शुक्रबार, वैशाख ७, २०८१

सोमनाथ अधिकारी: जीवनस्तर उकास्न प्रविधि आवश्यक छ

नेपालखोज २०७७ असोज ३० गते १६:१७

काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जनताको जीवनस्तर उकास्न प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकको सूचना प्रविधि सम्बन्धी क्षमता विकासका लागि दोस्रो चरणको ‘अनलाइन तालीम’ को शुक्रबार शुभारम्भ गर्दै उनले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवश्यक छ भन्दै शिक्षकलाई प्रविधिप्रेमी बन्न आग्रह गरे । उनले सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिँदै पछिल्लो समय शिक्षा सही दिशामा नगएको भन्ने चिन्ता देखिएकाले यसलाई सही मार्गमा डोर्‍याउनआग्रह गरेका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका सबै विद्यालय चाँडै प्रविधिमैत्री हुने बताए । उनले आगामी १० वर्षभित्रमा विद्यार्थीलाई किताब र झोलामुक्त बनाउने सरकारको अभियान भए पनि आगामी चार वर्षभित्र सबै विद्यालय प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गरे । मन्त्री घिमिरेले प्रदेश सरकारको लगानीमा एक हजार ३०० भन्दा बढी विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण गरिसकिएको जानकारी दिँदै प्रत्येक स्थानीय तहका १०० शिक्षक प्रविधिमैत्री बनाइ अन्य शिक्षकलाई पनि सिकाउने बताएका छन् ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालीमपछि विद्यालयको पठनपाठनमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालय सूचना प्रविधि मैत्री हुन आवश्यक रहेकोमा जोड दिदै शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालीम गत असोज १५ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा ६ स्थानीय तहका ६०० शिक्षक सहभागी छन् । दोस्रो चरणको तालीम शुक्रबारदेखि शुरु भएको हो । दोस्रो चरणका तालीममा १० वटा स्थानीय तहका एक हजार शिक्षक सहभागी भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।

प्रतिक्रिया