शुक्रबार, वैशाख १४, २०८१

नजन्मिएकी छोरीमाथिको अन्याय

नेपालखोज २०७७ असोज १४ गते २१:१५

शिक्षा, स्वास्थ्य र चेतनाको विकास र विस्तार हुँदै गएको भए तापनि हाम्रो समाजमा विद्यमान लैङ्गीक विभेद भने वर्तमान समयसम्म कायम नै रहेको पाइन्छ । परम्परागत समयदेखी आजसम्म विद्यमान लैङ्गीक विभेदको स्वरूपमा भने परिवर्तन हुँदै आएको देखिन्छ । गत ८ दशकमा नेपाली समाजले विभिन्न राजनैतिक संरचना भोगेको छ । समयकालमा सामाजिक–आर्थिक अवस्था र राजनीतिक ढाँचामा परिवर्तन आएको छ, तापनि समाजमा छोरा र छोरीबीच हेरिने विभेदकारी दृष्टिकोणमा भने उलेख्य परिवर्तन हुन सकेको छैन । अझै पनि परिवारमा पिताको र समाजमा पुरुषको शासन नै कायम छ । परिवारमा महिलालाई सहयोगीको भूमिकामा मात्र सिमित गरिएको छ भने कतिपय समाजमा पशुसरह व्यवहार गर्ने गरिन्छ । वंश–परम्परा चलाउन छोरा नै खोज्ने नाममा हज्जारौँ छोरीहरु गर्भमा नै मारिन्छन् । यो किन हुन्छ र यसले समाजमा कस्तो असर पारेको छ भन्नेबारे वहस सिर्जना गर्नु नै यस सङ्क्षिप्त लेखको मुल उद्देश्य हो ।

नेपालमा अझै पनि पितृसत्ता कायम नै छ । तर, यो नेपालमा मात्र नभएर दक्षिण एसिया लगायत विश्वका थुप्रै मुलुकलाई पितृसत्ताले अद्यापि नराम्रोसँग गाँजेको छ । ‘पितृसत्ता’ धेरै नै प्रयोग हुने शब्दावलीमा पर्दछ । ‘पितृ’ शब्द पिताबाट आएको हुनाले सामान्य भाषामा पिताको राज वा पिताको शासनलाई पितृसत्ता भनेर बुझ्न सकिन्छ । पिता भन्नेबित्तिकै पुरुष हुनाले यसलाई पुरुषको राज वा शासन भने बुझ्नुपर्ने हुन्छ । हाम्रो समाजमा विकास के कसरी गर्ने भन्नेबारे पुरुषले नै सोँच्छन्, पुरुषले नीति नियम बनाउँछन्, सम्पूर्ण कार्यको नेतृत्व पुरुषले नै गर्छन् र यी सबै कुराहरुबाट पुरुषहरु नै लाभान्वित हुन्छन् । नेपालमा झण्डै १२६ भन्दा बढी जातजाति, जनजाति छन् । केही जनजातिमा महिलाको स्थान अन्यको तुलनामा भिन्न वा केही राम्रो भए तापनि समग्रमा नेपाली समाजमा पितृसत्ता नै हावि छ । महिला अधिकारवादी नेतृ कमला भासिन भन्छिन्, “पितृसत्ता तेस्तो संरचना हो जहाँ महिलाहरुमाथि पुरूषले दमन, शोषण, विभेद वा शासन गर्दछ ।” नेपालको स्थिति पनि तेस्तै हो ।

