त हुँदैनन् । उनीहरूले भोग्नु परेको सामाजिक र मनोवैज्ञानिक पीडाहरूलाई पनि सम्वोधन गर्नु जरुरी हुन्छ । जमुनाको घटनाले पनि महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सहकारीको योगदानको आवश्यकता छ भनेर देखाएको छ । साथै, सिमान्तकृत महिलालाई सामाजिक तथा मानसिक रुपमा सशक्त बनाउन पनि सहकारीको भूमिका महत्वपूर्ण छ भन्ने देखिन्छ । तसर्थ, महिलाहरूको वास्तविक सशक्तिकरणको लागि महिला सहकारी, स्थानीय सरकार तथा अन्य सम्पूर्ण सरोकारवालाहरूले ध्यान दिनु आवश्यक छ ।
लेखिका मेनुका उप्रेती मकवानपुर वहुमुखी क्याम्पसको समाजशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन्

 

प्रतिक्रिया