तातोपानी नाका आठ महिनापछि खुल्यो
काठमाडौं । नेपाल चीनबीचको तातोपानी नाका सञ्चालनमा आएको छ। माघ १४ गतेदेखि बन्द रहेको नाका आजदेखि सञ्चालनमा आएको हो।
बीचमा केहि दिन सञ्चालन भएपनि नाका पुनः बन्द भएको थियो। आजदेखि भने सामान आयात निर्यात सुचारु भएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जालमा अन्ततः चीन र नेपालको संयुक्त प्रयासबाट झ्याङमु (तातोपानी) नाका आजदेखि सञ्चालनमा आएको बताएकी छन्।
चीनबाट विशेषतः नेपालमा कपडा आयत हुने गर्छ। तर आयात रोकिँदा दशैंको लागि बजारमा कपडा नै अभाव हुने अवस्था आएको थियो। व्यवसायीहरुले चीनतर्फको नाका खुलाउन प्रयास गर्दै आएका थिए। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनको वाणिज्य मन्त्रालयको एशिया मामिला विभागसँग छलफल गरेको थियो।
यहि असोज ८ गते भएको छलफलमा नेपालको तर्फबाट आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले नेतृत्व गरेका थिए भने चीनको तर्फबाट महानिर्देशक पेङ गार्ङले नेतृत्व गरेका थिए। सो छलफलले रसुवागढी र तातोपानी दुवै नाका सञ्चालनमा ल्याउने सहमति गरेको थियो। सोही अनुसार आजदेखि तातोपानी नाका सञ्चालनमा आएको हो।

प्रतिक्रिया