पितृसत्तात्मक सोँचकै उपज मान्नुपर्छ, परिवार, समुदाय र राष्ट्रिय तहमा पुरुष वर्चश्व स्थापित भएको छ । विभिन्न धर्मले पनि पितृसत्तालाई नै भरणपोषण गरेको छ । साना नानीवावुहरुले शैशवकालदेखि नै परिवारका सदस्यहरुबाट पितृसत्ताको पाठ पढ्न थाल्छन् । पछि बिस्तारै विद्यालय जान थालेपछि उनीहरुलाई तेही पाठ पढाइन्छ, घोकाइन्छ र सिकाइन्छ । उनीहरुले सानैदेखि छोरीले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा सिक्न थाल्छन् । छोरीले कसरी हिँड्नुपर्छ, कसरी बस्नुपर्छ, कसरी बोल्नुपर्छ, कस्तो लुगा लगाउनुपर्छ, आदि नियमहरु घोक्दै जान्छन् । अन्ततः महिलाहरु पनि पितृसत्ताको सामाजिकीकरणबाट यसरी ‘दिक्षित’ हुन्छन् कि कतिपय महिलाहरु नै पितृसत्ताको संरक्षण गर्न थाल्दछन् – यसरी उनीहरु पितृसत्ताका सिकार बन्छन् । यसले छोरीहरु जन्मिनुअघि नै अन्यायको सिकार बन्छन् । कति छोरीहरु त जन्मनुअघि नै मर्न बाध्य हुन्छन् । वास्तवमा उनीहरु मारिन्छन्, उनीहरुको निर्मम हत्या हुन्छ । नेपाली समाजमा गर्भावस्थामा नै लिङ्ग पहिचान गरी यदि छोरी भएमा गर्भमै मारिदिने प्रवृत्ति बढ्दो छ । छोराको चाहनामा कैयौँ छोरीहरुलाई गर्भमा नै मारिदिने गरेका छन् । यसको सम्बन्धमा एक प्रतिनिधि घटना प्रस्तुत गर्न चाहन्छु ।

घटना मकवानपुर जिल्लाको हो । पितृसत्ताको साँेचबाट शिकार हुन पुगेकी एक महिला हुन् राधिका ढकाल (सूचनादाताको अनुरोधमा नाम परिवर्तन गरिएको छ) । पेशाले शिक्षक पिताको परिवारमा जन्मेकी उनको २० वर्षको उमेरमा नै विवाह भएको थियो । अध्ययनका हिसाबले स्नातकोत्तर तह पुरा गरेकी राधिकाको कथा दर्दनाक छ । उनको विवाह एक सम्पन्न परिवारमा भएको थियो । विहे गरेको वर्षदिन भित्रै उनको कोखबाट एक छोरीको जन्म भयो । पहिलो छोरीका सम्बन्धमा खासै प्रश्न नउठे तापनि उनीमाथि दोस्रो सन्तान भने छोरा नै हुनुपर्ने अप्रत्यक्ष दवाव थियो । दोस्रो पटक गर्भवती हुँदा उनको परिवारले गर्भावस्थामा नै लिङ्ग पहिचान गरी छोरी नै हो भन्ने थाहा भएपछि उनको गर्भपतन गराउन लगाए । यो क्रम तेस्रो पटक गर्भवती हुँदा पनि दोहोरियो, किनकि त्यो पटक पनि गर्भमा छोरी नै रहेको पत्ता लाग्यो । दुईपटक गर्भपतन गराउन बाध्य राधिकाले त्यसपछि गर्भवती हुँदा भने गर्भजाँच गराउन मानिनन् । पुनः उनको छोरी नै जन्मियो । त्यसपछि त उनको परिवारमा उनको हैसियत झनै खस्कियो । छोरी पाएकै भएर हेँला गर्ने, अनावश्यक कचकच गर्ने र गालीगलोजको क्रम बढ्न थाल्यो । आजित भएर उनले हार मान्नु प¥यो र त्यसपछि पनि दुईपटक गर्भवती हुँदा गर्भमा छोरी देखिएपछि दुवैपटक गर्भपतन गर्न बाध्य भईन् । त्यसपछि भने छोरा देखियो र राधिकालाई राहत मिल्यो । छ महिनासम्म अत्यन्तै नाजुक अवस्थामा थलिएर शल्यक्रिया गरी छोरा जन्म्यो । चार छोरीको भ्रुणहत्यापछि हाल उनका दुई छोरी र एक छोरा छन् ।

