शुक्रबार, वैशाख १४, २०८१

नेपालखोजको एक वर्ष, डिजिटल सञ्चारमा संघर्ष

नेपालखोज २०७७ असोज १२ गते १६:४१

नेपाली सञ्चार माध्यमको इतिहासमा आधुनिक सञ्चार माध्यमहरुको वीचमा २०७६ असोज १२ गतेका दिन तथ्य, यथार्थपरक समाचार आम पाठकलाई पस्कने सोचले नेपालखोज अनलाईन विधिवत रुपमा सञ्चालनमा आएको थियो ।

आजबाट नेपालखोज एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । वडादशैंको शुरुवात अर्थात घटस्थापनाका दिन औपचारिक रुपमा पाठक माझ आएको नेपाल खोजको एक वर्ष निकै नै संघर्षका साथ वितेको छ ।

छिमेकी मुलुक चीनका राष्ट्रपति सि चिङ्गपिङको नेपाल भ्रमणलाई नेपालखोजले विशेष प्राथमिकताका साथ समाचार संप्रेषण गरेको थियो । त्यत्तिमात्र होइन यही अवधिमा हामीले कोभिड–१९ को महामारी झेल्नु प¥यो जुन अहिलेसम्म पनि निरन्तर छ ।

कोभिड–१९ ले महामारीको रुप लिईरहँदा आम नागरिकहरुलाई सत्य र यथार्थ सूचना र समाचार प्रवाह गर्नका लागि अग्रपंक्तिमा रहेर नेपालखोजका सहकर्मीहरु चौविसै घण्टा प्रतिवद्ध भएर लागिरहँदा आफ्नो स्वास्थ्यको ख्याल पटक्कै नगरी नागरिकहरुलाई सूचना प्रवाह गर्न नै संघर्ष गर्नुप¥यो ।

यो एक वर्षको अनुभवलाई हेर्ने हो भने नेपालखोज अनलाइनले पारदर्शिता, जवाफदेहितालाई सम्वोधन गर्ने प्रयास गर्दै केही खोजमूलक अनुसन्धान गर्ने काम पनि ग¥यो । चाहे सरकारी जग्गा कब्जा गरेर संस्था सञ्चालन गरेको होस् या सरकारी निकायहरुमा हुने भ्रष्टाचारका कुराहरु पनि तथ्यगत रुपमा पस्कने प्रयास नेपालखोजका तर्फबाट भयो ।

हो, अहिलेको पत्रकारिता खोज र तथ्य भन्दा भ्रामक समाचारतर्फ उदृत देखिन्छ । पाठकको इच्छा भन्दै पत्रकार आचार संहिता विपरितका समाचारहरुले डिजिटल मिडियामा स्थान पाईरहेका छन् । पत्रकारहरु स्थलगत रिपोटिङ्ग भन्दा फेसवुक र भाईवरबाट आएका पुष्टि नभएका समाचारहरुमा नै रमाईरहेका छन् । यसको मतलव युवा पुस्ता अध्ययन गर्न चाहँदैनन् भन्ने होइन । हामी सञ्चार माध्यम सञ्चालकहरुको खोज र तथ्यगत समाचारमा लगानी भएको देखिँदैन ।

वास्तविक रुपमा भन्ने हो भने पछिल्लो समयमा जसरी अनलाइन मिडियाहरु प्रशस्त खुल्न थालेका छन् । नेपाली पत्रकारितामा प्रश्न उब्जने ठाउँहरु धेरै देखिन्छन् । कतिपय साँच्चै नै पत्रकारिता गर्ने चाहना हुँदाहुँदै पनि कुनै कम्पनी वा ब्राण्डको प्रचार गर्ने स्थानका रुपमा परिचित भएको समेत देखिन्छ ।

विशेषत ः राजनीतिक व्यक्तित्वहरु प्रत्यक्ष संलग्न भएर डिजिटल मिडियाहरु सञ्चालन हुन थालेपछि समाचार तथ्य र खोजमूलक भन्दा कसलाई उछिट्याउने भन्नेमा केन्द्रित भएको पनि देखिन्छ । हो त्यस्तो प्रथाबाट नेपालखोज आजका दिनसम्म मुक्त छ । नेपालखोज कसैको उछितोकाट्ने वा कसैको प्रचारमुखी अनलाईनका रुपमा छैन ।

आफूले खोजेका, सत्य र यथार्थ समाचारहरुले मात्र स्थान पाएको छ । यो गतिमा अगाडि बढिरहँदा निकै नै संघर्ष गर्नुपर्ने देखिएको छ । हामीले भ्रामक र पुष्टि नहुने समाचार छाप्दै छापेनौं । आफ्नो आँखाले देखेका र अनुभव गरेका समाचारलाई प्राथमिकतामा राख्यौं । जसको बोल्ने ठाउँ छैन उसैको वकालत गरिरहेका छौं । अर्थात् हामी आम नेपालीहरु साझा संस्थामा रुपमा स्थापित हुने संकल्प गरेका थियौं र आज त्यही मार्गमा हिँडिरहेका छौं । एक वर्षको अवधिमा आएका उतारचढावलाई सहर्ष स्वीकार गर्दै हामी अझै पनि खोज र अनुसन्धानमा विश्वास गर्दै अगाडि बढ्ने आम पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुमा प्रतिवद्धता जनाउन चाहन्छौं ।

प्रतिक्रिया