बुधबार, वैशाख १२, २०८१

बुधबार १३.९४ अंक बढेको बजारमा १ अर्ब ६३ करोडभन्दा बढीको कारोबार, व्यापारिक समूहको परिसूचकमा सर्वाधिक बृद्धि

नेपालखोज २०७७ कार्तिक ५ गते १५:५३

काठमाडौं । बुधबार शेयर बजार १३ दशमलव ९४ अंक बढेर १ हजार ५९७ दशमलव ७१ विन्दुमा बन्द भएको छ । मंगलबार १२ दशमलव ४७ अंक बढेर नेप्से परिसूचक १ हजार ५८२ दशमलव ८४ विन्दुमा बजार बन्द भएको बजार बुधबार पनि दोहोरो अंकले बढेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १० अंक बढेर ३१६ दशमलव ६५ विन्दुमा पुगेको छ ।

मंगलबारको भन्दा बुधबार परिसूचक सँगै कारोबार रकममा पनि बृद्धि भएको छ । मंगलबार १ अर्ब २७ करोड १८ लाख २९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार भने यो रकम १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार रहेको छ । यो दिन १९२ कम्पनीको उक्त रकम बराबरको ५५ लाख ९ हजार ४४८ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार २० प्रतिशत लाभांश सार्वजनिक गरेको एनआईसी एशिया बैंकको बुधबार सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको छ । यस बैंकको २४ करोड २९ लाख ५७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस बैंकको शेयरमूल्य बुधबार प्रतिकित्ता २४ ले मूल्य बढेर अन्तिम मूल्य प्रतिकित्ता ६०५ रूपैयाँ पुगेको छ ।

बुधबार पनि जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको छ । यो दिन जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशत बढेको हो । प्रतिकित्ता ४८ रूपैयाँले मूल्य बृद्धि भई बुधबार यस कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता ५३६ रूपैयाँ पुगेको छ । दोहोरो अंकले बढेको बजारमा बुधबार नेपाल फाइनान्सका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । नेपाल फाइनान्सको शेयरमूल्य यो दिन सर्वाधिक ५ दशमलव शून्य ५ प्रतिशते घटेको हो । प्रतिकित्ता १६ रूपैयाँले मूल्य घटेर बुधबार नेपाल फाइनान्सको अन्तिम मूल्य प्रतिकित्ता ३०१ रूपैयाँमा झरेको छ ।

बुधबार कारोबारमा आएका १२ समूहमध्य ब्यापारिक समूहको परिसूचक सर्वाधिक २ दशमलव १९ प्रतिशतले बढेको छ । यो दिन होटलको शून्य दशमलव ८५ प्रतिशत, जलविद्युतको १ दशमलव शून्य १ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ७ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत घटेको छ । यो दिन बैंकिङको १ दशमलव ७१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८१ प्रतिशत, अन्यको शून्य दशमलव ३ प्रतिशत, लघुवित्तको शून्य दशमलव १३ प्रतिशत, जीवनको शून्य दशमलव ६१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ९१ प्रतिशत परिसूचक बढेको छ ।

प्रतिक्रिया