पटकपटकको गर्भपतनको कारण उनले झण्डै ज्यान गुमाउनु परेको थियो । अहिले उनको स्वास्थ अवस्था अत्यन्तै नाजुक छ । उनी दीर्घरोगको सिकार भएकी छिन् । उनको स्वास्थ्य अवस्थामा त प्रतिकुल असर प¥यो नै त्यसबाहेक राधिकाले मानसिक पीडाबाट पनि गुज्रनु परेको छ । निसन्देहः एक आमाको लागि छोरा र छोरी बराबर हुन्छ । गर्भमा आएपछि आमालाई छोरा वा छोरी दुबै आफ्नो प्राणभन्दा प्यारो लाग्छ । तर, समाजले निर्माण गरेको ‘छोराको महत्व’को सोँचले आमाको त्यो भावनालाई मारिदिन्छ । त्यस्तो अवस्थामा उनको मानसिक अवस्थामा गहिरो आघात पर्न जान्छ । विहे भएको लगभग १६ वर्ष भित्रमा राधिकाले आफ्ना इच्छा र भावनाका विपरित यी सबै प्रताडनाको सामना गर्नुप¥यो । त्यो क्रममा उनले परिवारका पुरुषहरुबाट मात्र होइन पितृसत्तात्मक संरचनामै हुर्किएका महिलाहरुबाट पनि हेलाँ, तिरस्कार र अनेक प्रकारका खप्कीहरु झेल्नु प¥यो । यसको परिणाम उनले भोगिरहेकी छिन् र अझै जिन्दगीभर भोग्नुपर्ने छ ।

राधिकाको घटना त हाम्रो समाजको एक प्रतिनिधि घटना मात्र हो । यहाँ राधिकाको जस्तो स्थिति भोगिरहेका महिलाहरु हज्जारौँ छन् । यसले महिलाको अधिकार हनन गरेको मात्र होइन, महिलामाथि अत्याचार नै भइरहेको कुरा स्पष्ट पार्दछ । महिलाहरुले अन्यायमा परेर आफ्ना इच्छाविपरित बच्चा जन्माउन नपरोस् भनी ‘वैधानिक गर्भपतन’ को कानुन बनाइएको हो । तर, उक्त कानुनलाई पुनः महिलकाकै हकहित र भावना विपरित प्रयोग गरिएको छ । यसलाई केहीले आर्थिक उपार्जनको अवैधानिक अश्त्र बनाएका छन् ।
समस्या महिलामाथि अन्याय गर्ने पुरुषहरुको मात्र होइन । महिलालाई उपभोग्य वस्तु ठान्ने पुरुषबादी सोँच निर्माण गर्ने सामाजिक संरचनाको हो । तसर्थ, सबै महिला र पुरुषहरुलाई पितृसत्तात्मक संरचनाबाट मुक्त गर्न जरुरी छ । यसको लागि समाजको आमुल रुपान्तरण हुनु पर्दछ । पितृसत्ता र यसको निर्माण प्रक्रियाबारे व्यापक वहस चलाई रुपान्तरणको लागि सामूहिक प्रयासको आवश्यकता देखिन्छ । औपचारिक र अनौपचारिक शिक्षा प्रणालीमा यस्ता विषयवस्तु समावेस गरिनु पर्दछ । सबैभन्दा पहिला त नेपालका महिलाहरु स्वयंले पितृसत्ताबारे स्पष्ट भई सामाजिक न्यायसहितको समाज निर्माणको लागि प्रतिवद्ध हुनु पर्दछ । यसको अर्थ पितृसत्ता ढालेर मातृसत्ता स्थापना गर्ने होइन, बरु महिला र पुरुष दुवै लिङ्ग, जातजाति र सम्पूर्ण सिमान्तृकको हकअधिकारको संरक्षण गर्ने समतामूलक समाज निर्माणको लागि पैरवी गर्नुपर्छ । महिलाहरु प्रताडित भइरहने समाजलाई सभ्य समाज मान्न सकिँदैन । हामी सबै सभ्य समाज निर्माणको लागि कटिवद्ध हुनु पर्दछ ।
लेखिका कल्पना ढकाल मकवानपुर वहुमुखी क्याम्पसको समाजशास्त्र संकाय, स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन्

प्रतिक्रिया