बिहीबार, चैत १५, २०८०

ऐतिहासिक धरोहर रानीपोखरीको भव्य उद्घाटन

नेपालखोज २०७७ कार्तिक ५ गते १९:१३

काठमाडौं । ऐतिहासिक धरोहर रानीपोखरीको पुनःनिर्माण पश्चात उद्घाटन गरिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगै पोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरको उद्घाटन गरेकीछन् । राष्ट्रपति भण्डारीले ताम्रपत्रको अनावरण गर्नुहुँदै पोखरीको उद्घाटन गरेकी छन् ।

त्यसैगरी पोखरी उद्घाटनकै क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सांसदहरु, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका सहभागीहरुले पोखरीमा जल अर्पण गरेका थिए । अर्पण गरिएको जल नेपाल र भारतका विभिन्न तीर्थस्थल, नदी र कुण्डहरुबाट संकलन गरिएको हो ।

पोखरी उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरीको पुनः निर्माणले अन्य सम्पदा पुनःनिर्माणका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताएकी छन् । परम्परागत सामग्रीको प्रयोगसहित मौलिक ढाँचामा निर्माण गरिएको रानीपोखरीलाई हेर्दै अन्य सम्पदा पनि निर्माण गर्न सकिने प्रेरणा मिलेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको पुनः निर्माणले ऐतिहासिक सम्पदा पुनः निर्माणका लागि आवश्यक शिक्षा मिलेको र यसको प्रयोगले अन्य सम्पदाको पुनः निर्माणमा सहज हुने बताएका छन् । प्राचीन सम्पदा पुननिर्माण गर्दा धीरता, अनुसन्धान, स्थानीय तथा सरोकारवालाहरुको सहभागिता, मौलिक कला र प्रविधिको प्रयोग लगायतका पक्षमा ध्यान दिइनु पर्ने उनको भनाइ थियो ।

रानीपोखरीको पुननिर्माणमा परम्परागत निर्माण सामग्रीका साथमा नेपाली मौलिक कला र वास्तुकलाको प्रयोग गरिएको छ । पुनः निर्माण पछि यसको वरिपरि पर्खालमा आकर्षक बत्ती सहित खिपेर सजावट गरिएको छ । तत्कालीन राजा प्रताप मल्लले विक्रम सम्वत १७२१ मा निर्माण गरेको बालगोपालेश्वर मन्दिरले पनि पुनः निर्माण पश्चात पुरानै स्वरुप प्राप्त गरेको छ । यो मन्दिर तत्कालीन समयमा मल्लकालीन शिखर शैली (ग्रन्थकुट शैली)मा बनेको थियो ।

विक्रम सम्वत १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि तत्कालीन राजा जुद्धशमशेरले पुन निमार्णका क्रममा गुम्वज शैली अपनाएका थिए । हाल मन्दिर आफ्नो पुरानै शैली ग्रन्थकुटमा फर्किएको छ । काठमाडौं महानगरपालिका कार्यालयले विज्ञ समूह सहितको सुझावका आधारमा मन्दिरलाई मौलिक शैलीमा निर्माणका लागि निर्णय लिएको थियो ।

भूकम्पका कारण क्षतिग्रस्त पोखरी तथा पोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनः निर्माणका लागि विक्रम सम्वत २०७२ साल माघ २ गते भूकम्पदिवसको अवसर पारी राष्ट्रपति भण्डारीले रानीपोखरीको शिलान्यास गरेकी थिइन् ।

त्यस पछि गत २०७३ वैशाख १३ गतेबाट काठमाडौं महानगरपालिकाको नेतृत्वमा रानीपोखरीको पुनः निर्माण शुरु भएको थियो । यस बिचमा पोखरीमा रहेका माछा जीवितै बालाजुको पोखरीमा स्थानान्तरण, पोखरी भित्रको पानी र माटो निकालेर सफागर्ने काम, पोखरी वरिपरि पर्खाल लगाउने साथै बालगोपालेश्वर मन्दिरको संरचना भत्काई त्यहाँ पिल्लर उठाउने काम भएको थियो । तर, निर्माण प्रक्रिया साथै मन्दिर पुननिर्माणमा प्रयोग भएका सामग्रीप्रति पुरातत्व विभाग, स्थानीयवासी र सामाजिक अभियन्ताहरुले विरोध जनाए पश्चात विवादका बिच पुननिर्माण कार्य अघि बढ्न सकेन् ।

यही बिचमा पछिल्लो पटक पुननिर्माण प्राधिकरण, काठमाडौं महानगरपालिकाले गठन गरेको रानिपोखरी पुननिर्माण उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत् रानिपोखरीको पुनः निर्माण गरिएको हो । जसअन्तर्गत २०७५ फागुन २० गतेबाट पोखरी खनेर काम शुरु गरिएको थियो ।
रानीपोखरी पुनः निर्माणका लागि पोखरीको जिम्मा उपभोक्ता समितिलाई दिइएको थियो भने मन्दिर, १०० मिटर लामो पुल र पोखरी वरिपरिको सौन्दर्यीकरणको काम टेण्डरमार्फत भएको हो । जस अन्तर्गत यसको जिम्मा निर्माण कम्पनी सि.एम तुलसी जे.भी कन्सट्रक्सनले पाएको थियो ।

यता उपभोक्ता समितिले १० करोड रुपैयाँ लागतमा पोखरीको पुननिर्माण गरेको हो । भूकम्प पश्चात पोखरीमा पानी चुहिने समस्या निम्तिएको थियो । पोखरीको पुननिर्माणका क्रममा चुहावट नियन्त्रण र पानी पुनः र्भरणलाई विशेष प्राथमिकतामा राखिएको छ । यसका लागि परम्परागत शैलीमा पोखरीको निर्माण गरिएको छ । पाँगो माटो, बालुवा र कालो माटोको तहमाथि इँटा सोलिङ गरेर रानीपोखरी बनाइएको छ । जसले गर्दा पानी चुहिँदैन् ।

पोखरी र मन्दिर पुननिर्माणको कुल लागत २८ करोड रुपैयाँ रहेको छ । पुनः निर्माणपश्चात पोखरीमा गत असोज ३ र ४ गते दुई दिन लगाएर पानी भरिएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको आग्रह तथा खानेपानीे मन्त्रालयको समन्वयमा मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालयले पोखरीमा पानी भरेको हो । पोखरीमा हाल २ करोड ८० लाख लिटर पानी हालिएको छ भने अब ४२ लाख लिटर पानी हाल्न बाँकी छ ।

प्रतिक्रिया