के तपाईलाई थाहा छ ? स्मार्टफोनले अब कुकुर भुक्दा पनि नोटिफिकेसन दिनेछ
काठमाडौं । एन्ड्रोइड फोनले अब केही निश्चित आवाज पहिचान गरेर नोटिफिकेसन दिने भएको छ । श्रवणशक्ति गुमाएका ९बहिरा० तथा नजिकको कुनै महत्वपूर्ण आवाज सुन्न कठिनाई हुनेहरुलाई स्मार्टफोनले यस्तो जानकारी दिने भएको हो ।
यदि तपाईंले साउन्ड नोटिफिकेसन नामक फिचर अन गर्नु भएको खण्डमा तपाईंको एन्ड्रोइड फोनले केही आवाजको विषयमा तपाईंलाई पुश नोटिफिकेसन, क्यामेराको फ्ल्याश लाइट अथवा भाइब्रेसन मार्फत जानकारी दिनेछ ।
वेयर ओएस लगायतका साउन्ड नोटिफिकेसनलाई सपोर्ट गर्ने डिभाइसले समेत भाइब्रेसन सहित टेक्स्ट नोटिफिकेसन पठाउन सक्नेछ । गुगलका अनुसार यो फिचर पूर्णतः अफलाइनमा आधारित हुनेछ ।
कम्पनीकाअनुसार साउन्ड नोटिफिकेसनले दश वटा भिन्न हल्ला सुन्न सक्छ । जसमा धुँवा तथा आगलागीको अलार्म, साइरन, होहल्ला, बच्चा कराएको, डोरबेल बजेको, ढोका ढकढकाएको, कुकुर भुकेको, घरायसी सामानको बिप, पानी परेको र फोनको घण्टी बजेको आवाज रहेका छन् ।
पिक्सेल फोन तथा अन्य केही एन्ड्रोइड फोनमा साउन्ड नोटिफिकेसन यस अघि नै इन्स्टल भइसकेको छ । जसलाई सेटिङभित्र रहेको एक्सेसिबिलिटी मेनुमा गएर अन गर्न सकिन्छ । यो फिचर तपाईंले गुगलको लाइभ ट्रान्सक्राइब एप डाउनलोड गरेर समेत प्राप्त गर्न सक्नुहुन्छ । जसले रियल टाइममा सुनेको आवाजलाई अक्षरमा रुपान्तरण (ट्रान्सक्राइब) गरिदिन्छ ।

प्रतिक्रिया